|

काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोजेको बताएका छन्।

चुनावी प्रचारप्रसारका क्रममा दुइ नम्बर प्रदेशको जनकपुरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले नयाँ हिटलरहरुले एउटा जातिलाई काखी च्यापेर अर्को जातिमाथि छुरा हान्न खोजेको बताए। 'राष्ट्रवादको नारा दिएर जसरी हिटलर जर्मनीको सत्तामा हाबी भएको त्यसरी नै नश्लवादी राष्ट्रवादले अन्ततः जाति जातिलाई लडाउने र राष्ट्रिय एकतालाई कमजोर बनाउने काम गरेको छ,' प्रचण्डले भने।

नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलसँगै प्रशिक्षण दिन सोमबार जनकपुर पुगेका प्रचण्डले अन्धराष्ट्रवाद अन्तिममा फासीवादमा बदलिने ठोकुवा गरे। उनले नेपालमा यस्तै अभ्यास गर्न खोजिएको  आरोप लगाए। माओवादी नश्लवादी, जातिवादी र अन्धराष्ट्रवादी नभएको उनको दाबी छ। प्रचण्डले माओवादीले उत्पीडितबीचको बलियो एकतामार्फत् राष्ट्रिय एकता र सद्भाव स्थापित गर्न चाहेको बताए।

माओवादीले उठाएको जातीय मुक्तिको नारा हिमाल, पहाड र तराई मधेसका गरीब, उत्पीडितलाई एकताको एउटै सुत्रमा बाँध्ने नारा भएको उनको दाबी छ। प्रचण्डले आफ्नो पहिचानको नारा एमाले र मधेसी दलले लिएजस्तो जाति-जाति भिडाउने नारा नभएको जिकीर गरे। दुइ नम्बर प्रदेशमा माओवादी केन्द्र पहिलो बन्ने आधार, पृष्ठभूमि र सम्भावना रहेको उनको भनाइ छ।

प्रचण्डले यो प्रदेशमा माओवादीलाई पहिलो पार्टी बनाउन का लागि युद्धस्तरमा निर्वाचन अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिए। माओवादीले जित्नका लागि अरु धेरै गर्नुभन्दा अरु पार्टीले छरेका गलत भ्रमहरु चिर्न र सत्य स्थापित गर्न ध्यान दिनपर्ने उनले बताए। उनले अरु पार्टीले भ्रमको खेती गरेका छन्। तर, माओवादीले आफूलाई काममा खरो प्रमाणित गरिसकेको छ,’ उनले भने।

प्रशिक्षण दिँदै प्रचण्डले मधेसी जनताको मुक्तिका लागि १३ हजारले सहादत प्राप्त गरेको स्मरण गरे। माओवादीबारे विरोधीले फैलाएका भ्रम गलत रहेको भन्दै प्रचण्डले माओवादी भनेको ध्वस्त गर्ने, भत्काउने, बिगार्ने पार्टी मात्र नभइ विकास, समृद्धि र उज्यालो नेपालको अभियान चलाउने पार्टी भएको बताए।

'संविधानमा हामीले प्राप्त नगरेका कुरा छोडेका छैनौ। हामी हाम्रा मुद्दाका पक्षमा निरन्तर लडिरहन्छौ। लोडसेडिङको अन्त्य, ७.५५ आर्थिक वृद्धि, हुलाकी राजमार्ग, फास्ट ट्रयाक निर्माण, महाकाली नदीमा पुल निर्माण र राष्ट्रिय गौरवका आयोजनामा तिब्र प्रगति इतिहासले कहिल्यै नभूल्ने उपलब्धि मेरै सरकारको पालामा भएको हो,’ उनल भने।

उनले माओवादी खरो प्रचारमा उत्रन नसकेका कारण पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा एमाले र कांग्रेसभन्दा कमजोर देखिएको बताए। 'हामीले बासमति चामल फलायौ तर, बेच्न नै लगेनौं, घरमै पोको पारेर राख्यौं,' उनले भने,'प्रतिगामीहरु कुहिएको पिठो बोकेर घर-घर गए। अब हामी चामल बेच्न घरघर जाऔं।'

पार्टी टुटफुटको शिकार हुँदा मधेशमा पनि असर परेको उनले बताए। माओवादी जुट्नुको विकल्प नरहेको उनको भनाइ छ।

नेता रामबहादुर थापा बादलले  राजनीतिक दृष्टिले मधेस स्वायत्त प्रदेश बनिसकेको र असोज दुइको स्थानीय तह निर्वाचनपछि त्यसले वैधानिकता पाउने दाबी गरे। उनले मधेसमा जमिन्दारहरुको बोलवाला रहेको र माओवादीले जिते मात्र यसलाई बदल्न सकिने तर्क गरे।

नेता नारायणकाजी श्रेष्ठ प्रकाशले संविधान कार्यान्वयनको प्रक्रिया सफल पार्नका लागि नै दुई नम्बर प्रदेशको चुनाव  असोज २ मा सारिएको बताए। नेपालको स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा सबैभन्दा बढी त्याग र बलिदान मधेसी जनताले गरेको उनले बताए। उनले नेपालमा गणतन्त्र, संघीयता, नयाँ संविधान लगायतका परिवर्तनको असली हकदार माओवादी केन्द्र रहेको दाबी गरे।

परिवर्तनलाई संस्थागत गर्न नदिनका लागि परिवर्तन विरोधी शक्तिले विभिन्न अनेक षडयन्त्र गरेको उनको आरोप छ। श्रेष्ठले अब निर्वाचन गरेर परिवर्तन संस्थागत हुन कुनै शक्ति र षड्यन्त्रले रोक्न नसक्ने बताए।

उनले भने– ‘दुइ नम्बर प्रदेशमा असोज दुइमा निर्वाचन भएरै छोड्छ। मधेस र मधेसी समुदायका माग सम्बोधन हुने गरी माओवादी केन्द्र संविधान संशोधनका लागि प्रयत्नशील छ।’ 

१ हजार बढीको सहभागिता

जनकपुरको जानकी पाटी प्यालेसमा भएको प्रशिक्षणमा मधेसका आठ जिल्लामा रहेका एक हजार बढी पार्टी केन्द्रिय सदस्यहरु सहभागी भएका थिए। अध्यक्ष प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, गीरिराजमणि पोखरेल, हरिबोल गजुरेल, प्रभु साह, उर्मिला अर्याल, विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, रामकुमार यादव, भरत साह, डाचाराज वाग्ले लगायतका नेताहरु सहभागी प्रशिक्षण कार्यक्रममा सहभागी थिए।  प्रशिक्षण कार्यक्रम आजै सकिएको छ।

नेता मातृका यादव अनुपस्थित

दुई नम्बर प्रदेशका संयोजक मात्रिका यादव भने प्रशिक्षण कार्यक्रममा अनुपस्थित भए। स्वास्थ्यमा समस्या आएका कारण उपचारको लागि देश बाहिर रहेकाले नेता यादव कार्यक्रममा उपस्थित हुन नसकेको पूर्व कानुन मन्त्री तथा सिराहाका नेता अजयशंकर नायकले जानकारी दिए। भूमिगतकालमा प्रशासनबाट पटक पटक गिरफ्तारीमा परेका नेता यादव चर्को यातनाकै कारण अस्वस्थ भइरहको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.