‘निर्देशिका लत्याएर गाडी चलाइयो’
‘निर्देशिका लत्याएर गाडी चलाइयो’
काठमाडौँ : हिजो(सोमवार) पोखराको रामदीबाट विद्यार्थी लिएर पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुल जाँदै गर्दा ग १ क ६२१९ नम्बरको स्कुल बस पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तिमा दुर्घटना भयो। दुर्घटनामा सोही विद्यालयकी कर्मचारी ३३ वर्षीया आरती विक र उनकै छोरा अन्दाजी पाँच वर्षीय प्रिन्स विकको मृत्यु भयो।
पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीका अनुसार बस सडकबाट झन्डै ६० मिटर तल खसेको थियो। बसमा चालक, सहचालक र २१ विद्यार्थीसहित २३ जना सवार थिए। घाइतेहरूको अहिले उपचार भइरहेको छ।
बसमा सवार विद्यार्थीहरूले ‘ओभरस्पिड’का कारण दुर्घटना भएको जानकारी दिएका छन्। नियम अनुसार स्कुल बस अधिकतम ४० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा चलाउन पाइँदैन। विद्यार्थीहरूको आवतजावत सुरक्षित,आरामदायी र भरपर्दो बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा ‘स्कुल बस निर्देशिका २०७४’ जारी गरिएको छ।
उक्त निर्देशिकाको बुँदा ७ मा भनिएको छ, ‘स्कूल बस कुनै पनि कीसिमले अधिकतम ४० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा चलाउन पाइने छैन।’
तर स्कुल बस तीव्र गतिमा हुइँकिने गरेका छन्। विद्यार्थी बोकेर त्यसरी तीव्र गतिमा कुदाउने गाडीलाई सम्बन्धित निकायबाट कारबाही भने हुँदैन। यही कारण पोखरामा भएको दुर्घटना जस्तै अन्य विद्यार्थी पनि जोखिममा छन्।
यस्तै, निर्देशिकामा स्कुल बस चलेको अवस्थामा सबै आपतकालीन ढोका बन्द गरी विद्यार्थीको यात्रा सुरक्षित बनाउनुपर्ने व्यवस्था छ। स्कुल बसको झ्यालमा ३ वटा 'होरिजेन्टल राउण्ड मेटल राउण्ड आल्मुनियम ट्युब'को ग्रील दुवै साइडमा लगाउनुपर्ने र सहचालकको व्यवस्था हुनुपर्ने पनि निर्देशिकामा उल्लेख छ। उक्त निर्देशिकामा तोकिएको मापदण्ड निजी विद्यालयहरूले कार्यान्वयन गर्दैनन्। जसकारण यसअघि कैयौँ दुर्घटनासमेत भइसकेका छन्।
२०७९ कात्तिकमा लाजिम्पाटस्थित 'बेष्ट एलिमेन्ट्री मन्टेसरी स्कुल'मा अध्ययनरत सामाखुसीका १३ वर्षीय आयुष्मान दाहाल आफू चढेको बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटनजिकको रूखमा ठोकिन पुगेका थिए । उपचारका क्रममा उनको निधन भयो। प्रहरी वृत्त दरबारमार्गले अनुसन्धानबाट चालक र सहचालकले झ्यालको सिसा नलगाउनु ठूलो गल्ती देखिएको निष्कर्ष निकालेको थियो।
‘कारबाही नहुँदा निर्देशिका लत्याएर गाडी चलाइयो’
सहज तरिका र सुरक्षित हुने भन्दै अभिभावकहरू सकीनसकी स्कुल बसबाट बालबालिका सम्बन्धित स्कुलमा पठाउँछन् तर यस्तो घटना भइरहँदा उनीहरू चिन्तित छन्। नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी व्यवस्थित ढंगले स्कुल बस चलाउन निर्देशिका, ऐन बने पनि त्यसलाई लत्याएर बस चलाउँदा बालबालिकाहरूको ज्यान जोखिममा रहेको बताउँछन्।
ट्राफिक प्रहरी या अन्य सम्बन्धित निकायले होस्, लापरबाही गर्नेलाई कारबाही गर्नुको सट्टा नदेखे झैँ गर्ने गरेको उनले सुनाए। उनका अनुसार स्कुल बसभित्र झनै पीडा दिएर विद्यार्थी ओसारपसार गरिन्छ।
उनी भन्छन्, ‘विहान हेर्यो भने मन्टेसरीका गाडीमा उल्टो सिट बनाएर विद्यार्थी राखेर चलाउँछन्, नियमअनुसार यसो गर्न पाइँदैन, विद्यार्थीहरूलाई बसमा कोचेर लगेको छ तर कसैलाई ध्यान छैन।’
उनका अनुसार बालबालिका संवेदनशील हुन्छन्‚ वयस्कजस्ता हुँदैनन्। चञ्चले स्वभावका हुन्छन्। ‘त्यसैले महत्व दिएर सीमित गतिमा चलाउने, स्कुलभित्र या बाहिर रेखदेख गरिनुपर्छ,’ उनले भने, ‘यसका लागि मान्छे राख्नुपर्छ, सुरक्षामा कमी हुनुभएन, चालकलाई पनि चेतना दिनुपर्छ।’
निर्देशिका कार्यान्वयन गर्न माग
पोखरामा भएको उक्त बस दुर्घटनापछि सामाजिक सञ्जालदेखि संसद्सम्म विभिन्न टिकाटिप्पणीसँगै विषय उठेको छ। सोमवारको प्रतिनिधिसभा बैठकमा सांसद शिव नेपालीले निर्देशिका कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘पोखरमा स्कुलको बस दुर्घटनामा परेको छ, उक्त दुर्घटनामा ६ वर्षीय प्रिन्स विक र ३३ वर्षीय आरती विकको मृत्यु भएको छ, सभामुख महोदय स्कुल बसको स्पिड लिमिट तोके पनि सशक्त कडाइका साथ कार्यान्वयन भइरहेको छैन, त्यसैले नेपाल सरकारले उक्त कडाइका साथ प्रत्येक स्कुल बसलाई कुन नियम लागु गरेर हुन्छ, छिटोभन्दा छिटो सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएर कडाइका साथ नियम लागू गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
कतिपयले सामाजिक सञ्जालमा समेत सरकारको आलोचना गरेका छन्। नुतन लिम्बु भन्छन्, ‘विहानिपख बूढानीलकण्ठको बाटोमा स्कुलका नानीहरू बोकेका बसहरू पनि सार्वजनिक बस झै गरी अत्यधिक रफ्तारमा कुदिरहेका हुन्छन् अनि एकअर्कालाई उछिनेर कुदाउने गरिरहेका हुन्छन्। बेलैमा सम्बन्धित निकाय या परिवारजनले ध्यान नदिए यस्तै दुर्घटना हुन्न भन्न सकिन्न।’
दुर्गा अर्याल पनि विद्यालय बस विद्यालयबाट कति दूरीसम्म गुडाउने यस सम्बन्धमा आवश्यक निर्देशन र मापदण्ड बनाएर कार्यान्वयनमा ल्याउन जरूरी रहेको बताउँछन्। ‘१/२ घण्टा टाढाको दूरी सम्म पनि बस विद्यालयहरूले प्रयोग गरेको देखिन्छ, शैक्षिक व्यापारको नाममा साना बालबालिकाको जीवनमाथि खेलवाड नगरौँ, ’उनले भनेका छन्।
यसो भन्छ यातायात मन्त्रालय
गत वैशाखमा सरकारले विद्यार्थी बोक्ने गाडी प्रतिघण्टा ४० किलोमिटरभन्दा तल हुने गरि गति निर्धारण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरिएको थियो।
तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको उनको सचिवालयले जनाएको थियो।
उक्त पत्रअनुसार हाल केही निर्णय/कार्यान्वयन नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशील बाबु ढकालले जानकारी दिए।
‘यो पत्रबारे बुझ्नैपर्छ,तर पहिला पनि प्रतिघण्टा ४० किलोमिटर भन्दा बढी गतिमा चलाउन नपाइने कानुनी व्यवस्था नै छ, जुनसुकै ठाउँमा पनि स्कुल बस मात्र नभइ अरू सवारीसाधन पनि स्कुल,अस्पताल क्षेत्रमा गति सिमित गर्नुपर्छ, बढी गतिमा चलाए कारबाही हुन्छ,’ उनले भने।
उनले भएको व्यवस्थालाई कार्यान्वयनका निम्ति कारबाही साथै सचेतना फैलाइरहेको बताए। तीव्र गतिमा बस चलाएका, मादक पदार्थ सेवन गरी चलाउने गरेका चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको उनको भनाइ छ।
उनले भने, ‘मन्त्रालयले रेडियोमार्फत पनि स्कुल बस तीव्र गतिमा नचलाउन सचेतना फैलाइरहेको छ,आवश्यक परे मापदण्ड परिवर्तन हुन्छ।’
पोखरामा भएको स्कुल बस दुर्घटनामा छानबिनका लागि पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। महानगरपालिकाका प्रमुख धनराज आचार्यको निर्देशनमा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।