‘फुटपाथ निर्माणमा सरकारले सहयोग गर्नुपर्छ’
‘फुटपाथ निर्माणमा सरकारले सहयोग गर्नुपर्छ’
काठमाडौँ : काठमाडौं महानगरपालिका वडा-२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले आफ्नो क्षेत्राधिकार नपर्ने ठाउँमा विरोध प्रदर्शन गरेर न्युरोडको फुटपाथ निर्माणमा अवरोध पुर्याएका छन्। उनले न्युरोड फुटपाथ विस्तार निर्णय फिर्ता लिनुपर्ने माग राख्दै धर्नास्थलबाटै आजदेखि वडाका सबै सेवा दिन थालेका छन्।
धर्मपथ सडकखण्डको नेपाल बैंक जाने बाटोमा धर्नाका लागि बनाएको पालभित्रैबाट सेवा सञ्चालन गरिने भन्दै वडाध्यक्ष महर्जनले कुर्सीटेबल राखेर आफ्नो कार्य क्षेत्र बनाएका छन्। महानगरपालिका २४ का वडासदस्य रत्नाकर बज्राचार्यका अनुसार अहिले फुटपाथ निर्माणको काम वडा २२ क्षेत्रमा भएको छैन।
वडा २४ को क्षेत्रभित्र मात्रै निर्माणको काम सुरु भएको छ तर विरोध भने वडा २२ का अध्यक्ष महर्जनले गर्दै आएका छन्। उनकै नेतृत्वमा गत शुक्रबार न्युरोडमा स्थानीयहरूले विरोध प्रदर्शन गरे। महानगरपालिका प्रमुख बालेन साहकै पुत्लासमेत जलाए। जसकारण विकासविरोधी भन्दै सामाजिक सञ्जालमा वडाध्यक्ष चिनीकाजीको यतिखेर चर्को आलोचना भइरहेको छ।
महानगरपालिकाले फुटपाथ सडकलाई पैदलयात्रीमैत्री बनाउन बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो तर जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौंले भौतिक रूपमा हस्तक्षेप गर्याे।
यसपछि डिभिजन सडक कार्यालयले काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठाएर २ दिनभित्र यथास्थितिमा पुनःस्थापना गर्न र नगरेमा कानुनी कारबाही गर्ने चेतावनी दियो। डिभिजन कार्यालयले पठाएको उक्त पत्र अनुचित भन्दै जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गर्याे।उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दियो। त्यसपछि महानगरपालिकाले उक्त निर्माण कार्य पुनः सञ्चालन गरेको थियो तर स्थानीयले विरोध गरे। यसअघि पनि निर्माण भइरहेका वेला काममा अवरोध गरिएको थियो।
वडाध्यक्ष महर्जन बैठकदेखि सडकसम्मै उत्रिए विरोधमा
गत जेठ १८ गते महानगरपालिका ३२ औँ नगर कार्यपालिका बैठक बस्यो। न्युरोडकै विषयमा झण्डै २५ मिनेट महानगर प्रमुख साह र वडाध्यक्षहरूबीच चर्काचर्की नै पर्याे। महानगरपालिका वडा-२२ का अध्यक्ष चिनीकाजी महर्जनले महानगरपालिकाले आफूखुसी न्युरोडलाई खण्डीकरण गरेको र यो काम तत्काल रोक्न भन्दै प्रमुख साहसँग आक्रोश पोखे।
तर आफ्नो क्षेत्रमा फुटपाथ आवश्यक परेको भन्दै बनाउनुपर्ने माग वडा २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले गरे। अनुसार न्युरोडको फुटपाथ धेरै साँघुरो भएको भन्दै फुटपाथ बढाउन वडामै निवेदन परेको छ। उनले त्यस वेला भनेका थिए, ‘फुटपाथ साँघुरो भएको भनी महिला दिदीबहिनीहरूको आवेदन आयो, अझै आउने क्रम अझै जारी छ। त्यसैले दुई/अढाइ फिट सडक काटेर फुटपाथ बनाउने भनिएको हो।’
यही बनाउने माग आएपछि छलफल नै गरेर फुटपाथ बनाउन टेण्डर गरेको र काम शुरु गरिएको महानगरपालिका प्रमुख साहले बैठकमा जानकारी दिएका थिए। तैपनि २२ का वडाध्यक्ष महर्जन नबनाउन माग गरे। त्यसपछि महानगरपालिका प्रमुख साहले जहाँ जहाँ आवश्यक छ त्यहाँ फुटपाथ निर्माण हुने जानकारी गराएका थिए। तैपनि वडाध्यक्ष महर्जन विरोधमा उत्रिरहेका छन्।
‘न्युरोडकाे फुटपाथ निर्माणमा सरकारले सहयोग गर्नुपर्छ’
न्युरोडको फुटपाथ निर्माण विवाद संसद्मा समेत प्रवेश गरेको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले न्युरोडको फुटपाथ निर्माणको काम प्रशंसनीय रहेको भन्दै सरकारले यसमा सहयोग गर्नुपर्ने माग गरे।
उनले भने, ‘महानगरपालिका प्रमुख बालेन साहले न्युरोडमा फुटपाथ निर्माण गरेको कार्य प्रशंसनीय छ तर त्यहाँ काम गर्न दिइएन, अदालतको आदेश कार्यान्वयन भएन, किन गृह प्रशासन यसमा हात बाँधेर बस्यो?, यो कार्यान्वयनमा ल्याउने जिम्मा होइन र?’
के छ सडक मापदण्डमा ?
नेपाल सडक मापदण्ड २०७० (संशोधित) अनुसार एक मिटरभन्दा कम चौडाइको फुटपाथ बनाउन मिल्दैन। १५ मिनेटभित्र हिँड्ने फुटपाथको चौडाइमा पैदल यात्रुको संख्या ५०० सम्मलाई १.५ मिटर, ५००–१५०० संख्याको २ मिटर, १५००–२५०० संख्याको २.५ मिटर र २५००–३५०० जना संख्या हिँड्ने ठाउँमा ३ मिटर फुटपाथ कायम राख्नुपर्ने व्यवस्था छ।
तर मापदण्ड बनाउने सडक विभाग आफैँले काठमाडौं उपत्यकामा मापदण्डअनुसार फुटपाथ बनाएको छैन। न्युरोड क्षेत्र, डिल्लीबजार, चावहिल‚ जोरपाटीलगायत ठाउँमा सडक मापदण्डअनुसारको फुटपाथ छैन।
धोबीखोला करिडोरमा फुटपाथको उस्तै समस्या छ। बिजुलीको तार भूमिगत गर्ने नाममा इलेक्ट्रिक क्याबिनेट बक्स राखिँदा झनै सर्वसाधारण ओहरदोहर गर्ने ठाउँ छैन।
महानगरपालिकाका अनुसार स्मार्ट क्यामराबाट पैदलयात्रीको आवतजावत संख्या तथा घनत्व मापन गरिएको थियो। यसरी गरिएको गणनामा जुद्ध शालिकबाट नयाँ सडक गेटतर्फ बेलुका ६ बजेदेखि ७ बजेसम्म (१ घण्टा अवधिमा) ८ हजार ७४५ जना यात्रुले पैदल यात्रा गरेको देखियो। इन्द्रचोकमा बेलुका ७ः४५ देखि ८ः४५ सम्म गणना गर्दा २ हजार ९३३ जनाले, धर्मपथमा बेलुका ५ः१५ देखि ६ः१५ सम्म गणना गर्दा ४ हजार ४३७ जनाले यात्रा गरेको देखियो।
नयाँ सडक ताम्राकार हाउसतर्फबाट जुद्ध शालिकतर्फ राखिएको क्यामराबाट बेलुका ५ बजेदेखि ६ बजेसम्म १ घण्टाको अवधिमा ६ हजार ७४ जना यात्रीले र यही ठाउँबाट न्यूरोड गेटतर्फ फर्काएर राखिएको क्यामराबाट बेलुका ५ः४५ देखि ६ः४५ बजेसम्म ४ हजार १२७ जना पैदल यात्रीले यात्रा गरेको देखियो।
महानगर भन्छ : काम रोकिँदैन
गत शुक्रबार फुटपाथ निर्माणमा स्थानीयले अवरोध गरे पनि सरकारले यसमा सुरक्षासहित आवश्यक सहयोग नगरेको भन्दै महानगरपालिकाका प्रमुख साहका स्वकीय सचिव भूपदेव साहले गुनासोसहित सरकारको आलोचना गरेका छन्।
उनले नवगठित केपी ओली नेतृत्वको सरकार असफल बनिसकेको समेत टिप्पणी गरे। उनले सञ्चारकर्मीसँग भनेका छन्, ‘अदालतले दिएको आदेश कार्यान्वयन गर्ने सिलसिलामा अवरोध भयो, गृह मन्त्रालयबाट शान्ति सुरक्षा भएन, अहिले हाम्रो जिम्मेवारीमा छैन भन्छन्। भनेपछि यो सरकार फेल भइसक्यो। हामीले कानुनअनुसार काम गर्याैँ तर प्रधानमन्त्री, गृहमन्त्रीले केही सहयोग गरेनन्।’
वडाध्यक्ष र स्थानीयले अवरोध गरे पनि न्युरोडको फुटपाथ निर्माणको काम नरोकिने र अहिले काम भइरहेको महानगरपालिका सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यले जानकारी दिए।
उनले भने, ‘अहिले फुटपाथ निर्माणको काम वडा २४ मा भइरहेको छ, जसले विरोध गरे पनि काम रोकिँदैन।’ वडा २४ मा काम भइरहँदा किन वडा २२ का वडाध्यक्ष महर्जनले विरोध गरिरहेका छन् भन्ने प्रश्नमा यो विषयमा आफूलाई थाहा नभएको र उनैलाई सोध्न आग्रह गरे। उनले वडा २२ क्षेत्रमा भने छलफल गरेर मात्रै काम थाल्ने बताए।
उनका अनुसार १३ मिटरको सडक भएको ठाउँमा ८ मिटर मूल सडक राख्ने, दायाँ २.५ र बायाँ २.५ मिटर पैदल मार्ग विस्तार गर्ने र ११ मिटर सडक भएको ठाउँमा ८ मिटर मूल सडक राख्ने, दायाँ १.५ मिटर र बायाँ १.५ मिटर पैदल मार्ग विस्तार गर्ने योजना छ।
‘यसरी पैदल मार्ग विस्तार हुँदा विगतमा मोटरसाइकल पार्किङ भए जत्तिको ठाउँ पनि उपयोग हुँदैन’, उनले भने, ‘धर्मपथ सडकखण्ड १३ मिटरको छ, नयाँ सडकका बाँकी खण्ड ११ मिटरका छन्।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।