पाल्पा : बुधबारदेखि रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द हुने भएको छ। बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग बन्द हुने भएको हो।
यो समयमा कुनै पनि सवारीसाधन सञ्चालनमा रोक लगाइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए। अर्को सूचना नहुँदासम्मका लागि यो समयमा सवारी आवागमन गर्न पाइनेछैन। सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवलको तिनाउ गाउँपालिकास्थित हिउँदे खोला नजिकै सडक भासिएको छ।
अहिले एकतर्फी रूपमा सडक सञ्चालनमा रहेको छ। यो ठाउँमा सडक अत्यन्तै जोखिमपूर्ण रहेको छ। सडक डिभिजन कार्यालय पाल्पाले मर्मत गर्ने काम गरिरहेको छ।
अत्यावश्यक बाहेक यात्रा नगर्न भनिएको छ। बन्द गरिएको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सवारीसाधन चलाउनुपर्ने भएमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय तथा सडक डिभिजन कार्यालयबाट अनुमति लिनुपर्ने प्रमुख जिल्ला अधिकारीले बताए।
वर्षाको समय वा सडकमा थप क्षति भएको अवस्थामा प्राविधिकको राय बमोजिम जुनसुकै समयमा पनि आंशिक वा पूर्णरूपमा सवारीसाधन आवतजावत बन्द गरिनेछ।
सडक जतिवेला पनि बन्द हुनसक्ने जोखिम छ। प्राविधिकले समय समयमा जाँच गरेर मात्र सवारीसाधन चल्नुपर्ने अवस्था रहेको प्रजिअ काफ्लेले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।