|

काठमाडौँ : २०८० माघमा कास्कीको पोखरा महानगर-१९ ले बाँदर नियन्त्रणका लागि रूख काट्न उर्दी जारी गरेको सूचना सामाजिक सञ्जालमा भाइरल भयो।

पोखरा-१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जारी गरेको सूचनामा भनिएको थियो, ‘पोखरा महानगरपालिका साविक लामाचौर पुरन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले पनि बाँदर नियन्त्रणको नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रूख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आ-आफ्नो घर वरपर रहेका सम्पूर्ण रूख कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन अनुरोध गरिन्छ।’ 

यसको चर्को आलोचना भएपछि पोखरा महानगरले रूख नकाट्न निर्देशन दियो। यहीलगत्तै बाँदरको विषय संसद्‌मा प्रवेश गर्‍यो। बाँदर नियन्त्रण गर्नुपर्ने चौतर्फी माग उठेपछि  बन्ध्याकरणमार्फत बाँदरको नियन्त्रणबारे अध्ययन गर्न चिकित्सक र सांसदहरूको जम्बो टोली नै भारतको हिमाञ्चल राज्य जाने कार्य योजना बन्यो।उनीहरू अध्ययनका लागि भारत पनि गए।

तर अध्ययनबाट कसरी बाँदरको बन्ध्याकरण गर्ने, यो प्रभावकारी छ वा छैन लगायत उपाय, सुझाव सरकारले सार्वजनिक गरेको छैन। उक्त टोलीमा १८/१९ जना सांसद, प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू, १० जना पशु चिकित्सक र ५ जना वनका रेन्जर जाने तोकिएको थियो।

तर सांसदहरू भने नगएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले जनाएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका उपसचिव शिवदत्त बरालले  बाँदर नियन्त्रणका लागि अध्ययन गर्न चिकित्सकहरू मात्रै गएको जानकारी दिए।

उनका अनुसार उक्त अध्ययनबाट प्रदेशस्तरबाटै बाँदर नियन्त्रण गर्नुपर्ने निष्कर्ष आएको थियो। ‘अध्ययनबाट बाँदर नियन्त्रण गर्न ७ वटै प्रदेशलाई बाँदरको बन्ध्याकरण गर्नुपर्ने भन्ने भयो। सोहीअनुसार निर्देशन पनि गरियो’, उनले भने। तर पछिल्लो अपडेट भने केही नआएको उनको भनाइ छ।

‘पछि के कति प्रभावकारी र काम भयो भन्ने केही जानकारी आएको छैन, समितिकी सभापति पनि मन्त्री हुनुभयो, समितिमा सभापति नै छैन, त्यही भएर अहिले केही छलफल पनि हुन सकेन’, उनले भने। उनका अनुसार समितिले सभापति पाएपछि बैठकमा यस विषयमा छलफल पनि हुनेछ। 

यसअघि नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा उक्त समितिकी सभापति थिइन्। अहिले उनी परराष्ट्रमन्त्री हुन्। त्यसैले समिति सभापतिविहीन छ।

बाँदरबाट किसानलाई हैरानी

पछिल्लो समय देशभर बाँदर आतंकले कृषक मारमा परेका छन्। गाउँ गाउँका किसान बाँदर धपाउन कम्तीमा पनि एकजना खेतबारीमा ‘ड्युटी’ बस्नुपर्ने बाध्यता छ। किसानहरूले यसबाट छुटकारा पाउन सरकारसँग बारम्बार बिलौना गरे पनि सरकारले पनि गर्न सकेको छैन।

वन्यजन्तु वैज्ञानिक प्राडा मुकेशकुमार चालिसेका अनुसार बाँदरलगायत जीवजन्तुकै कारण सीमान्तीकृत, विकट गाउँ, कम बस्ती भएका ठाउँ उठीवास नै गराएको पाइएको छ। गत असार १३ गते धादिङका किसानहरूले बाँदर आतंक नियन्त्रण गर्न सरकारले कार्यक्रम नल्याएको भन्दै बागमती प्रदेशसभा भवनसामु नाराबाजी गरे। 

त्यसैगरी गत जेठ ३० गते बाँदरले खेतबारीमा लगाएको अन्नबाली खाइदिएपछि मकै नै बोकेर किसानहरूले दोलखा सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका थिए। किसानहरूले बाँदरले खाएको मकैको खोस्टाको माला र मकैका बोट बोकेर जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापनपत्र बुझाएका थिए।

बाँदरले अन्नबाली नष्ट गर्ने मात्रै गरेका छैनन्, कृषकलाई आक्रमण पनि गर्न थालेका छन्। पोखरा महानगर–१९ का ऋषिराम तिवारी बाँदरकै आक्रमणबाट २०८० पुस २२ गते घाइते भएका थिए। 

यस कारण जंगलबाट बस्तीमा छिरे बाँदर 

वन्यजन्तु वैज्ञानिक प्राडा चालिसेका अनुसार पहिला जनसंख्या कम थियो। सरकारले वनजंगल फँडानी गरेर खेती गर्ने नीति ल्यायो। कृषिमा जोड दियो तर पछिल्लो समय भने जंगल फँडानी गरेर काठ बेच्ने र घर बनाउने प्रवृत्ति बढ्यो।

उनले थाहाखबरसँग भन्छन्, ‘यसै कारण थोरै मात्रै जंगल बाँकी रह्यो, जीवजन्तुको वासस्थान मासियो। त्यसपछि कहाँ जाने भन्दा अहिले जहाँ खेती भइरहेको छ, त्यहाँ आएर बाँदरहरूले वासस्थान नै बनाउन थाले।’

उनका अनुसार पछिल्लो समय आम्दानी नभएपछि गाउँका युवाहरू कि त शहरकेन्द्रित भए कि त विदेश पलायन भए। जस कारण खेतीयोग्य जमिन बाँझै भए। ‘खेती गर्नसक्ने जनशक्ति नहुँदा टाढाका खेतीयोग्य जमिन बाँझै भए‘, उनले भने, ‘घर वरपरका खेतबारीमा मात्रै अन्न लगाउने चलन भयो, त्यसैले पनि बाँदरले दुःख दिइरह्यो।’ 

उनका अनुसार बाँदरहरू किसानहरूले लगाएको अन्नबाली खान पल्किएपछि अन्य जीवजन्तुले पनि त्यही सिको गर्न थालेका छन्। उनले भने, ‘त्यही देखेपछि अहिले मृगलगायत अन्य जीवजन्तु पनि बाली नष्ट गर्नेमा पल्किए।’

उनका अनुसार जहाँ खेतीपाती लगाएको हुन्छ, गन्धले नै जीवजन्तुले त्यो खेतीबारे थाहा पाएर आउने गर्छन्। उनका अनुसार उक्त आतंकबाट बच्न किसानले बाली फेर्नुपर्ने हुन्छ। जस्तो मकै लगाउने ठाउँमा धान लगाउने‚ सुर्ती, खुर्सानी, अदुवा, बेसारजस्ता बाली लगाउनुपर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.