महालक्ष्मीको १ वर्षे कार्ययोजना

|

ललितपुर : अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका सवालमा संविधानले निर्दिष्ट गरे पनि कार्यान्वयन फितलो हुँदा उनीहरु मर्कामा परेका छन्। 

दृष्टिविहीन सहयोग केन्द्र नेपालको आयोजनामा ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोलमा आयोजना भएको अपाङ्गता अधिकारको क्षेत्रमा नेतृत्व विकास विषयक २ दिने आवासीय प्रशिक्षण कार्यक्रममा सहभागीहरुले यस्तो दुखेसो पोखेका छन्। 

विशेषगरी अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न समस्यामा पर्नबाट जोगिन र उनीहरुलाई समाजमा एक अब्बल रुपमा बाँच्ने हौसला दिने उद्देश्यले यसक्षेत्रमा कार्यरत व्यक्तिको नेतृत्व तथा क्षमता विकास गर्ने  उद्देश्यले प्रशिक्षण दिइएको केन्द्रका अध्यक्ष राजेन्द्र दुलाल क्षेत्रीले जानकारी दिए। 

अपाङ्गता सम्बन्धी संविधानको हक अधिकार तथा कानुन भए पनि किन कार्यान्वयन पाटो फितलो भएको भन्दै सहभागीहरुले चासो राखेका थिए। 

उनीहरुले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी उपलब्ध गराई भत्ता समेत दिने सर्वोच्च अदालतबाट निर्देशनात्मक आदेश जारी भए पनि हालसम्म त्यो कार्यान्वयनमा नआउनु दुःखद भएको चित्रण गरेका थिए। 

बागमती प्रदेशका १३ जिल्लाका ३० जना सहभागी भएको प्रशिक्षणमा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व अधिकृत एवं संयुक्त राष्ट्रसंघमा रहेर विभिन्न देशमा काम गरेको अनुभव बटुलेका  अधिवक्ता श्रीराम अधिकारी, सर्वोच्च अदालत बार एशोसियसन सदस्य अधिवक्ता देवी रेग्मी पोखरेल र महालक्ष्मी नगरपालिका सामाजिक विकास तथा सूचना प्रमुख अधिवक्ता गिरिराज खनालले प्रशिक्षण दिएका थिए। 

प्रशिक्षणका दौरान अपाङ्गता भएकाहरूलाई स्थानीय तहमा के के सुविधा छ, त्यसलाई कसरी लिने तथा उनीहरूका अधिकार कसरी सम्बोधन गर्ने लगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो। 

महालक्ष्मीको १ वर्षे कार्ययोजना

यसैबीच महालक्ष्मी नगरपालिकाले अपाङ्गता भएकाहरुको अधिकारका लागि १ वर्षे कार्ययोजना ल्याउने घोषणा गरेको छ। मेयर हरिगोविन्द श्रेष्ठले सो २ दिने प्रशिक्षण कार्यक्रमका क्रममा अपाङ्गता भएकाहरूको अधिकारका आउने योजनाहरुलाई लिएर आफूहरुले नगरभित्रबाटै १ वर्षे कार्ययोजना ल्याउने प्रतिबद्धता जनाए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.