काठमाडौँ : पूर्वमन्त्री तथा पूर्वसचिवहरुले काममा ढिलाइ नगरी कार्यसम्पादन गर्न सुझाव दिएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘मन्त्रालय सुधार कार्ययोजना’अन्तर्गत आज आयोजना गरेको अन्तरक्रियामा उनीहरुले कुनै पनि ढिलाइबिना पारदर्शी ढङ्गले काम गर्न सके सुधारको लक्ष्य पूरा हुने धारणा व्यक्त गरे।
पूर्वमन्त्री मीन विश्वकर्माले मन्त्रालयमा कुनै पनि फाइल एक दिनभन्दा बढी रोकिनुहुन्न भने। “मन्त्रीज्यूले हामीसँग मन्त्रालय सुधारका लागि सुझाव माग्नुभएको छ, ढिलासुस्ती नगरी पारदर्शी ढङ्गले काम गर्नुहोस् सफल हुनुहुन्छ”, उनले भने।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव समेत रहेका पूर्वमन्त्री लेखराज भट्टले स्वदेशी उत्पादनलाई महत्व दिनुपर्नेमा जोड दिए। उनले स्वदेशी उत्पादनको प्रयोग बढाउन मन्त्रालयले चालेका कदम सकारात्मक रहेको उल्लेख गरे।
पूर्वमन्त्री कर्णबहादुर थापाले इमान्दारिता जिम्मेवारी पूरा गर्न सुझाव दिए। उनले विगतमा सरकारले सञ्चालन गरेका र अहिले बन्द भएका उद्योगहरु सञ्चालनमा ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए।
पूर्वमन्त्री जयन्तबहादुर चन्दले आर्थिक अनियमिततामा शून्य सहनशिलता अपनाइ काम गर्न सुझाव दिए। उनले भारत र चीनले गरेको प्रगतिको सिको गर्नु जरुरी रहेको उल्लेख गरे।
पूर्वमन्त्री शङ्कर कोइरालाले नीतिगत तहमा सुधार गरी इमान्दारिताका साथ काम गर्न आग्रह गरे। त्यस अवसरमा मन्त्रालयका पूर्वसचिवहरुले पनि नीति निर्माण र प्रभावकारी योजना कार्यान्वयनको सुझाव दिएका थिए।
मन्त्री दामोदर भण्डारीले पूर्वमन्त्री र पूर्वसचिवहरुको सुझावलाई अनुसरण गर्दै काम गर्ने प्रतिबद्धता जनाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।