|

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले मेडिकल शिक्षाको लागि नेपालमा अब कुनै पनि नयाँ शैक्षिक संस्था नखोलिने बताएका छन्।

सोमवार स्वास्थ्य सेवा विभागमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाठ्यक्रमसम्बन्धी विकास कार्यशाला गोष्ठीमा स्वास्थ्यमन्त्री पौडेलले अब चिकित्सा शिक्षासम्बन्धी अध्ययन गराउने नयाँ प्रतिष्ठान तथा मेडिकल कलेजजस्ता कुनै पनि शैक्षिक संस्था अब आवश्यक नरहेको बताएका हुन्।

स्वास्थ्यमन्त्री पौडेलले भने‚ ‘अब हामीलाई चिकित्सा शिक्षासम्बन्धी अध्ययन गराउने नयाँ संस्था आवश्यकता छैन बरु भएकै संस्थाहरुको गुणस्तरीयता वृद्धि गरी क्षमता विकास गरी दक्ष स्वास्थ्यकर्मी उत्पादनमा लाग्नुपर्ने देखिन्छ।’

मन्त्री पौडेलले देशभर रहेका शैक्षिक प्रतिष्ठानहरुले सधैँ राज्यसँग रकममात्र मागेर संचालन गर्नुभन्दा प्रतिष्ठानहरुले आफ्नो आम्दानीको स्रोत बढाउनुपर्ने बताए।

‘प्रतिष्ठानहरुले सधैँ राज्यसँग रकम मागेर संचालन गर्नु उचित हैन‚ त्यसैले प्रतिष्ठानहरुले आफ्नो आम्दानी बढाउन चिकित्सा शिक्षा अध्ययनका सिट वृद्धि गर्नतिर लागेर आम्दानी बढाउनु पर्‍यो‚ त्यसपछि विदेशी विद्यार्थी ल्याएर पढाउन सक्नुपर्छ‚‘ स्वास्थ्यमन्त्री पौडेलले भने।

स्वास्थ्यमन्त्री पौडेलले भनेजस्तो भएमा हाल देशभर सम्बन्धनको पर्खाइमा रहेका केही मेडिकल कलेजहरुले सम्बन्धन  पाउने छैनन्। भविष्यमा नयाँ चिकित्सा शिक्षासम्बन्धी नयाँ शैक्षिक संस्था खुल्ने छैनन्।

यता चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले नेपालमा चिकित्सा शिक्षा पढाउने प्रतिष्ठान मेडिकल कलेजहरुको विषयमा केही सुधार गर्नु परेको बताए।

‘हामीले धेरै प्रतिष्ठान तथा मेडिकल कलेजहरु खोल्यौँ तर यस्ता संस्थाले सेवा दिने विषयमा ध्यान दिएका छैनौँ‚ त्यसैले यस विषयमा अध्ययन र समीक्षा गर्न आवश्यक छ‚’ चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा झाले भने।

हाल काठमाडौँबाहिरका कर्णालीलगायत क्षेत्रलाई दुर्गम भनेकै कारण चिकित्सकहरु जान नमान्ने अवस्था रहेकाले सधैँ उपत्यका बाहिरका कर्णालीलगायत क्षेत्रहरुलाई कर्णाली तथा सुगम दुर्गम भनेर छुट्याउन नहुने स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले बताए।

‘काठमाडौँबाहिरका ठाउँहरुलाई यो सुगम त्यो दुर्गम भनेर भन्ने गरिन्छ यस्तो गर्न भएन‚ दुर्गम भनेकै कारण डाक्टरहरु जानै नमान्ने अवस्था आयो। त्यसैले अब कर्णालीलगायतका क्षेत्रहरुलाई दुर्गम भनेर भन्न मिलेन‚’ स्वास्थ्य सचिव डा पोखरेलले भने।

सो कार्यक्रममा कर्णाली प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले सधैँ विरामी पठाउने कर्णालीले पछिल्ला वर्ष उत्कृष्ट स्वास्थ्य सेवासहित दक्ष स्वास्थ्यकर्मीहरु उत्पादन गर्न थालेको र यो सबैको गर्वको विषय भएको बताए।

हाल कर्णाली प्रतिष्ठानले विर्षिक एक लाख विरामीको उपचार गर्दै आएको र चिकित्सा शिक्षाका १४ वटा विभिन्न विधामा अध्ययन अध्यापन गराउँदै आएको भिसी डा रावलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.