|

नारायणघाट : बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा आमाले ‘मोबाइल फोन’ प्रयोग नगर्न आग्रह गरेका छन्। विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरूले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन्।

विश्व स्तनपान सप्ताहका अवसरमा‘स्तनपानको महत्त्व : चिकित्सक–पत्रकार छलफल कार्यक्रम’मा भरतपुर अस्पतालकी बालरोग विशेषज्ञ डा. श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताइन्। उनले भनिन्, ‘आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएन भन्ने थाहा हुँदैन।’

उनले बच्चाको मायाममता पनि कम हुने बताइन्। उनले भनिन्, ‘स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन।’ स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको बालरोग विशेषज्ञ डा गुप्ताले बताइन्। शिशुलाई जन्मिएदेखि ६ महिनासम्म आमाको दूधबाहेक पानी आवश्यक नपर्ने उनको भनाइ छ।

बालरोग विशेषज्ञ डा. गुप्ताले भनिन्, ‘नियमित स्तनपान गर्ने शिशुमा निमोनिया, झाडापखाला, दम जस्ता रोग लाग्ने सम्भावना कम हुन्छ।’

बच्चाको शरीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताइन्।

अस्पतालमा शल्यक्रिया गरेर जन्मिएका नवजात शिशुलाई दूध खुवाउन दिने गरी सरकारले नियम बनाउन सके यस्ता बच्चालाई आमाको दूध खुवाउन सकिने उनले बताइन्। अहिले शल्यक्रियाबाट जन्मिएका बच्चालाई सुरुवातमा बजारको पाउडर दूध खुवाउनुपर्ने अवस्था रहेको जनाउँदै उनले यसको अन्त्य गर्न सके बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो हुने बताइन्।

कार्यक्रममा भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख विशेषज्ञ प्राडा सुनिलमणि पोखरेलले शिशुलाई नियमित आमाको दूध खुवाउँदा बच्चा र आमा दुवैलाई फाइदा हुने बताए। नवजात शिशुलाई जन्मिएको छ महिनासम्म आमाको दूध मात्रै खुवाउन सके उसको स्वास्थ्य र शारीरिक विकास राम्रो हुने उनले बताए। शिशुलाई दिनमा ८ देखि १२ पटक दूध खुवाउन सके बच्चाका लागि फलदायी हुने उनको भनाइ छ। स्तनपान नियमित गराउने आमालाई स्तन र डिम्बाशयको क्यान्सर हुने सम्भावना न्यून हुने बताए।

पछिल्लो समय शारीरिक सुन्दरताका लागि शिशुलाई आमाको दूध नखुवाउँदा बच्चाको शारीरिक, मानसिक वृद्धि विकासमा समस्या पर्नुका साथै आमामा विभिन्न समस्या देखिन सक्ने जानकारी दिए।

कार्यक्रममा कान्तिपुर हेल्थका प्रधानसम्पादक तिलक रिमालले स्तनपानको महत्त्वलाई व्यापक प्रचारप्रसार गर्नुपर्ने जनाउँदै कार्यस्थलमा स्तनपानका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने बताए। उक्त छलफल कान्तिपुर हेल्थ अनलाइनले सञ्चालन गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.