भारतले भन्सारदर घटाएपछि तस्करीको जोखिम बढ्यो
भारतले भन्सारदर घटाएपछि तस्करीको जोखिम बढ्यो
काठमाडौँ : लगातार भाउ बढेपछि सर्वसाधारणको पहुँचभन्दा बाहिर हुँदै गएको नेपालको सुनचाँदी व्यवसायमा अर्को डर थपिएको छ।
भारतले बजेटमा सुनमा लगाउँदै आएको भन्सार शुल्क घटाएपछि नेपाली बजारमा त्यसको असर पर्ने भन्दै यहाँका सुनचाँदी व्यवसायी चिन्तित छन्। भारतले मंगलबार सार्वजनिक गरेको बजेटमा सुनचाँदीको भन्सारदर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ।
नेपालमा सुनचाँदीको आयातमा २० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ। भारत र नेपालको भन्सारदरमा देखिएको १४ प्रतिशतको अन्तर र खुला सिमानाका कारण तस्करीको जोखिम बढेको व्यवसायीले बताएका छन्। संयुक्त अरब इमिरेट्स, चीन, कतार तथा हङकङलगायतका मुलुकबाट तस्करी भएको सुन नेपालको बाटो हुँदै भारत जाने गरेको बताइन्छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्य भारतमा नेपालको भन्दा कम्तिमा १० देखि १३ हजार रुपैयाँ सस्तो हुने भएकाले गैरकानुनी बाटोबाट सुन आयात हुनसक्ने बताउँछन्। ‘यहाँभन्दा उता सस्तो हुने र खुला सीमाका कारण यताका मान्छे उता गएर किन्न सक्छन् या पारीबाट तयारी गहना आउने सम्भावना बढी हुन्छ’‚ शाक्यले भने‚ ‘जसले यहाँ कार्यरत कालिगडहरूको रोजीरोटी गुम्छ, यहाँका गहना बिक्न छाडेपछि व्यवसाय पनि खतरामा पर्न सक्छ।’
विभिन्न मुलुकबाट गैरकानुनी रूपमा ल्याइएको सुन नेपालको विमानस्थलसहितका ठाउँबाट पक्राउ पर्ने गरेको छ। त्यसरी ल्याइएको सुन भारतीय बजारलाई लक्षित गरि ल्याइएको अनुमान गरिएको छ। तस्करहरूले भारतीय बजारलाई लक्षित गरेर सुन ल्याउने र नेपाललाई ट्रान्जिट बनाउने गरेको बताइन्छ। त्यसमाथि भारतमा सुनको भन्सारमूल्य घटेपछि तस्करीको जोखिम बढ्ने चिन्ता व्यवसायीमा देखिएको छ।
नेपाल सरकारले पनि भन्सारदर समानान्तर रूपमा कायम हुनुपर्ने महासंघका कार्यवाहक अध्यक्ष शाक्य भन्छन्‚ ‘हाम्रो सुन उता जान नदिन त्यहाँको भन्दा अलिकता बढी चाहिन्छ।’
शाक्य नेतृत्वको टोलीले बुधबार भारतले भन्सारदर घटाएपछि नेपाली बजारमा पर्ने प्रभावबारे अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई जानकारी गराउँदै भन्सारदर समायोजन गर्न आग्रह गरिसकेको छ।
हालको खपत
हाल नेपालमा दैनिक मुस्किलले ५ देखि १० किलोको हाराहारीमा माग रहेको महासंघका कार्यवाहक अध्यक्ष शाक्यले बताए। साउन महिनालाई अपसिजन मानिन्छ तर भदौ लागेपछि तीज लगायत चाडबाड शुरु हुने भएकाले भदौपछिलाई सिजन मानिन्छ।
यद्यपि भाउ आकासिएकाले पनि माग घटेको व्यवसायीको तर्क छ। नेपाल राष्ट्रबैंकले व्यवसायीलाई हरेक दिन २० किलो गहना दिँदै आएको छ। सिजनमा यो पर्याप्त नभएको भन्दै बढाउन माग गर्दै आएका छन्।
मूल्यवृद्धिको कारण
अन्ताराष्ट्रिय बजारको मूल्यसँगै नेपालमा पनि सुनचाँदीको बजारमूल्य निर्धारण हुने गरेको छ। पछिल्लो समय सुनको भाउ बढ्नुको मुख्य कारण विभिन्न देशमा जारी युद्ध भएको व्यवसायी बताउँछन्। रूस–युक्रेन युद्ध, इजरायल–हमास युद्धसँगै विभिन्न ठूला मुलुकहरूबीच देखिने राजनीतिक तनावका कारण सुनको मूल्य प्रभावित भएको शाक्यको भनाइ छ।
‘पछिल्लोपटक रूस, चीन, ब्राजिल, भारतसहित ४० भन्दा बढी देश आबद्ध ब्रिक्सको साझा करेन्सीको हल्ला छ। उनीहरूले युरोजस्तो ब्रिक्सको साझा करेन्सी तयार गरे भने त्यसले डलरलाई चुनौती दिन्छ र डलर कमजोर हुने सम्भावना छ’, शाक्यले भने‚ ‘ब्रिक्सको करेन्सी आयो भने शेयरको भाउ केही कम हुने र सुनको भाउ बढ्ने हो कि भन्ने आशंका छ।’
यसैगरी भारतको केन्द्रीय बैंकले आगामी सेप्टेम्बरदेखि ब्याज कम गर्ने सुनिएको छ। यसो भयो भने सुनको भाउ थप केही बढ्न सक्ने शाक्य बताउँछन्।
सुरक्षित लगानी तर पहुँच कम
तरल पुँजी भएकाले पनि सुनमा लगानी गर्नु उपयुक्त मानिन्छ। सुरक्षित लगानीका हिसाबले पनि सुनप्रति लगानीकर्ता आकर्षित हुने गरेको देखिन्छ तर नेपालीहरूका लागि यो आफ्नो क्रयशक्तिभन्दा करिब–करिब बाहिर जस्तो लागेको व्यवसायीको तर्क छ। ‘फाइदाको पक्ष भए पनि सुन एकदमै महँगो भएकाले सबै नेपालीको पहुँचभन्दा बाहिर गएको महसुस गरेका छौँ’, शाक्यले भने‚ ‘तर बैंकको ब्याजभन्दा, लगानीको लागि सुन धेरै राम्रो छ।’
मूल्यवृद्धिकै कारण सुनमा लगानी बढ्ने देखिदैन। ‘अहिलेकै अवस्था रहे वा उच्च मूल्य कायम रहेसम्म माग केही कम नै हुनेछ, मार्केट बुम होला जस्तो हामीलाई लाग्दैन’‚ उनले भने।
सुनचाँदीको रेट
भन्सार शुल्क घटाएसँगै भारतमा सुनको मूल्य घटेको छ। यस हप्ता भारतमा १० ग्राम सुनमा ४ हजार रुपैयाँ सस्तिएको छ। बिहीबार प्रति १० ग्राम २४ क्यारेट सुनको मूल्य ६८ हजार १७७ रुपैयाँ र २२ क्यारेटको प्रति १० ग्राम ६२ हजार ४५० रुपैयाँ रहेको छ। बुधबार २४ क्यारेटको सुन १० ग्रामको ६९ हजार ३९० रुपैयाँ थियो।
नेपालमा बिहीबार छापावाल सुन प्रति १० ग्राम १ लाख २४ हजार ३१५ र तेजाबी सुन १ लाख २३ हजार ७१५ रुपैयाँ प्रति १० ग्राम कारोवार भइरहेको छ। चाँदी १० ग्रामको १ हजार ५५० रुपैयाँ रहेको छ। छापावाल सुन प्रतितोला १ लाख ४५ हजार र तेजाबी सुन १ लाख ४४ हजार ३०० र चाँदी १ हजार ७५० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत वर्ष साउन १ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ रहेकोमा यो साउन १ गते १ लाख ४९ हजार ८०० रुपैयाँमा किनबेच भयो। २०७५ चैतमा सुनको मूल्य ६० हजार ६ सय रुपैयाँ प्रतितोला थियो। अन्ताराष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस २ हजार ७०० डलर पुग्ने व्यवसायीको अनुमान छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।