काठमाडौँ : जनाधार गुमाउँदै गएपछि नेपाली काँग्रेस र एमाले मिलेको नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले बताएका छन्। यो सरकारले देशमा विकासका काम नगर्ने हो भने आगामी निर्वाचन दुवै पार्टीका लागि निकै कठिन हुने पनि उनले चेतावनी दिए।
उनले निर्वाचनमा मधेश, शहरी क्षेत्रमा नेपाली काँग्रेस र नेकपा एमाले दुवैले आफ्नो बलियो आधार गुमाएको र आगामी दिनमा दुवै दलको राजनीति सहज नहुने स्पष्ट पारेका छन्।
राजनीतिप्रति जनतामा बढ्दो निराशा चिर्न काँग्रेस र एमालेले यस्तो जोखिम उठाउनुपरेको उनले बताए। यो अवधिमा दुवै दलका नेताले आफ्नो कार्यकाललाई जनताले सम्झने गरी योगदान दिन सक्नुपर्ने बताए।
रिजालले भने, ‘निर्वाचनमा जाने क्रममा बलियो आधार हामीले गुमाएका छौँ। शहरी क्षेत्रमा हाम्रो आधार निकै गुम्यो। हाम्रो ७ प्रतिशत र एमालेको ६ प्रतिशत गुम्यो। एमालेको ६ प्रतिशतमध्ये ३ प्रतिशत माधवजीको पार्टीले लगेको हो। त्यस अर्थमा उहाँहरूले ३ प्रतिशत गुमाउनु भयो। मधेश र अन्य ठाउँमा हामीले राम्रो मत पाउँथ्यौँ। त्यो आधार हामीले गुमायौं। यसरी आधार गुमाउने हो भने हाम्रा लागि आगामी दिनको राजनीति सहज छैन।’
एमाले र काँग्रेसका शीर्ष नेताहरू देशका लागि आफ्नो छाप छोड्न एक ठाउँमा उभिएको बताए।
उनले आगामी दिनमा पनि काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जोखिममा रहेको बताए। उनले जोखिमका बाबजुद पनि संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट समृद्ध बनाउन आवश्यक रहेको बताए। उनले अहिले राजनीतिक पुँजी निर्माण गर्न आवश्यक रहेको बताए।
आश्वस्त नहुँदासम्म जनताले अहिले पनि सत्ता परिवर्तनको खेल मात्रै हो भनेर आशंका गरेको उनले बताए। उनले झुक्याउने र सत्ताकै लागि झगडा गर्ने कुराबाट जनता आजित भएको भन्दै अब देश विकासका लागि काम गर्नुपर्ने बताए।
नयाँ राजनीतिक दलहरूको परिवर्तनको एजेण्डा कमजोर
उनले नयाँ राजनीतिक दलहरूको परिवर्तनको एजेण्डा कमजोर भएको बताए। उनले नेकपा (माओवादी केन्द्र) र मधेशवादी दलप्रति लक्षित गर्दै २०६४ सालमा उदाएका राजनीतिक दलहरूको परिवर्तनकारी एजेण्डा ओझेलमा परेको बताए।
परिवर्तनको नाममा उदाएका कुनै पनि शक्ति आफ्नो अन्तिम बिन्दुसम्म पुग्न नसकेको बताए। उनले मधेशी दलहरू पनि सत्तामोहमा फसेर आफ्ना एजेण्डा बिर्सिएको बताए।
समानुपातिक निर्वाचन प्रणाली बदल्नुपर्छ
उनले अहिलेको निर्वाचन प्रणालीलाई परिमार्जन र संशोधन गर्न आवश्यक रहेको बताए। उनले समुदाय, पहिचान, महिला, आदिवासी, जनजातिमध्ये पनि अल्पसंख्यकको, मधेशीमध्ये अल्पसंख्यकको प्रतिनिधित्वको बाटो यथावत् राखी एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्ने बताए।
रिजालले भने, ‘निर्वाचन प्रणालीमा केही परिवर्तन गर्नु छ। जसको प्रतिनिधित्व हुन सकेको छैन त्यो प्रतिनिधित्वको बाटोलाई यथावत राखेर एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ।’
नेता रिजालले जनताले खोजेको परिवर्तन, विकास र समृद्धिलाई मद्देनजर गरी वर्तमान सरकारले काम कारबाही अघि बढाउने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।