डिजिटल नक्सांकन प्रणालीबाट माटोसम्बन्धी जानकारी

|

काठमाडौँ : किसानले बाली लगाउनुअघि माटोको अवस्थाबारे जान्न जरुरी छ। कुन माटोमा कस्तो बाली लगाउनु उपयुक्त हुन्छ भन्ने यकिन गरी खेतीपानी गर्दा उत्पादनमा समेत सकारात्मक परिणाम देखिने विज्ञहरू बताउँछन्। 

गुणस्तरीय बीउबिजन, कृषिऔजारको अभावका साथै किसानले खेती गर्ने माटोको बनावट तथा गुणस्तर, माटोको प्रकार, माटोमा अम्लीयपना, रसायन पदार्थको मात्रा, उर्वरा शक्तिलगायतका बारेमा जानकार नभई बाली लगाउँदा पनि अपेक्षित उत्पादन हासिल गर्न सकेका छैनन्। यसै कुरालाई मद्देनजर गर्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), राष्ट्रिय माटोविज्ञान अनुसन्धान केन्द्रले नेपालको माटोसम्बन्धी जानकारी दिन वेबसाइट सञ्चालन गर्दै आएको छ।

घरमा बसेर अनलाइनबाटै देशभरको भूगोलमा रहेका माटोको विवरण थाहा पाउने गरी २०७७ फागुनमा लन्च गरिएको वेबसाइटमा गएर डिजिटल नक्साबाट नेपालको कुन ठाउँको माटोको अवस्था कस्तो छ, त्यस्तो माटोमा कस्तो खालको बाली लगाउने भनी जानकारी पाउन सकिन्छ। यसबाट किसानलाई आफ्नो माटोको गुणस्तरका आधारमा आवश्यक मल, उपयुक्त बाली, माटोको गुणस्तर सुधार्न आवश्यक तरिका अपनाउन मद्दत मिल्ने जनाइएको छ।

स्याटेलाइट इमेजका आधारमा माटोको गुण निर्धारणमा भूमिका खेल्ने विभिन्न वातावरणीय कारक तत्त्वमध्ये १६८ वटा तत्त्वलाई मद्देनजर गरी डिजिटल नक्सा तयार गरेको केन्द्रले जनाएको छ। माटोको डिजिटल नक्सांकन प्रणालीका सन्दर्भमा राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख श्रीप्रसाद विष्टसँगको कुराकानी :

माटोको डिजिटल नक्सांकन प्रणालीमार्फत के थाहा पाउन सकिन्छ ?

माटोको डिजिटल नक्साले भौगोलिक स्थान विशेषका माटोको प्रकार थाहा पाउन सकिन्छ। साथै माटोमा रहेको अम्लीयपना, क्षारीयपना, प्रांगारिक पदार्थको मात्रा, नाइट्रोजन, फस्फोरस तथा पोटासको मात्रा, सूक्ष्म पोषकतत्त्व, जिंक तथा बोरोन, माटोको बनावट, माटोको प्रकार (बलौटे वा चिम्ट्याइलो) लगायतका कुरा थाहा पाइन्छ। 

यसको प्रभाव कस्तो देखिएको छ ? 

एकदमै राम्रो प्रभाव देखिएको छ। सन् २०२१ फेब्रुअरीमा पहिलोपटक लन्च गर्दा ५६ जिल्लाका माटोको आधारमा २३ हजार २७३ वटा नमुनाको आधारमा गरेका थियौँ। एक वर्षपछि ७७ वटै जिल्लाको ७ हजार ८ सय नमुना थपेर माटो ल्याएर परीक्षण गर्‍यौँ। अहिले ३० हजार ५४८ वटा माटोको नमुनाको आधारमा अपडेट गरेका छौं। 

नेपाल सरकारको अपनत्वमा यो सञ्चालनमा छ। प्रादेशिक माटो तथा मल परीक्षण ल्याबहरूले आ-आफ्नो प्रदेशको माटोका नमुना लिएर त्यसको रिपोर्ट किसान र राष्ट्रिय माटो विज्ञान अनुसन्धान विज्ञान केन्द्रलाई उपलब्ध गराउँछन्। यसपछि किसानलाई माटो स्वच्छता प्रमाणपत्र (सोइल हेल्थ कार्ड) उपलब्ध गराइन्छ। 

त्यसरी दुई-दुई वर्षमा डेटा अपडेट गरिन्छ। अघिल्लो वर्ष ३ हजार ४७५ नमुना आएका थिए भने आर्थिक वर्ष २०८१।०८२ को करिब ६ हजार नमुना आउने अनुमान गरेका छौं।  यसलाई हेरेर कुन भेगमा अम्लीयपन बढ्यो वा अन्य तत्त्वहरूको अवस्था कस्तो छ भन्नेबारे यकिन गर्न सक्छौं। 

किसानले यो प्रणाली कत्तिको प्रयोग गरेका छन् ?
मोबाइल, ल्यापटप, कम्प्यूटर चलाउनेहरूले प्रयोग गर्ने हुन्। अनलाइन भएकाले पढेलेखेकाले बढी हेर्ने भए। हामीले युजरहरूको उपस्थितिलाई उत्साहजनक मानेका छौं। वेबसाइटमा किसानलाई आइपरेका समस्याहरू, बालीनालीमा देखा पर्ने रोग, त्यसको निदान, खेती प्रविधिको बारेमा पनि राखिएको छ। ९९ प्रतिशत मान्छेले माटो नै हेर्ने गरेका छन्। 

सन् २०२३ जुलाई ११ देखि २०२४ जुलाई १० सम्म ११ हजार ५ पटक प्रत्यक्षरूपमा Soil.narc.gov.np मा गएर हेरिएको छ। वेबसाइट नजानेर नेपालको माटो, नार्क भनेर खोज्नेहरू ८२ हजार १०० देखिन्छन्। यसरी हेर्दा यो वर्षको लगभग ९३ हजार प्रयोगकर्ता हुनुलाई राम्रै मान्नुपर्छ। पछिल्ला तीन महिनामा २‚६०० पटक प्रत्यक्ष क्लिक भएको छ भने २० पटक माटोको अवस्था हेरिएको छ। 

वेबसाइट हेरेर प्रयोगमा कत्ति ल्याए किसानले भन्ने हेर्न बाँकी छ तर चासोलाई उत्साहजनक मानेका छौं। विगत १६ महिनामा १८ हजार ७०० ले प्रत्यक्ष र १ लाख २९ हजार युजरले सर्च गरेका छन् भने १७८ वटा देशबाट नेपालको माटोका सन्दर्भमा हेरेका छन्। पछिल्लो ३२ महिनाको ट्रेन्ड हेर्दा सुरुका १६ महिनामा निकै कम थिए। प्रदेशस्तरमा तालिम गरियो, यसबारेमा जानकारी विस्तार गरियो र प्रयोगकर्ता पनि बढे।

नीति निर्माण, अनुसन्धानको क्षेत्रमा डिजिटल नक्सांकन प्रणालीले कस्तो प्रभाव पार्छ ?

यो डिजिटल रिभोलुसनको समय हो। नेपालका निरक्षर जनसंख्याको ९० प्रतिशत किसान छन्, जसको डिजिटल साक्षरतामा पहुँच छैन। डिजिटल साक्षरता बढाउन जरुरी छ।

यसलाई मद्देनजर गर्दै हामीले पालिकामा रहेका कृषिका व्यक्तिहरूलाई तालिम दिएर किसानलाई जानकारी गराउने प्रयत्न गरिरहेका छौं। उनीहरूलाई पालिकाको वाडामा माटो हेर्ने तरिका, माटोको अवस्था, नक्सा हेरेर त्यसको आधारमा, अम्लीय भए कृषि चुन दिने, प्रांगारिक पदार्थ कम भएका ठाउँमा कम्पोष्ट बनाउन कार्यक्रम राख्ने, अनुदान, मल, बीउ वितरणका कार्यक्रम राखेर योजना बनाउन भनेका छौं। यसले विस्तारै काम गर्छ भन्ने ठानेका छौं। 

घरका सबैजसोले मोबाइल चलाउन जान्छन् तर सबैले मोबाइल, ल्यापटप, कम्प्यूटर चलाउन वा वेबसाइट हेर्न नजान्न सक्छन्। एउटा घरमा बाबुले नजाने पनि तिनका छोराछोरी, बुहारी, नातानातिनाले वेबसाइट हेर्न सक्छन्। उनीहरूले घरमूली वा घरका अरू सदस्यलाई सिकाउन सक्छन्। त्यसैले डिजिटल नक्सांकन प्रणाली प्रयोग गर्न परिवारका जानेका व्यक्तिमार्फत सिकाउन सकिन्छ। अहिले देखेका युजरहरू किसानमात्र नभई विद्यार्थी पनि हुनसक्छन्।

माटोको अध्ययनबाट उत्पादन र उत्पादकत्वमा प्रभाव पर्छ ?

किसानले बाली लगाउनुअघि थाहा पाउनुपर्ने कुरामध्ये माटोको अवस्था पनि एक हो। गुणस्तरीय बीउबिजन, सिँचाइ, मल, प्रविधि पनि छन् तर माटोको बनावट, प्रकार, गुणस्तर हेरेर बाली लगाउँदा त्यसैअनुसारको फल लाग्ने हो। कतै गुणस्तर खस्केको छ भने त्यहाँ आवश्यक पदार्थ हाल्नुपर्छ।

चिम्ट्याइलो माटोमो कुन बाली लगाउने, बलौटे माटोमा कुन बाली लगाउने, आफ्नो माटोमा आवश्यक तत्त्व पुगेको छ कि छैन, छैन भने त्यसअनुसार संरक्षण गर्ने जस्ता कुरा किसानले जान्न जरुरी छ। यसकारण उत्पादन माटोको अवस्थामा निर्भर हुन्छ।  

डिजिटल म्याप कसरी हेर्ने ?

नार्कको Soil.narc.gov.np मा गएर माटोको डिजिटल नक्सांकन प्रणाली हेर्न सकिन्छ। नेपालले सार्क मुलुकमै पहिलोपटक डिजिटल नक्सांकन प्रणाली भित्र्याएको थियो। त्यसका लागि वेबसाइटमा गएपछि युजर इन्टरफेसमा देखिने तीनवट बक्सहरू (Crop Map, Soil Map/Api) मध्ये दोस्रो बक्स Soil Map काे Click here to view मा गई क्लिक गर्नुपर्छ। त्यसपछि बायाँपट्टी देखिने नेभिगेसन प्यानलमा गएर निर्देशनअनुसार चौथो Show/Hide Layers मा क्लिक गरेपछि नयाँ पेज खुल्छ। पेजको माथिल्लो भागमा All Province मा गएर आफूले हेर्न चाहेको प्रदेश, जिल्ला, पालिकाको माटोको अवस्था हेर्न मिल्छ।

बायाँतिरको प्यानलमा रहेको Soil Properties को तल सोइल पिच, अर्गानिक म्याटर, टोटल नाइट्रोजन, पोटासियम, फस्फोरस, बोरोन, जिङ्क, स्लिट, बालुवा लगायतका विवरण हेर्न सकिन्छ। आफ्नो क्षेत्रको माटोमा कुन तत्त्वको अवस्था कस्तो छ भन्ने कुरा ‘कलर इन्डिकेटर’बाट देख्न सकिन्छ। यहाँबाट किसानले गह्रा गह्राको माटोको अवस्था हेर्न सक्छन्।

राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटोबाहेक क्रप र एपीआई दुई फिचर पनि राखिएको जनाएको छ। क्रपको बक्सभित्र छिरेर कृषकहरूले आफ्नो क्षेत्रमा उपयुक्त हुने किसिमका अन्नबाली हेर्न सक्छन्। केन्द्रले माटोको गुणलाई मूल्याङ्कन गरेर सोहीअनुरूप सुहाउने अन्नबाली क्षेत्रअनुसार छुट्याएर राखिदिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.