म्याग्दी : मुस्ताङका ६ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ। गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनामार्फत २ किलोमिटर पदमार्ग निर्माण भएको हो।
कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले ८० लाख रुपैयाँ बजेट विनियोजन भएका ६ वटा योजना कार्यान्वयन भएको जानकारी दिए।
“मुस्ताङमा पर्यटकको बसाइ लम्ब्याउन र धार्मिक पर्यटकीयस्थलको सौन्दर्यीकरण तथा मर्मतमा बजेट परिचालन भएको छ”, उनले भने।
घरपझोङ गाउँपालिका–२ मा पर्ने मार्फा गाउँमा ३० लाख रुपैयाँ बजेटबाट हिसरुङ गुम्बा र स्याउ उद्यान जोड्ने ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग निर्माणका साथै सौन्दर्यीकरण गरिएको छ।
मार्फा गाउँको शिरमा रहेको स्याउ उद्यान जाने पदमार्गको डिलमा बत्ती जडान गरेर रातको समयमा झलमल्ल देखिने बनाइएको छ।
बेनी–जोमसोम सडक निर्माणपछि विस्थापित पदमार्गको विकल्पमा थासाङ गाउँपालिकाको पहिरोथाप्ला हुँदै कुञ्जो–लेते जाने भिरमा पदमार्ग निर्माण भएको छ।
घासापारिको कालीगण्डकीतिरको भिरमा पहाड प्वाल पारेर रड राखी पर्खाल उठाएर करिब ५ सय मिटर पदमार्ग बनाइएको हो।
थासाङ गाउँपालिकाको कालोपानीदेखि थुले हुँदै स्याकुभ्रासम्म लोपोन्मुख वन्यजन्तु तथा डाँफे, मुनाल, चिर कालिज अवलोकन गर्ने साइकलमार्ग बनाइएको छ।
१० लाख रुपैयाँ बजेटबाट ढलान, सोलिङ र ग्राभेल गरेर ६ सय मिटर साइकलमार्ग निर्माण भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए।
१० लाख रुपैयाँ बजेटबाट जोमसोम विमानस्थलमा निर्माण भएको भवनमा पर्यटक सूचना केन्द्र सञ्चालनको तयारी भएको छ।
१०/१० लाख रुपैयाँ बजेटबाट लोमान्थाङ गाउँपालिका–३ को थिङ्गरमा माने निर्माण, लोमान्थाङदेखि ढिकी जाने २ सय मिटर पदमार्ग र नाख्पा गुम्बाको मर्मत गरिएको कार्यालय प्रमुख पौडेलले बताए।
आव ०८१/८२ मा ११ वटा पर्यटकीय पूर्वाधार योजनाका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मुस्ताङमा २ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।