विज्ञ भन्छन् : दीर्घकालीन असर न्यूनीकरणतर्फ ध्यान पुगेन
विज्ञ भन्छन् : दीर्घकालीन असर न्यूनीकरणतर्फ ध्यान पुगेन
काठमाडौँ : बालीनालीमा प्रयोग हुने विषादी एवं किटनाशकले मानव स्वास्थ्य र वातावरणमा असर गर्दै आएको छ।
संसारमा हरेक वर्ष ४ करोड मानिसलाई विषादीले असर गरेको अनुमान गरिन्छ। विषादीकै कारण वर्षेनी करिब ३ लाख ५५ हजार मानिसको मृत्यु हुने जनाइएको छ।
खाद्यान्न तथा बोटविरुवाको वृद्धि विकास एवं उत्पादन, भण्डारण र गुणस्तरमा ह्रास ल्याउने शत्रु कीरा, रोग, झारपात तथा अन्य जीवको असर न्यूनीकरण तथा रोकथामका लागि रसायनयुक्त विषादीको प्रयोग गरिन्छ। तर खतरनाक बिषादीलगायतका रसायनको बढ्दो प्रयोगले मानव स्वास्थ्यसँगै वातावरणका लागि जोखिम र चुनौती थपिदिएको छ।
विषादीको प्रभाव
विषादी लक्षित समस्या समाधान गर्नेभन्दा मानव, वन्यजन्तु, पानीका श्रोत, माटो तथा हावामा मिसिरहेका छन्।
रासायनिक विषादीले माछा, भ्यागुता, छेपारा, चरा, शिकारी तथा परजीवी कीरा, सुक्ष्म जीवसँगै घरपालुवा एवं जंगली जनावरमा समेत प्रतिकूल प्रभाव पार्ने विज्ञहरू बताउँछन्।
मौरीलगायत परागसेचकको संख्यामा कमी आउनाका कारण कृषि उत्पादनमा ह्रास तथा कृषि पर्यावरणमा रहेका मित्र जीवहरूको कमी र शत्रुजीवको विषादी पचाउने क्षमता विकास हुँदा विभिन्न रोगकीराहरू महामारी बनेर आउने गरेका छन्।
ओजोन तहको विनासमा विषादीको भार ६ प्रतिशत रहेको तथ्याकंहरूले देखाएको छ। विषादीको अत्याधिक प्रयोगले माटो, जल र वायु प्रदूषण बढाउने, जैविक विविधतामा ह्रास आउने, रोग कीराको पुनरुत्थान, शत्रु जीवमा रुपान्तरण, खाना तथा वातावरणमा विषादीको अवशेष रहने, मौसम परिवर्तन, उष्णीकरण तथा ओजोन झिल्लि पातलो हुने जस्ता वातावरणीय असरहरू देखिने वातावरणविद् बताउँछन्।
नियन्त्रण गर्न जरुरी
रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्य, जीवजन्तु र वातावरणमा पर्न जाने अल्पकालीन र दीर्घकालीन रुपमा नकारात्मक असर न्यूनिकरणतर्फ पर्याप्त ध्यान पुग्न सकेको छैन।
वातावरणविद् भूषण तुलाधर बालिनालीमा प्रयोग हुने बिषादीले किरा मार्ने मात्र नभई मानवस्वास्थ्य र वातावरणमा पनि असर गर्ने बताउँछन्। तरकारी, फलफूल तथा अन्य बालीमा विषादी छर्किँदा वरपरको हावामा फैलिएर स्वासप्रश्वासका माध्यमबाट मानव शरीरमा प्रवेश गर्छ।
‘बिषादी हालेको खाद्यवस्तु खाँदा, असर गर्छ, उनले भने, 'विषादीको प्रयोगले पानी, माटो, वायु अर्थात हावा प्रदूषित भई वातावरणीय प्रभाव सिर्जना गर्छ र अन्य जीव र पर्यावरणीय प्रणालीलाई प्रभावित गर्दछ।’
मानव शरीर एवं वातावरणलाई हानी पुर्याउने विषादीसँगै अन्य रसायनहरूको आयात, प्रयोगमा नियन्त्रण गर्न जरुरी रहेको भन्दै उनले खाना र पानीबाट सिधै जाने वा दीर्घकालीन असर पुर्याउने विषादी अर्थात टक्सिक केमिकल अनुगमन गरेर रोक लगाउन आवश्यक देखिएको बताए।
‘बजारमा विषादी भित्रीएका छन् या छैनन्, प्रयोग भए/नभएको, त्यसबाट परेको असर सम्बन्धमा अनुगमन गरी तोकिएको मापदण्ड एवं नीति नियमहरू कार्यान्वनय गर्न जोड दिनुपर्नेछ', वातावरणविद् तुलाधरले भने, ‘नयाँ केमिकलहरु पनि भित्रिरहेका छन्। त्यसमा मौजुदा नीति नियम र मापदण्ड बेलाबेला समिक्षा गरी परिमार्जन गर्नुपर्ने आवश्यकता छ।’
राज्य, यस मातहतका निकायसँगै स्वयं किसान पनि तरकारी, फलफूल एवं अन्य अन्नबालीको उत्पादन बढाउन केन्द्रित देखिन्छन्। तर बिषादीको प्रयोगको व्यवस्थापनलाई वेवास्ता गर्दा मानव स्वास्थ्य, वातावरणमा प्रत्यक्ष असर परिरहेको छ ।
‘विषादी एवं रासायनिक मलहरुको प्रयोग गरी उत्पादन बढाउन सबै लागेका छौँ, तर दीर्घकालीन असर हेर्दैनौँ', उनले भने, 'यसले पर्यावरण, माटोको गुणस्तर, मानव स्वास्थ्यमा पर्ने असर नहेर्दा ठूलो चुनौती उत्पन्न गरिदिएको छ।’
विषादीबारे सचेतना जरुरी
विषादीको सुरक्षित प्रयोग तथा व्यवस्थापनका सम्बन्धमा किसानहरू पनि सचेत नभएको देखिन्छ। बालीनालीमा रोग किरा लागेपछि त्यसलाई मार्न बजारमा जे पाइन्छ त्यो प्रयोग गरिहाल्ने, यसको प्रयोग कहिले, कसरी, कहाँ गर्ने? भनेर सावधानी अपनाउने नगरेका पाइन्छ।
विषादी हालेपछि कति दिनपछि फल काट्ने र प्रयोग गर्ने भन्ने मापदण्ड पालना नगर्दा जोखिम बढेको वातावरणविद् तुलाधरले बताए। सर्वेक्षणअनुसार ५७ प्रतिशत मानिसलाई मात्र विषादीबारे जानकारी भएको र तिमध्ये ५५ प्रतिशतले सावधानी नअपनाएको पाइएको छ।
उन्नत तरिकाले विकासे खेती गर्ने प्रचलनसँगै विषादीको प्रयोग बढेको छ। राष्ट्रिय कृषि गणना २०७६ अनुसार ४५ प्रतिशत कृषक परिवारले धानमा बिषादीको प्रयोग गरेका छन्, जसमध्ये सुरक्षित बिषादी प्रयोग गर्ने ३९ प्रतिशत थिए। तरकारीमा बिषादीको प्रयोग गर्ने २७ प्रतिशतमध्ये सुरक्षित बिषादी प्रयोग गर्ने ५३ प्रतिशत छन्। मकैमा २३, गहुँमा २८ र आलुमा ३६ प्रतिशत कृषक परिवारले विषादी प्रयोग गरेको देखिन्छ।
बिषादीको प्रयोग
सन् १९५२ मा मलेरिया नियन्त्रणका लागि भित्र्याइएको विषादी कृषि उत्पादनमा प्रयोग हुन थालेपछि यसको मात्रा हरेक वर्ष बढ्दै गएको देखिन्छ। अन्य देशको तुलनामा प्रतिहेक्टर विषादीको प्रयोग निकै कम (३९६ ग्राम खास विष) रहे पनि करिब ८५ प्रतिशतभन्दा बढी विषादी तरकारीबालीमा प्रयोग हुने गरेको पाइएको बाली संरक्षण निर्देशनालयले उल्लेख गरेको छ।
नेपालमा किटनाशक (इन्सेक्टिसाइड), सुलसुले नाशक, ढुसी नाशक (फंगीसाइड), मुसानाशक (रोडेन्टिसाइड) जैविक विषादी, झारपातनाशक (हर्बिसाइड) बिषादीको प्रयोग हुँदै आएको छ।
कीराहरूका कारण एशिया क्षेत्रमा खाद्यान्न उत्पादकत्वमा १४ प्रतिशत क्षति पुग्ने गरेको छ। नेपालमा धान खेतीमा मात्र वर्षेनी ३० प्रतिशत नोक्सानी कीराहरूको कारण हुने गरेको अनुमान गरिन्छ।
किटजन्य रोगले गर्दा संसारभरको कृषि उत्पादन वर्षेनी करिब १४.५ प्रतिशतले घट्ने गरेको छ। नेपालमा मुसाले बाली भित्र्याउनुअघि कुल उत्पादनको ३ प्रतिशत र सञ्चित अनाजमा ७ प्रतिशले नोक्सानी पूर्यएको छ।
मानव स्वास्थ्यमा असर
विषादी मान्छेको शरीरमा श्वास प्रश्वास प्रक्रिया, छालाको सम्पर्क तथा खानाको माध्यमबाट प्रवेश गर्छ। विषादीको प्रभाव महिला र केटाकेटीमा धेरै पर्ने गरेको बताइन्छ।
विषादीकै कारण तत्काल देखिने असरका रुपमा मान्छे मुर्छा पर्ने, झाडा पखाला, कम्पन, दृष्टी कमजोर हुनेदेखि मृत्युसम्म हुने गर्छ। त्यस्तै अन्धोपना, क्यान्सर, ट्यूमर, नपुंसकता, बाँझोपन, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अंगहरूमा असर, नशा सम्बन्धी समस्या, पक्षघात जस्ता दीर्घकालीन समस्या ल्याउने गर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।