बाहिर पठाइएका पोलियो खोप काठमाडौँ ल्याइँदै
बाहिर पठाइएका पोलियो खोप काठमाडौँ ल्याइँदै
काठमाडौँ : नेपालमा पोलियो भाइरस उन्मूलन गरेको १० वर्षपछि पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप थ्री) भेटिएको छ। नेपालले सन् २०१४ मै पोलियोमुक्त राष्ट्रको रूपमा प्रमाणपत्र पाइसकेको छ भने सरकारले सन् २०२६ सम्म नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल पोलियो रोगमुक्त भए पनि सन् २०१७ देखि काठमाडौंका विभिन्न पाँच ठाउँबाट महिनाको दुईपटक र उपत्यका बाहिर विराटनगर, जनकपुर र पोखराबाट मासिक एक-एक ठाउँबाट एकपटक नमुना संकलन गरेर परीक्षण गर्दैं आएको छ।
तदनुरूप पछिल्लो पटक काठमाडौंको वातावरणमा पोलियो भाइरसको टाइप थ्री भाइरस संक्रमण पुष्टि भएको हो। काठमाडौंको टाइप थ्री भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा अझै पनि पोलियोको जोखिम रहेको पुष्टि भएको छ। यो भाइरस पुष्टि भएसँगै पोलियो उन्मूलन गर्न राखिएको लक्ष्यलाई चुनौती दिएको छ।
नेपालमा नेपालमा पछिल्लोपटक सन् २०१० मा रौतहटमा पोलियोका विरामी भेटिएका थिए। सन् २०१० पछि नेपालमा हालसम्म पोलियोका विरामी भेटिएका छैनन्। तर हरेक वर्ष नेपालमा १५० जना पोलियोका शंकास्पद विरामी भेटिने भए पनि उनीहरूको परीक्षण गर्दा हालसम्म पोलियो संक्रमण पुष्टि भएको छैन। तर योपटक काठमाडौंको वातावरणमा पोलियोको टाइप थ्री भाइरस पुष्टि भएसँगै जोखिम बढेको बताउँछन् स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतम ‘हुनत हाम्रोमा सन् २०१० पछि मानिसमा पोलियो देखिएको छैन तैपनि हामीले हरेक वर्ष हाम्रो वातावरणमा यो भाइरस छ छैन भनेर परीक्षण गर्दै आएका थियौँ। यही परीक्षणले काठमाडौँमा यो भाइरस देखियो। यसले हामीलाई अलि चिन्तित गराएको छ। योसँगै हामीले ललितपुर, भक्तपुर र काठमाडौँ जिल्लामा विशेष खोप अभियान सञ्चालन गर्दै छौँ ’‚ डा. गौतमले भने।
काठमाडौँमा किन गर्न पर्यो विशेष खोप अभियान?
हाल काठमाडौंमा टुकुचा र वाग्मती मिसिएको खोलाको पानी परीक्षण गर्दा उक्त भाइरस देखिएको हो। गत जेठ १३ गते बाग्मती र टुकुचा किनारसहित अन्य ठाउँ गरी काठमाडौँबाट संकलन गरिएको ७ सयवटा नमुनामा परीक्षणका लागि बैंककस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाइएको थियो। यो परीक्षणको रिपोर्टमा टुकुचा र बाग्मती मिसिएको खोलाको पानीको नमूनामा पोलियोको म्युटेन्ट भाइरस भेटिएको अनुमान गरिएको राष्ट्रिय प्रयोगशालाकी डा. लिली श्रेष्ठले बताइन्।
सो भाइरस पोलियोकै खोप पेटमा गई म्युटेन्ट (परिवर्तित) भएर हुन सक्ने प्रकारको हो। भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि तत्काल पोलियो खोप अभियान गर्नुपरेको डा. श्रेष्ठले बताइन्।
यस्तै परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेकलाल कर्णका अनुसार पोलियो संक्रमण भए नभएको भन्ने विषय विरामीमा ढिला पुष्टि हुने हुँदा वातावरणमा यो भाइरस पुष्टि हुनेबित्तिकै खोप अभियान सञ्चालन गर्नुपरेको बताउँछन्। ‘पोलियोको संक्रमणको मुख्य असर भनेको हातगोडा लुलो र पक्षघात हुनुका साथै मृत्युसमेत हुने हो। यो समस्या अन्य स्वास्थ्य समस्याका कारण पनि हुन सक्छ। त्यसैले पोलियो संक्रमण पुष्टि सजिलोसँग हुँदैन तर हामीले हाम्रो वातावरणमा यो भाइरस देखिएपछि जोखिम भयो भन्ने बुझ्नुपर्छ। त्यसैले हामीले उपत्यकामा विशेष खोप अभियान गर्न खोजिएको हो, खोप अभियान मात्रै होइन हामीले शंकास्पद विरामीको खोजी र परीक्षण एकैसाथ गर्ने निर्णय गरेका छौँ।’
खोप उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा जन्मदेखि ५ वर्षमुनिका सम्पूर्ण बालबालिकालाई लक्षित पोलियो खोप अभियान सञ्चालन गरिनेछ। जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई उपत्यकाका घरघरमै पुगेर खोप दिइने डा. कर्णले बताए । सरकारले अहिले नियमित खोपमार्फत मुखबाट पोलियो थोपा खुवाउँदै आएको छ। यसअघि नियमित खोप लिएकाले पनि यो अभियानका वेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ।
नियमित खोपका लागि काठमाडौँ बाहिर पठाइएका खोप धमाधम ल्याइँदै
उपत्यकामा विशेष रूपमा यो खोप अभियान सञ्चालन गरिने भएपछि यतिखेर नियमित खोपका लागि काठमाडौँ बाहिर पठाइएका पोलियो खोप धमाधम काठमाडौं ल्याउन थालिएको छ। ‘हामीले उपत्यकामा ३ डोज लाख खोप आवश्यक पर्ने अनुमान गरेका छौँ। यो खोप अहिले हामीसँग यहाँ भएकाले पुग्दैन। त्यसैले अहिले उपत्यका बाहिर भएका पोलियो खोपलाई काठमाडौँ ल्याउने निर्णय गरेका छौँ। थप खोप मगाएर पछि त्यहाँ पठाउनेछौँ’‚ खोप शाखा प्रमुख डा. गौतमले भने।
यसअघि दक्षिण एशियाली मुलुकहरू पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियोका विरामी देखिएका कारण अझै पनि नेपालमा जोखिम कायमै रहेको सरोकारवालाहरू बताउँदै आएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।