तीन महिनाभित्र नतिजा प्रकाशन
तीन महिनाभित्र नतिजा प्रकाशन
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले वार्षिक परीक्षामा अनुत्तीर्ण भए नतिजा प्रकाशन भएको दुई साताभित्रै मौका परीक्षा दिन पाइने व्यवस्था गरेको छ।
प्राज्ञिक परिषद्ले स्नातक तहअन्तर्गत अन्तिम वर्षको परीक्षामा विद्यार्थीले मौका परीक्षा दिन पाउने निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले जानकारी दिए।
अहिलेसम्म चारवर्षे स्नातक तहको अन्तिम वर्षको परीक्षामा कुनै एक विषयमामात्र अनुत्तीर्ण भए पनि उक्त विषयको परीक्षा दिन अर्को वर्षकै परीक्षा अर्थात् एक वर्ष नै कुर्नुपर्ने विद्यार्थीहरूको बाध्यता छ। जसकारण माथिल्लो तहमा अध्ययन गर्नबाट उनीहरू वन्चित हुनुपरिरहेको छ।
तर अब त्यसरी वर्ष दिन नै परीक्षाको लागि कुर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। ‘त्रिविले मौका परीक्षाको व्यवस्था गरेको छ, विद्यार्थीहरूको शैक्षिक वर्ष खेर नजाओस् भन्ने उद्देश्यले यो निर्णय लिएका हौँ, अब यसले हजारौँ विद्यार्थीहरूलाई धेरै सहज हुनेछ,’ त्रिविका रजिष्ट्रार रिजालले भने।
उनका अनुसार प्राज्ञिक परिषद्ले यो निर्णय गरेसँगै सम्बन्धित निकायमा पत्राचार गरेर कार्यान्वयनका लागि निर्देशन दिइनेछ। त्यसपछि कार्यान्वयनमा आउनेछ। सबै प्रकृया पुगेमा यही वर्ष र नपुगेमा आगामी वर्षदेखि यो निर्णय कार्यान्वयनमा आउनेछ।
एक वा दुई विषयमा अनुत्तीर्ण भएका परीक्षार्थीलाई मात्रै मौका परीक्षाको अवसर दिइनेछ। यो मौका परीक्षाको अवसर भने परीक्षा नतिजा सार्वजनिक भएको दुई साताभित्रमा दिइनेछ।
मौका परीक्षाको नतिजा स्नातकोत्तर तहको नयाँ सेमेष्टरमा भर्ना हुन पाइने गरि प्रकाशन गरिने उनले जानकारी दिए। अहिलेसम्म सेमेष्टर प्रणालीमामात्रै मौका परीक्षाको व्यवस्था छ।
परीक्षा नतिजा ४ महिनाभित्रै प्रकाशन गर्ने लक्ष्य
लापरबाही र बेथितिका चाङ रहेको त्रिवि पछिल्लो केही समययता सुधारको बाटोमा देखिन थालेको छ। स्नातकोत्तर तहको सेमेष्टर प्रणालीमा पहिला परीक्षा भएको ४ महिनापछि मात्रै नतिजा प्रकाशित हुने गरेको थियो भने यस वर्ष परीक्षा सञ्चालन भएको ३ महिनाभित्रै नतिजा प्रकाशित भयो।
त्रिविले अबदेखि वार्षिक प्रणालीका परीक्षा सकिएको सकेसम्म ३ महिना नभए ४ महिनाभित्र नतिजा प्रकाशन गर्ने प्रतिबद्धता जनाएको छ। त्रिविका रजिष्ट्रार प्राडा रिजालका अनुसार यसका लागि त्रिवि पनिकासँगै त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई सक्रिय गराइएको छ।
‘अबदेखि पहिलाजस्तो हुँदैन, बल्खुका कर्मचारी, सबै क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरूलाई एक्टिभ बनाएको छौँ,’ उनले भने, ‘त्यसैले अब ३ महिनाभित्र नभए ४ महिनाभित्रमा भने नतिजा प्रकाशन हुन्छ, हामी त्यहीअनुसार लागि परेका छौँ, आवश्यक सबै प्रकृया मिलाइसकेका छौँ।’
त्रिविले पठनपाठन शुरू भएको ९० दिनमा पढाइ सकेर ९० दिनमै परीक्षाको नतिजा प्रकाशन गर्ने गरि शैक्षिक क्यालेन्डर नै पारित गरेको छ। अबदेखि त्रिविमा खुला प्रतिस्पर्धाबाट डीनलगायत पदाधिकारीको नियुक्ति गर्नेलगायत नीति तथा योजना पनि त्रिविले लिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षा सुधारका लागि उक्त शैक्षिक क्यालेन्डर प्रभावकारी रूपमै कार्यान्वयनमा ल्याउनुपर्ने र यसका लागि आफू लागिपर्ने बताउँदै आएकी छिन्।
उनले भनेकी छिन्, ‘उच्च शिक्षा सुधार गर्नका लागि पहिला त शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्नुपर्छ, त्यसैले यसको प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछु।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।