काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू धेरै बोल्नेभन्दा पनि काम गर्ने मान्छे भएको बताएका छन्।
बिहीवार काठमाडौँ महानगरपालिका-८ को प्रशासनिक भवन उद्घाटनका अवसरमा प्रमुख शाहले धेरै बोल्नेभन्दा पनि काम गर्न जरुरी रहेको बताए। प्रमुख शाहले कार्यक्रमहरूमा लामो सम्बोधन र भाषण गरेर समय लिनेभन्दा काममा समय दिनुपर्ने सुझाव दिए।
उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताए। उनले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको उल्लेख गरे।
उनले पशुपति क्षेत्रका सडकहरू चाँडो र तीव्र गतिमा बन्दै जाने विश्वास रहेको सुनाए। उनले विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको सुनाए।
उनले सम्पदामैत्री क्षेत्र‚ सम्पदामैत्री सडक र घर तथा भवनहरू बनाउनका लागि काठमाडौँ महानगरले बजेटसमेत व्यवस्था गरेको जानकारी गराए।
प्रमुख शाहले सम्पदा क्षेत्रका घरहरू सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने बताउँदै सम्पदा शैलीका सडक, घर र भवनहरू भए पर्यटक आकर्षित हुने उल्लेख गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।