काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जलन’का बिरामीलाई एक लाख रुपैयाँ उपचार खर्च दिने तयारी थालेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेकै इच्छामा शरीरमा जलनपछि लामो समयसम्म उपचार गराउनुपर्ने विरामीलाई एक लाख दिने कार्यक्रम ल्याउन लागिएको हो।
मन्त्रालयका अधिकारीहरू यसको कार्यविधि बनाउन लागेको छन्। कस्ता प्रकारका जलनका विरामीलाई यो कार्यक्रममा समेट्ने भन्ने कार्यविधि बनाउन अहिले नर्सिङ महाशाखाको नेतृत्वमा काम भइरहेको छ।
सरकारले विपन्न नागरिक औषधि उपचार सेवाअन्तर्गत क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, हेड इन्जुरी अल्जाइमर्स र पार्किन्सन्सलगायतका ९ वटा कडा रोगका विरामीलाई एक लाख बराबरको उपचार साहयता दिँदै आएको छ। यी रोगहरूमा प्रदेश र स्थानीय तहले थप सहायता पनि उपलब्ध गराउँदै आएका छन्।
मन्त्रालय स्रोतका अनुसार विपन्न नागरिक औषधि उपचार कोष कार्यक्रमको कार्यविधि संशोधन गरी जलनका विरामीलाई पनि समेट्न खोजेको बुझिएको छ।
मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘जलनका विरामीलाई पनि एक लाख बराबरको उपचार रकम दिने र त्यसलाई पनि हाल ९ वटा कडा रोगका विरामीलाई दिँदै आएको विपन्न नागरिक औषधि उपचार सेवाअन्तर्गत समेटी अगाडि बढाउने गरी काम गर्न सुझाएको देखिन्छ।'
मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले पनि जलनका विरामीलाई एक लाख रुपैयाँ उपचार सहायता दिनेबारे मन्त्रालयमा प्राम्भिक छलफल भएको जानकारी दिए।
हाल स्वास्थ्य मन्त्रालयले विपन्न नागरिक औषधि उपचार सेवा अन्तर्गत ९ प्रकारको लागि एक र यही बिरामीहरुलाई मासिक ५ हजार भत्ता दिँदै आएको छ।
यस्तै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई ५ लाख रुपैयाँसम्म खर्च दिन्छ। डाइलाइसिस गर्नुपर्ने बिरामीलाई हप्तामा दुईपटक निःशुल्क सेवा दिँदै आएको छ।सरोकारवलाहरूले भने स्वास्थ्यतर्फका यी सेवालाई पनि स्वास्थ्य बीमामा समेटेर लैजानुपर्ने माग गरिरहेको छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।