|

काठमाडौँ : कक्षा-१२ परीक्षाको नतिजा सुधार हुँदै गएको देखिएको छ। आज (शुक्रवार) प्रकाशित नतिजाअनुसार परीक्षामा सहभागी भएका ४ लाख ९१ हजार ६१ जना विद्यार्थीमध्ये करिब ५३ प्रतिशत उत्तीर्ण भएका छन्।

परीक्षामा सहभागीमध्ये ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्। नतिजामा ९ हजार ५९१ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन्। ३.२१ देखि ३.६० जीपीए ४६ हजार ८९३ जनाले ल्याएका छन्।

७८ हजार ७५ जनाले २.८१ देखि ३.२० जीपीए ल्याएका छन्। जीपीए २.४१ देखि २.८० ६१ हजार ३६ जनाले ल्याएका छन्। ८ हजार २४० जनाले २.०१ देखि २.४० जीपीए ल्याए। १२ जनाले २.६१ देखि २.० जीपीए ल्याए।

२०८० मा कक्षा–१२ को नतिजा साउन ३० गते सार्वजनिक भएको थियो। उक्त परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएका थिए। त्यसैगरी ४९.०९ प्रतिशत भने नन ग्रेडेड अर्थात फेल भएका थिए। 

परीक्षा बोर्डका अनुसार २०७९ सालको कक्षा १२ परीक्षामा सहभागीमध्ये ४ हजार १७९ जनाले ए–प्लस ल्याएका थिए। १ लाख ८८ हजार ४१० जना नन ग्रेडेट भएका थिए। 

२०७८ सालको कक्षा १२ को परीक्षा नतिजा मंसिर १७ गते सार्वजनिक भयो। ४६ दशमलव ०४ प्रतिशत उत्तीर्ण भए। बोर्डका तत्कालीन सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका थिए।

४८ हजार २३९ जनाले ए ग्रेड ल्याए भने बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी थिए। बी ग्रेड ल्याउनेमा ९९ हजार ५३७ थिए। 

बोर्डले लागू गरेको लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार परीक्षाको नतिजाअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याएमा विद्यार्थीको नतिजा एनजी अर्थात् अनुत्तीर्ण आउँछ।

‘केही प्रतिशत सुधार भएको छ’

परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले कक्षा-१२ को नतिजामा सुधार हुँदै गएको बताए।

उनले आज नतिजा सार्वजनिक गर्दै भने, ‘विगतभन्दा उत्तीर्ण दर केही प्रतिशत बढेको छ, विगतमा भन्दा राम्रो देखियो तर धेरै फरक भने छैन। विषयगत हिसाबले पनि राम्रो छ तर ठूलो राम्रो भन्न सकिँदैन।’ उनले अझै शिक्षण सिकाइ प्रणालीलगायतमा सुधार आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.