|

ललितपुर : बागमती प्रदेश सरकारको खेलकुद मन्त्रालयको जिम्मेवारी खेलकुद क्षेत्रमा लामो योगदान गरेका व्यक्ति मीनकृष्ण महर्जनले पाएका छन्। कराँतेका प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री र विभिन्न खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउन सफल महर्जनले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। 

एमालेसँग मिलेर बनाएको बागमती सरकारमा मुख्यमन्त्री रहेका बहादुर सिंह लामाले कराँतेसहित खेलकुदको विकासमा खटिरहने मीनकृष्णलाई युवा तथा खेलकुद मन्त्रालय सुम्पिदिएका छन्। 

‘ठूलो संघर्षपछि खेलकुदको विकास गर्ने रहर पूरा गर्न पाउँछु जस्तो लागेको छ’,  उनले थाहाखबरसँग भने, ‘काम देखाउन भने बाँकी छ, म खेलकुद क्षेत्रमा काम गरेरै देखाउँछु।’ 

जनताले पत्याएको मान्छे 

मीनकृष्ण सुरो हक्की र निडर स्वभावका व्‍यक्तित्वका रूपमा  चिनिन्छन्। उनी भन्छन्, 'अहिलेसम्म जेल पर्‍या छैन, नचाहिने काम गर्‍या छैन।  बाल्यकालमा कोही कसैलाई पिटेँ होला, तर्साएँ होला। अहिले राजनीतिमा लागेयता मैले केही नराम्रो गरेको छैन।'

आफ्नो राम्रो कामकै परिणामले पार्टीले अवसर र जनताले मत दिएको उनी बताउँछन्। राज्यले भाषणमा खेलाडीका कुरा गरे पनि व्यवहारमा खासै गर्न नसकेको उनी स्वीकार्छन्। त्यसका लागि आफूले अवसर पाएकोले खेलाडीलाई यहीँ बसेर राम्रोसँग जीवनयापन गराउने वातावरण बनाउन आफूले सक्दो काम गरेर देखाउने उनले प्रतिबद्धता व्‍यक्त गरे। 

खाली हुँदै गएका प्रशिक्षकहरूका ठाउँमा खेलाडीबाटै मूल्याङ्कन गर्दै प्रशिक्षकका रूपमा विकास गर्दै लगिने उनले बताएका छन्। ‘यो काम त्यति सजिलो छैन, हामीसँग बजेट थोरै छ’, उनले भने, ‘मुख्यमन्त्रीसँग छलफल गरेर यो काम अगाडि बढाउनेछु। देशभर मेरो अधिकार क्षेत्र नभए पनि शुरुमा बागमती प्रदेशमा थालनी गरेर अरूसामु नमुना प्रस्तुत गर्नेछु।’ 

गोदावरी बहुउद्देश्यीय रंगशालाका लागि बहुवर्षीय बजेट

युवा तथा खेलकुदमन्त्रीको पद बहाली गरेलगत्तै उनले गोदावरी नगरपालिका वडा नम्बर १० स्थित गोदावरी बहुउद्देश्यीय रंगशालाका लागि बहुवर्षीय बजेट दिएर निर्माण सम्पन्न गर्ने पहिलो निर्णय गरेका छन्।

गोदावरी नगरपालिकासँग समन्वय गरेर प्रदेशले यो रंगशालालाई देशकै नमुना बनाउने उनले बताए। ‘निर्माण सम्पन्न गर्न ३० करोड रुपैयाँ जति लाग्ला वर्षको ५/६ करोडका हिसाबले बजेट हाल्ने तयारी छ’, उनले भने। 

क्यालेन्डर बनाएर काम 

मन्त्री मीनकृष्णले वर्षभरी गर्ने काम क्यालेन्डर बनाएर गर्ने बताएका छन्। खाली भएका स्थानमा प्रशिक्षक नियुक्ति, खेलाडीलाई दिन सुविधा, उनीहरूको सम्मानदेखि लिएर खेलाइने विभिन्न प्रतियोगितासम्म समेटिने उनी बताउँछन्। आफ्नो काम अरू प्रदेश र संघका लागि नमुना बनाउने प्रयास उनको छ। 

कराँतेका सुरुवाती दिन 

ललितपुरको तत्कालीन चापागाउँ गाविस चापागाउँमा जन्मिएका मीनकृष्ण महर्जन १२ वर्षको उमेरदेखि खेल क्षेत्रमा लागेका थिए। ब्रुसुलीको एक्सनबाट प्रभावित मीनकृष्ण त्यसपछि विस्तारै कराँतेतर्फ हानिए।

कराँतेका तत्कालीन चापागाउँकै गुरु राजपाल कर्माचार्यबाट उनले सितेरियो करातेतर्फ पाइला चाले। कर्माचार्य त्यतिबेला बागबजारमा गएर कराते सिकेर आउँथे। 

१–२ वर्ष राजपालसँग सिके पनि २०४३ सालबाट मीनकृष्णले दाबा गुरुङसँग सिक्ने थाले। कहिले दशरथ रंगशाला त कहिले बागबजारमा उनले प्रशिक्षण लिइरहेका हुन्थे। 

अहिलेजस्तो सजिलो यातायातको साधन, बाटो र खेललाई हेर्ने दृष्टिकोण सहज थिएन। रंगशाला घरबाट दूरीका हिसाबले १५ किलोमिटर भए पनि न त सजिलो बस हुन्थ्यो न अरू सवारीसाधन नै। उनी बिहानै साढे ४ बजे नै घरबाट प्रशिक्षण लिन जान्थे। जे भेट्यो त्यसमै जाने गरेका थिए।

प्राय प्रशिक्षण सकेर घरमै खाना खान उनी आउने गर्थे। कहिलेकाहीँ मात्र बाहिरै खाने गरेको उनी सुनाउँछन्। ‘कहिले साइकलमा जान्थेँ, कहिले भाडाको ट्याक्सीमा त कहिले बसमा जाने गरेको थिए‚’ उनले भने‚ ‘धेरै दुख कष्ट भोगेर आफूले २०४६ सालतिर ब्ल्याकबेल्ट लिएको हुँ।  बुबा हरिकृष्ण महर्जन र आमा दातामाया महर्जनका ५ भाइ छोरामा माहिलो छोरा मीनकृष्ण हुन्। उनकी १ जना दिदी छिन्। 

 खेलाडी हुँदा जितेका पदक

मीनकृष्णले सबैभन्दा पहिले  विसं २०४५ सालमा दशरथ रंगशालाको कभर्डहलमा भएको राष्ट्रव्‍यापी कराते प्रतियोगितामा ३५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए। 
त्यसपछि कराँतेका अन्य प्रतियोगितामा पनि उनी निराश बन्न परेन। स्वदेश र विदेशका विभिन्न प्रतियोगितामा उनले पदक ल्याइरहे। 
सन् १९८९ मा दिल्लीमा भएको दोस्रो दक्षिण एशियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जिते भने विसं २०४६ सालमा चितवनमा सम्पन्न राष्ट्रिय कराँतेमा ४० केजी तौल समूहमा स्वर्ण पदक जिते। 
बंगलादेशको ढाकामा सन् १९९० मा दक्षिण एशियाली कराँते च्याम्पियनसीपमा घरेलु बंगाली खेलाडीलाई स्तब्ध बनाउँदै उनले स्वर्ण पदक जिते। 
विस २०५० सालमा धरानमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगितामा ४० केजी तौलमा स्वर्ण जितेका मीनकृष्णले स्वदेशमै भएको तेस्रो दक्षिण एशियाली कराते प्रतियोगितामा पनि स्वर्ण पदकबाट तल झर्नु परेन। 
त्यसपछि थाइल्याण्डको बैंककमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगिताको ५० केजी तौलमै उनी दोस्रो भए। त्यही ताका धनगढीमा भएको राष्ट्रव्‍यापी कराते प्रतियोगितामा ५० केजीमै स्वर्ण पदक उनले आफ्नो नाममा लेखाए।

सागमा १४ स्वर्ण ल्याउँदाका प्रशिक्षक 

विस २०५५ सालदेखि मीनकृष्णले प्रशिक्षकको जिम्मेवारी सम्हाले। २०५६ सालमा काठमाडौंमा सम्पन्न आठौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागका दौरान नेपालले ३१ वटा स्वर्ण पदक ल्याउँदा कराँतेबाट मात्रै १४ वटा स्वर्ण पदक जितेको थियो।

जतिबेला कराँतेका प्रशिक्षक उनै मीनकृष्ण रहेका थिए। उनले ठाउँ ठाउँमा करातेको प्रशिक्षण दिएका थिए। महालक्ष्मी डोजो, चापागाउँ डोजो लगायतबाट धेरै खेलाडी उनले उत्पादन गरे। 

पदकधारीहरू उनकै चेलाचेली 

कराँतेका २ पटकका दक्षिणी एशियाली स्वर्णधारी दीपक श्रेष्ठ, सागका अन्य स्वर्णपदक विजेता रवि मर्हजन, नीता राई, प्रिति डंगोल, गंगाराम महर्जन, विनोद शाक्यसहित रजत पदक विजेताहरु मुकुन्द महर्जन, विनोद मर्हजन, अमृता शाक्य लगायतका खेलाडी उनकै चेलाचेलीहरु हुन्। 

अन्तर्राष्ट्रिय रेफ्री 

सितेरियो कराँतेका उनी अन्तर्राष्ट्रिय रेफ्री पनि हुन्। प्रकाश मोहन धौवडेलपछि अन्तर्राष्ट्रिय रेफ्री कोर्स पूरा गर्ने उनी दोस्रो नेपाली हुन्।

सन् २००२ को वुसान एशियाड र श्रीलंकामा भएको १० औँ सागमा उनी अन्तर्राष्ट्रिय रेफ्रीका रुपमा रहेका थिए। 

किक बक्सिङको पनि प्रशिक्षक 

जापान र थाइल्याण्डमा २ महिने किक बक्सिङ प्रशिक्षकको तालिम लिएका उनले फ्रान्समा भएको अन्तर्राष्ट्रिय किक बक्सिङमा प्रशिक्षकका रूपमा रहेका थिए। 

राखेपको कोषाध्यक्ष 

मीनकृष्ण विस २०६६ सालमा कांग्रेसको कोटामा राष्ट्रिय खेलकुद परिषद् राखेपको कोषाध्यक्ष भए। २ वर्ष राखेपमा बसेका उनले सरकार परिवर्तनसँगै नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए। उनी कोषाध्यक्ष हुँदा राखेपको सदस्यसचिव हरिबाबु चौधरी थिए। उनी नेपाल कराते महासंघको वरिष्ठ उपाध्यक्ष र केही समय ब्ल्याक बेल्ट कमिटीका अध्यक्ष पनि थिए। 

राजनीतिमा इन्ट्री 

मीनकृष्णको राजनीतिमा प्रवेश १० औँ सागको आसपासमा भएको थियो। उनी सुरुमा नेपाली कांग्रेसको युवा संगठन तरुण दलको खेलकुद विभागको केन्द्रीय सदस्य भएका थिए।

१० वर्ष तरुण दलमै रहेका उनी पार्टीको ११ औँ माहाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका थिए। त्यसपछि भएका १२ औँ, १३ औँ र १४ औँ महाधिवेशनमा महासमिति सदस्य भए। 

बागमती प्रदेश सभामा प्रवेश 

विसं २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट ललितपुर जिल्ला निर्वाचन क्षेत्र १ को प्रदेश ख मा चुनाव लडे।

त्यतिबेला नेकपा एमालेका उम्मेद्वार चेतनाथ संजेलसँग उनी पराजित भए। फेरि २०७९ सालमा भएको बागमती प्रदेश सभाको अर्को निर्वाचनमा उनी सोही क्षेत्रमा एमालेका संजेललाई नै हराएर प्रदेशसभा विजयी बनेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.