|

काठमाडौँ : वर्षातको समयमा हरेक वर्ष नेपालमा डेंगु संक्रमण जनस्वास्थ्यको एक प्रमुख चुनौती बन्दै आएको छ। पछिल्लो ३ वर्षको संक्रमण हेर्ने हो भने हरेक वर्ष फरक-फरक जिल्लामा डेंगु संक्रमण तीव्र गतिमा फैलिएको देखिन्छ।

सन् २०२२ मा काठमाडौँ उपत्यकाको ललितपुरमा तीव्र गतिमा फैलिएको डेंगु संक्रमण सन् २०२३ मा सुनसरीमा त्यसैगरी फैलियो। यस वर्ष फेरि काठमाडौँउपत्यकामा संक्रमणको तीव्रता बढी रहेको छ।

विज्ञहरुका अनुसार नेपालमा हालसम्मको संक्रमणको अवस्था हेर्ने हो भने एक वर्ष तीव्र रुपमा संक्रमण देखिएको क्षेत्रमा अर्को वर्ष कम देखिएको छ तर एक वर्षपछि पुनः सो ठाउँमा संक्रमण छिटो बढेको देखिन्छ।

यसको प्रमुख उदाहरणका रुपमा हाल काठमाडौँ उपत्यकामा देखिएको संक्रमणलाई लिन सकिन्छ। सन् २०२२ मा तीव्र संक्रमण फैलिएको काठमाडौँमा सन् २०२३ मा खासै देखिएन तर यो वर्ष काठमाडौँको संक्रमण दर बढ्दो छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार हाल काठमाडौँको संक्रमण दर १२ प्रतिशतभन्दा माथि रहेको छ भने संक्रमितको संख्या पनि २ सयभन्दा माथि छ।

प्रायः अगस्ट/सेप्टेम्बरमा डेंगु संक्रमण दर धेरै हुने गर्छ तर हरेक वर्ष सरकार डेंगु संक्रमण रोकथाम गर्न पछि परेको देखिन्छ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने हरेक वर्ष संक्रमण नियन्त्रणका लागि काम गरिरहेको दावी गर्दै आएको छ। जसका लागि यो वर्षमात्र मन्त्रालयले डेंगु नियन्त्रण गर्न स्थानीय तह र प्रदेशमा द्रुत प्रतिकार्य टोली (आरआरटी) परिचालन गरी काम गरिरहेको दावी गरेको छ।

सातै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य सेवा निर्देशनालयअन्तर्गत रहने गरि इन्टोमोलोजिकल ल्याब स्थापना भई सातै प्रदेशका तोकिएका अस्पतालमा (सेन्टिनेल साइट) सर्भिलेन्स भइरहेको मन्त्रालयले जनाएको छ।

गत वर्ष डेंगुका विरामी अत्यधिक देखिएका जिल्लाहरु सुनसरी, तनहुँ, झापा, धादिङ, कास्कीलगायत १३ जिल्लाका १२६ वटा स्थानीय तहका प्रमुख/उप-प्रमुख, स्वास्थ्य संयोजक तथा सरोकारवालाहरुसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरी डेंगु प्रतिकार्यका अल्प तथा दीर्घकालीन योजना तथा नीति निर्माण सम्बन्धमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले पनि डेंगुको बढ्दो संक्रमण घटाउन संघ, प्रदेश, स्थानीय तहमातहतका निकायसँगको समन्वय भइरहेको जनाएका छन्।

‘डेंगु निदानका लागि चाहिने रोग निदान किट, औषधि उपचार र अन्य आवश्यक सामग्रीसमेत तयारी अवस्थामा राखिएको छ भने प्रदेश, स्थानीय तहमातहतका निकायसँग समन्वय भइरहेको छ‚’ उनले भने।

काठमाडौँमा संक्रमण रोक्न काठमाडौँ महानगरपालिकाले पनि विभिन्न अभियान चलाएको छ भने महानगरपालिकाले विपदजन्य जोखिम र डेंगु तथा हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा शुरु गरेको छ।

संक्रमण फैलन दिन यसो गर्नु पर्छ

डेंगु संक्रमण नियन्त्रणको लागि सबैभन्दा पहिले संक्रमण गराउने लामखुट्टेकोालार्भा नै नष्ट गर्नुपर्ने बताउँछन् जनस्वास्थ्यविदसमेत रहेका  संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन।

उनका अनुसार मनसुन शुरु भएसँगै डेंगु संक्रमण गराउने लामखुट्टेको संख्या बढ्ने हुँदा सबैभन्दा पहिले यस्ता लामखुट्टेका लार्भा हुर्कनै नदिइ नष्ट गर्न सकियो भने मात्रै डेंगु संक्रमण धेरै रोकथाम गर्न सकिन्छ।

‘मनसुनको कारण अहिले काठमाडौँमा लामखुट्टेका लार्भा हुर्कँदो छन्। अबको केही दिनमा यी लार्भा वयस्क भएर डेंगु भाइरस सार्न सक्षम हुनेछन्‚ तसर्थ अबको केही साता डेंगु संक्रमण बढ्ने पक्का छ। घर, कार्यालय वा सार्वजनिक स्थानमा हुर्किरहेका लार्भा नष्ट गर्न सकियो भने पनि धेरै हदसम्म संक्रमणबाट बच्न सकिन्छ‚’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.