|

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीका एकादेव भट्टराई। उमेरले ५४ वर्ष पुगे पनि जाँगर युवाको भन्दा कम छैन। सबेरैदेखि राति अबेरसम्म निकै व्यस्त देखिन्छन्।

गोठमा गाईभैँसी छन्। तिनै गाईभैँसीको स्याहार गरेर उनको दैनिकी बितिरहेको छ। घरमा आफू र श्रीमती मात्र छन्। दुवैजना त्यही गाईभैँसीको रेखदेख गर्छन्। 

चार भैँसी र दुईगाई छन्।  भैँसी लैना हुन्। गाई ब्याउनी छन्। तर दूध दिन्छन्। दूध बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन्।

घरमा पाँच जनाको परिवार। छोराछोरीको लालनपालन र शिक्षादिक्षाको लागि आर्थिक अभाव भएपछि उनी जागिरका सिलसिलामा २०६२ सालतिर खाडीमुलुक दुबई पुगे। कवाडी कम्पनीमा काम पाए। मासिक नेपाली ५० हजार तलब पाउँथे। काम भने कम्तीमा १५ घण्टा गर्नुपर्थ्यो। चर्को घाममा बसेर काम गर्नुपर्ने बाध्यता थियो। 

जसोतसो ११ वर्ष काम गरे। २०७३ सालमा उनी घर फर्किए। करिब चार वर्ष परम्परागत शैलीमा खेती गरे। भैँसी बाख्रा पाले। २०७७ सालमा व्यावसायिक पशुपालन गर्ने सोंच बनाए। दुईजना मिलेर साझेदारीमा भैँसीपालन व्यवसाय थाले। शिवशक्ति पशुपालन तथा कृषि फर्म दर्ता गरेर उनीहरूले व्यवसाय शुरू गरेका थिए। तर यो सहकार्य धेरै वर्ष टिकेन। व्यवसाय अलपत्र पर्‍यो। केही वर्ष सञ्चालनमा आएको फर्म करिब ६ महिना बन्द नै रह्यो। 

गाउँपालिकाले अनुदान दिएपछि उत्साहित

कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाले सहयोग गरेपछि एकादेवले पुनः व्यवसाय थालेका छन्। यो परियोजना कालीगण्डकी गाउँपालिका र हेफर इन्टरनेसनलको साझेदारीमा सञ्चालन भएको हो। परियोजनाले उनलाई भैँसी र गाई खरिद गर्न अनुदान दिएको छ। चार भैँसी र दुई गाई खरिद गर्न २ लाख ४० हजार रुपैयाँ अनुदान दिएको हो। परियोजनाले भकारो सुधार गर्न सहयोग गरेको छ। घाँस काट्न परियोजनाले अनुदानमा चाप कटर उपलब्ध गराएको छ। गाउँपालिकाले सहयोग गरेपछि पशुपालन व्यवसाय बनाउन उत्साह मिलेको उनले बताए।

मासिक करिब एक लाखको दूध बिक्री

मासिक करिब एक लाख बराबरको दूध बिक्री गर्छन्। गत महिना एक लाख ८ हजारको दूध बिक्री गरेको उनले सुनाए। हाल दैनिक करिब ३० लिटर दूध बिक्री गर्दै आएका छन्। एक लिटर दूध १२० रुपैयाँमा बिक्री हुन्छ। नजिकै रहेको बजारमा दूध बिक्री हुन्छ।  ‘बजारको कुनै समस्या छैन। यहाँ मागअनुसार दूध उत्पादन छैन’ उनले भने, ‘मासिक एक लाख बराबरको दूध बिक्री हुन्छ।’ खर्च कटौती गरेर ६० हजार शुद्ध नाफा भएको उनले बताए। उनलाई श्रीमतीले सघाउँछिन्। आवश्कताअनुसार कामदार राखेर गाई भैँसीको स्याहार गर्दै आएको उनी बताउँछन्।

दैनिक दूध बिक्री गरेर नगद आम्दानी हुँदा एकादेव निकै खुशी छन्। विदेशी भूमिमा १८ घण्टा काम गर्नुपर्ने। चर्को घाममा बसेर ग्यास कटिङ र कन्टेनरमा लोड गर्नुपर्थ्यो। ‘ज्यान जोखिममा राखेर काम गर्नुपर्ने बाध्यता थियो’ उनले भने ‘अहिले परिवारसँग सँगै बसेर काम गर्न पाएको छु। दूध बेचेर मासिक विदेशमा भन्दा धेरै आम्दानी भएको देख्दा निकै खुशी लागेको छ।’ मेहनत गरे पैसा कमाउन विदेश जानु पर्दैन।’ दैनिक १२ घण्टा नेपालमै काम गर्ने हो भने यहीँ आम्दानी हुने उनी बताउँछन्।

मल बेचेर घाँस  

उनले गाईभैँसीको मल समेत बिक्री गर्दै आएका छन्। गत वर्ष २५ हजारको मल बिक्री गरे। यस वर्ष करिब ३० हजारको मल बिक्री हुने उनको अनुमान छ। मल बेचेर आम्दानी भएको पैसाले घाँस किन्ने गरेको उनले सुनाए। करिब १० रोपनी जमिन भाडामा लिएका छन्। वार्षिक १० हजार भाडा तिर्छन्। खेतमा धान रोप्न छाडेर घाँस रोपेका छन्। उन्नत जातका सुपर नेपियर र मलाटो घाँस लगाएको उनले बताए। धान उत्पादन गरेर वर्षभरि खान पुग्दैन। वर्षमा चार पटकसम्म घाँस काट्न पाइन्छ। यसले गाई भैँसीलाई घाँस खुवाउन सहज भएको एकादेवले बताए। 

विदेशमा रहेका छोरालाई यही व्यवसायमा जोड्ने योजना

उनका एक छोरा रोजगारीको सिलसिलामा दुबईमा छन्। केही वर्षपछि यही व्यवसायमा छोरालाई प्रोत्साहित गर्ने योजना छ। गोठमा १८ वटा भैँसी पाल्न मिल्छ। क्रमशः गाई भैँसीको संख्या विस्तार गर्ने उनले बताए। यस व्यवसायलाई एउटा अवस्थामा पुर्‍याएपछि छोराबुहारीलाई हस्तान्तरण गर्ने सोच छ। विदेशमा हुने कमाईको कुनै ठेगान छैन। स्वदेशमै गरेको व्यवसाय सफल भए यहीँ धनी बन्न सकिने एकादेवको बुझाइ छ।

गाउँपालिकाको सहयोगमा डेरी सञ्चालन गर्ने तयारी

कालीगण्डकी गाउँपालिका भित्र रहेका गाई भैँसीपालन गर्दै आएका किसान संगठित भएका छन्। उनीहरूले कालीगण्डकी दूग्ध उत्पादन कृषक समूह गठन गरेका छन्। १६ जना सदस्य आबद्ध छन्। 

परियोजनाको सहयोगमा मिर्मी बजारमा डेरी सञ्चालन गर्ने तयारी भइरहेको छ। डेरी सञ्चालन गर्न ७ लाख रुपैयाँ बराबरको उपकरण पूर्ण अनुदानमा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष खीमबहादुर थापाले बताए। यहाँका किसानलाई विशेष गरी भैँसी, बाख्रा र बंगुरपालन व्यवसायमा गाउँपालिकाले सहयोग गर्दैछ।

गाउँपालिकालाई मासु र दूधमा आत्मनिर्भर बनाउने योजनासहित किसानलाई सहयोग गर्दै आएको उनले बताए। १२ सयभन्दा बढी किसानले व्यवसायको थालनी गरेका छन्। समूहमा आबद्ध नभएका किसानलाई पनि गाउँपालिकाले व्यवसायममा प्रोत्साहन गर्ने खालका कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष थापाले बताए। 

किसानलाई प्राविधिकसहित विभिन्न खालका तालिम दिँदै आएको हेफरका कर्मचारी विष्णुप्रसाद पाण्डेले बताए। व्यवसाय गर्न इच्छुक किसानलाई पशुपालनसम्बन्धी तालिम, खोर निर्माण, सरसफाई, घाँस, दानापानी कसरी खुवाउने भन्ने बारे तालिम दिएको उनले बताए। किसानको माग र आवश्यकताअनुसार आर्थिक तथा भौतिक र प्राविधिक सहयोग गर्ने पाण्डेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.