युरोपेली संघले बुधबार प्यालेष्टिनी प्राधिकरणलाई बजेट समस्या समाधानमा मद्दत गर्न आपतकालीन कोषका रूपमा ४० करोड युरो सहायता गरेको छ।
पहिलो १५ करोड युरो किस्तामा वेस्ट बैंकमा निजामती कर्मचारीको तलब भुक्तान गर्न र कमजोर परिवारहरूलाई सहयोग गर्न अनुदान समावेश रहेको ब्रसेल्सले जनाएको छ ।
बाँकी रकम अगष्ट र सेप्टेम्बरमा प्यालेष्टिनी प्राधिकरण (पीए) को सुधार एजेन्डाको कार्यान्वयनमा भएको प्रगतिको अधीनमा वितरण गरिने ईयूले विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्राधिकरणले लामो समयदेखि वित्तीय सङ्कटको सामना गरेको छ। तर इजरायलले प्यालेष्टिनी क्षेत्रको लागि कर राजस्व रोकेकाले गाजा युद्धले प्राधिकरणको वित्तलाई थप असर गरेको छ ।
ईयू प्यालेष्टिनीको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय आर्थिक समर्थक हो। यसको समर्थन सन् २०२१ र सन् २०२४ बीचको अनुमानित एक अर्ब दुई करोड युरो छ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले भने, ‘यो कठिन समयमा प्यालेष्टिनी प्राधिकरणलाई समर्थन गर्न ईयू पूर्ण रूपमा प्रतिबद्ध छ, हाम्रो ४० करोड युरो आपत्कालीन सहायताले पर्याप्त सुधार एजेण्डालाई समर्थन गर्दछ र गाजाको पुनःप्राप्ति र पुनर्निर्माणका लागि मार्ग प्रशस्त गर्छ।’
ईयूको कार्यकारीले सेप्टेम्बरको शुरुमा ‘प्यालेष्टिनी पुनःप्राप्ति र लचिलोपनका लागि’ व्यापक कार्यक्रमका लागि एक विधायी प्रस्ताव पेश गर्ने बताए।
ब्रसेल्सले यो योजनाको उद्देश्य सन् २०२६ सम्ममा पिएको खाता सन्तुलनमा राख्न मद्दत गर्ने र भविष्यका भुक्तानीलाई सहमत-सुधार माइलस्टोनको कार्यान्वयनमा भएको प्रगतिसँग जोड्ने बताएको छ।
इजरायलमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणले गाजालाई तहसनहस बनाएको बेला इजरायलले कब्जा गरेको वेस्ट बैंकको अर्थतन्त्रमा पनि असर गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।