धनकुटा : धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र दुध बोक्ने ट्याङकर ठोकिँदा १२ जना घाइते भएका छन्। सुनसरीको धरानबाट संखुवासभाको आँखीभुइँ जाँदै गरेको बा२ख ७२४७ नम्बरको बस र धनकुटाको हिलेबाट दूध बोकेर धरानतर्फ जाँदै गरेको को१च १५३१ नम्बरको दूध बोक्ने ट्यांकर ठोकिँदा बसमा सवार १२ जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका सबैको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परी संखुवासभाको धर्मदेवी नगरपालिकाकी १४ वर्षीया संगीता पौडेल, धर्मदेवी ८ की ६६ वर्षीया मनमाया बसेल, धर्मदेवि ८ का २० वर्षिय मनोज कार्की, धर्मदेवी ९ का ६० वर्षिय काजीबहादुर कार्की, धर्मदेवी ६ की ३१ वर्षीया मेनुका पौडेल र मोरङको बेलबारी २ का ७० वर्षीय मानबहादुर विक घाइते भएको प्रहरीले जनाएको छ।
यस्तै, धर्मदेवी ६का ५४ वर्षीय विष्णु श्रेष्ठ, धमदेवी ९ की ३८ वर्षीया देवी परियार, धर्मदेवी ६ का ३२ वर्षीया निराजन बस्नेत, सुनसरीको इटहरीका ६५ वर्षीया दुर्गा कार्की, धनकुटाको छथर जोरपाटी गाउँपालिका १ की ९ वर्षिया आरोही विक र तेह्रथुमको लालीगुराँस नगरपालिका ८ की ३७ वर्षीया कल्पना विक रहेको धनकुटा प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिए।
घाइते सबैको टाउकोमा चोट लागेको छ। उनीहरुको धनकुटा अस्पतालमा उपचार भइरहे पनि थप समस्या देखिए धरान पठाइने प्रहरीको भनाइ छ। बस चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको निष्कर्ष छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन भने दुवै सवारीका चालक भने सकुशल रहेका प्रहरीका भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।