|

एजेन्सी : सन् १९७८ जुलाई २५, राति साढे ११ बजेको आसपास, बेलायतको म्यानचेस्टरस्थित अस्पतालबाहिर डाक्टर र पत्रकारको घुइँचो थियो। बालिका जन्मिएको समाचार प्रसव कक्षबाट आएपछि हर्षोल्लास छायो।

ती बालिकाको नाम लुईस जोए ब्राउन राखियो। भोलिपल्ट ‘संसारकै पहिलो टेष्टट्यूब बेबीको जन्म’ भनी विश्वभरका अखबारले हेडलाइन बनाए। जुन सफलता चिकित्सा जगत र विज्ञानको निकै ठुलो उपलब्धि हो। 

स्त्रीरोग विशेषज्ञ प्याट्रिक स्टेप्टो र फिजियोलोजिस्ट रोबर्ट इडवार्डसले यो सफलता हासिल गरेर संसारलाई चकित बनाएका थिए। उनीहरूले १० वर्षमा २८२ पटकको असफलतापछि यो सफलता हासिल गरेका थिए। इडवार्डलाई २०१० मा फिजियोलोजीतर्फको नोबेल पुरस्कारले सम्मान गरियो।

लामो प्रयासपछिको सफलताको त्यो दिन र आजको विश्वमा धेरै भिन्नता आइसकेको छ। अहिले बर्सेनी पाँच लाख भन्दा धेरै टेष्टट्यूब बेबी जन्मिन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार, २०१८ सम्म संसारमा ८० लाखभन्दा बढी टेष्टट्यूब बेबी जन्मिएका थिए। यो सिलसिला तीव्ररूपमा बढिरहेको छ। 

एकातिर, प्राकृतिकरूपमा सम्भावना नभएका दम्पतीलाई विज्ञानले आमाबाबु बन्ने सुख दिएको छ भने अर्कोतिर संसारभरमा घट्दो प्रजननदरलाई लिएर चिन्ता बढाइदिएको छ। प्रजननदर घट्दै जाँदा संसारमा आईभीएफको बजार बढिरहेको छ। एलाइड मार्केट रिसर्चको एक रिपोर्टअनुसार २०२३ सम्म विश्वव्यापीरूपमा आईभीएफ सेवाको ब्यापार १० खर्ब ६० अर्ब रुपैयाँ थियो, जुन २०३३ सम्म बढेर ४० खर्ब पुग्ने अनुमान गरिएको छ।

बाँझोपन (इनफर्टिलिटी) को कारण

पुरुष र महिला दुवैमा प्रजननदरमा ह्रास आउनुका कारण फरक-फरक हुने चिकित्सक बताउँछन्। स्त्री र पुरुषमध्ये एक वा दुवैजनामा बाँझोपनको समस्या हुँदा प्राकृतिकरूपमा सन्तान प्राप्त गर्न सम्भव नभएको अवस्थामा आईभीएफको सहायता लिएर बच्चा जन्माउन सक्छन्। 

प्रजनन क्षमतामा ह्रास आउनुका कारणमध्ये पर्यावरण पनि एक रहेको वैज्ञानिक बताउँछन्। पर्यावरणमा रहेका किटनाशक, रसायन र विकिरणले प्रजनन क्षमतालाई प्रभावित गर्न सक्ने बताइएको छ। यसबाहेक केही ब्याक्टेरियाको संक्रमण, उच्च रक्तचाप या डिप्रेसनको उपचारमा प्रयोग हुने औषधि पनि कारण हुन सक्छन्। 

जलवायु परिवर्तनलाई जनस्वास्थ्यका लागि सबैभन्दा गम्भीर खतरामध्ये एक मानिएको छ। जलवायु परिवर्तनले ल्याएको प्रजनन स्वास्थ्य संकट विश्वका विभिन्न क्षेत्रमा भिन्न-भिन्न देखिन सक्छ। कैयौँ मानिसमा पर्यावरणसम्बन्धी चिन्ता रहेको देखिन्छ, जसले तिनीहरूको यौन र प्रजनन जीवनलाई प्रभावित गर्न सक्छ।

जलवायु परिवर्तनका लागि अन्तर सरकारी प्यानल (आईपीसीसी) को रिपोर्ट २०२२ मा उत्तरी अमेरिकामा गर्मी, बाढी, आँधी, जंगलमा आगलागी जस्ता मौसमी कारणले खाद्य असुरक्षा, पारिस्थितिकीय प्रणाली (वायु र जलको गुणस्तर), सीमित पानीको आपूर्ति र कम आर्थिक गतिविधिको बढ्दो जोखिमलाई दर्शाएको छ। 

किशोरावस्था एवं वयस्कहरूमा विशेषगरी पारिस्थितिकीय चिन्ता र जलवायु संकटले प्रभाव पार्ने सम्भावना हुने र यसले उनीहरूको दैनिक जीवनलाई प्रभावित गर्न सक्ने अनुसन्धानकर्ता बताउँछन्। 

एक अध्ययनका अनुसार जैविक विविधतामा असर गरिरहेको जलवायु परिवर्तनबाट बाँझोपनमा वृद्धि भइरहेको छ। तापक्रम बढ्नुका साथै जीवहरूको प्रजनन क्षमतामा कमि आइरहेको छ र तिनीहरूमा बाँझोपन बढिरहेको छ। युनिभर्सिटी अफ लिभरपुलका पर्यावरणविद्ले जलवायु परिवर्तनले केही प्रजातिमा गर्मीका कारण हुने पुरुष बाँझोपन थप बढाइदिएको बताएका छन्। 

हाम्रो पर्यावरणमा रहेका रसायनलाई बढ्दो बाँझोपनको कारण बताइएको छ। अनुसन्धानकर्ताका अनुसार, जलवायु परिवर्तन पुरुष प्रजनन क्षमताका लागि बढी खतरा हुनसक्छ। तापक्रमले शुक्राणु उत्पादनमा बाधा पुर्‍याएर पुरुष प्रजनन क्षमतालाई प्रभावित गर्न सक्ने अनुसन्धानकर्ता बताउँछन्। पुरुषमा कम शुक्राणुको संख्याका कारण बाँझोपन देखिने गरेको छ। दम्पतीले गर्भाधारणको प्रयास गर्दा तापक्रमले हानिकारक भूमिका निभाउन सक्ने द युनिभर्सिटी अप इष्ट एग्लियाका मुख्य लेखक किर्स सेल्स बताउँछन्। 

हिट वेभ्स अर्थात् तातो लहरले प्रजनन क्षमता आधा गराइदिएको छ। शुक्राणु उत्पादनमा गिरावट आएको छ। पुरुष बाँझोपनको जाँच गर्दा कम गतिशिलता र असामान्य आकारसँगै शुक्राणुको संख्या कम भएको पाइन्छ। वैज्ञानिकहरुका अनुसार, हिट वेभ्सको अवस्था अर्थात् लगातार पाँच दिनसम्म अपेक्षित उच्च तापक्रमभन्दा ९ देखि १३ डिग्र बढी तापक्रमले पुरुष प्रजनन क्षमतामा क्षति पुग्न सक्छ।

हिटवेभ्सले पुरुषको प्रजनन क्षमता र शुक्राणु प्रतिस्पर्धात्मकतालाई कम गरिदिने र पुरुषलाई लगभग बाँझो बनाउन सक्ने अनुसन्धानकर्ताको दाबी छ। शुक्राणुको कोशिकाहरू शरीरको सबैभन्दा संवेदनशील कोशिका हुन्छन्। 

‘ग्लोबल वार्मिङ’बाट विशेषगरी दुई तरिकाले प्रजनन क्षमतालाई सोझै प्रभावित गर्न सक्छ। तातो मौसमले यौन व्यवहारलाई प्रभावित पार्न सक्छ भने तापक्रमले शुक्राणुको गतिशीलता र मासिक धर्म जस्ता प्रजनन स्वास्थ्यका कारकलाई नकारात्मक असर पुर्‍याउने अनुसन्धानकर्ता बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.