काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको शिकार बनेपछि नेकपा एकीकृत समाजवादी प्रतिनिधिसभाको छैटौँ दलमा उक्लियो। १० सांसद रहेको एकीकृत समाजवादी त्यसअघि सातौँ स्थानमा थियो।
विभाजनपछि जसपा नेपाल ५ सांसदसहित प्रतिनिधिसभाको नवौँ दल हुन पुगेको छ। राष्ट्रियसभामा ८ सांसदसहित एकीकृत समाजवादी चौथो दलको हैसियतमा छ भने ३ सांसदसहित जसपा नेपाल पाँचौँ दल हो।
यसरी हेर्दा आकारमा सानो देखिए पनि कर्मकाण्डी महाधिवेशन सकेका यी दलहरूको सकस भने ठूलो देखिन्छ। एकीकृत समाजवादी र जसपा नेपाल दुवैले महाधिवेशन सम्पन्न गरेको लामो समयसम्म पदाधिकारी र केन्द्रीय समिति टुंग्याउन सकेका छैनन्।
एकीकृत समाजवादी र जसपा दुईवटै दलमा आकांक्षीको लर्को लाग्दा पदाधिकारी टुंग्याउने चुनौती बढेको छ। असार १६ देखि २० गतेसम्म काठमाडौँमा १०औँ महाधिवेशन सम्पन्न गरेको एकीकृत समाजवादीले केन्द्रीय कमिटी नै टुंग्याउन सकेको छैन।
सहमतिको सन्देश दिने नाममा मतदानमार्फत नेतृत्व तथा पदाधिकारी छान्ने/छानिने प्रतिनिधिहरूको अधिकार खोसे पनि अहिलेसम्म केन्द्रीय सदस्यहरू छान्नै एकीकृत समाजवादीलाई सकस परेको हो। ९३ केन्द्रीय सदस्यको नाम हलबाटै घोषणा गरिएको थियो भने २०६ केन्द्रीय सदस्य पद अझै रिक्त छन्। २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी एकीकृत समाजवादीको छ।
महाधिवेशनले अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहोर्याएको थियो भने अन्य पदाधिकारीको टुंगो अहिलेसम्म लगाउन सकेको छैन।
यसअघि नै केन्द्रीय सदस्य भइसकेका नेताहरूबाट छाँटकाँट गर्नुपर्ने, महिला र युवालाई पनि अवसर दिन लागिएकाले यसलाई पूर्णता दिन ढिलाइ भएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए।
‘यसअघि भइरहेको केन्द्रीय कमिटी ३४६ जनाको थियो। अहिले २९९ मा झारिएको छ। पुरानैबाट छाँट्नुपर्ने छ’, उनले भने, ‘नयाँ क्लस्टरको कुरा पनि छ। ६० जना युवाहरूलाई ल्याउने भनेका छौँ, महिला १०० जना चाहिन्छ। सबै मिलाउने क्रममा अलिकति ढिला भएको हो।’
अहिले पदाधिकारी र केन्द्रीय समिति टुंग्याउन ढिलाइ हुनु अधिवेशनबाटै नटुंग्याइँदाको परिणाम भएको नेता पाण्डे बताउँछन्। ‘महाधिवेशन हलबाटै गर्न पाएको भए भइहाल्थ्यो। यताबाट गरौँ, सहमतिको एउटा म्यासेज दिउँ भन्यौँ’, अहिले देखिएको सकसबारे उनले भने, ‘तर अहिले पोलेको आलु घाँटीमा गएर अड्किएजस्तो भइरहेको छ।’
पदाधिकारी र बाँकी केन्द्रीय सदस्यहरूको सूचीबारे छलफल गर्न एकीकृत समाजवादीले साउन १६ गतेका लागि बैठक बोलाएको छ तर उक्त बैठकबाट पनि टुंगिन कठिन रहेको नेताहरू बताउँछन्।
नेता प्रमेश हमाल केन्द्रीय कमिटीले पूर्णता पाउने आशामात्रै गर्न सकिने बताउँछन्। ‘केन्द्रीय समिति र पदाधिकारी टुंग्याउनेबारे वर्कआउट हुँदैछ’, उनले भने, ‘सिफारिश आइसकेपछि कतिपय अवस्थामा संख्याहरू मिलिरहेको छैन। त्यो मिलाउने काम भइरहेको छ। अब पर्सीको बैठकमा टुंगिने आशा गरौँ।’
महाधिवेशन सम्पन्न भएको महिना दिनसम्म केन्द्रीय समितिलाई पूर्णता दिनै असफल एकीकृत समाजवादीमा पदाधिकारी चयन झन् चुनौतीपूर्ण देखिएको छ। एउटै पदमा नेताहरूको दोहोरो/तेहेरो दावी छ।
वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे, बेदुराम भुसाल र प्रमेश हमालको बलियो दावेदारी छ। त्यसमध्ये पाण्डेको सम्भावना बलियो रहेको बताइन्छ। बाँकी ६ उपाध्यक्ष, ४ उपमहासचिव, ७ सचिवमा पनि नेताहरूको लर्को छ। जसकारण केन्द्रीय सदस्यहरूको सूची टुंगिएपछि पनि पदाधिकारी टुंग्याउन अर्को महाभारत रहेको नेताहरू बताउँछन्।
सन्दर्भ जसपाको
जसपा नेपालको हालत पनि उस्तै छ। जेठ अन्तिम साता जनकपुरधाममा महाधिवेशन सम्पन्न गरे पनि अहिलेससम्म जसपामा उपेन्द्र यादव एकल पदाधिकारी हुन्।जेठ २८ देखि ३० गतेसम्म भएको महाधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष बनेका हुन् भने बाँकी पदाधिकारी टुंग्याउने जिम्मा पनि पार्टीले अध्यक्ष यादवलाई नै दिएको छ।
महाधिवेशन सकिएको महिना दिनपछि २७ असारमा अध्यक्ष यादवले २१५ सदस्यीय केन्द्रीय कमिटी भने घोषणा गरेका छन् तर अहिलेसम्म अन्य पदाधिकारीहरूको टुंगो लगाउन सकेका छैनन्।
आकांक्षी धेरै भएकै कारण यसलाई पूर्णता दिन ढिलाइ भएको जसपा नेपालका नेता राजकिशोर यादव बताउँछन्। ‘आकांक्षी धेरै हुने भएकाले कसरी व्यवस्थापन गर्ने भनेर मिलाउन अलि गाह्रै काम हो’, उनी भन्छन्, ‘यो अधिकार अध्यक्षज्यूले पाउनुभएको छ। आगामी बैठककै सेरोफेरोमा टुंगिएला।’
जसपामा अध्यक्षसहित सह-अध्यक्ष-१, उपाध्यक्ष-५, महासचिव-२, उपमहासचिव-३, सचिव-७ र कोषाध्यक्ष-१ जना हुने व्यवस्था छ। महाधिवेशनले उपेन्द्रलाई अध्यक्षमा दोहोर्याएर बाँकी नेता छान्ने जिम्मा उनैलाई दिएको हो। तर पदाधिकारीमा आकांक्षी धेरै भएपछि टुंगिन ढिलाइ भइरहेको छ। सह-अध्यक्षमा रकम चेम्जोङ, राजकिशोर यादव र लालबाबु राउतको दावी छ। जसमध्ये चेम्जोङको सम्भावना बलियो रहेको बताइन्छ।
२ महासचिवमा बोमबहादुर दर्लामी मगर, रामकुमार शर्मा, विजय कुमार, मनिष सुमन र अशोककुमार यादवको दावी छ। उपाध्यक्ष, उपमहासचिव, सचिवलगायतका पदमा पनि धेरै आकांक्षी छन्। यी सबैको टुंगो लगाउन पनि यादवलाई औधि सकस पर्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।