|

पेरिस ओलम्पिकमा भारतीय शुटर मनु भाकरले इतिहास रचेकी छन्। उनी एउटै ओलम्पिकमा दुई पदक जित्ने पहिलो भारतीय खेलाडी बनेकी छन्। यसअघि एउटै ओलम्पिकमा कुनै पनि पुरुष वा महिला खेलाडीले दुई पदक जितेका छैनन्।

पेरिस ओलम्पिकमा हालसम्म भारतले ३ पदक जितेको छ भने २ पदकमा मनु भाकरको योगदान रहेको छ। यसलाई हेर्दा हरेक भारतीयको जिब्रोमा मनु भाकरको नाम छ।

मनु भाकरको जन्म १८ फेब्रुअरी २००२ मा हरियाणाको झज्जर जिल्लाको गोरिया गाउँमा भएको थियो। उनका बुबा  इन्जिनियर र आमा विद्यालयको प्रधानाध्यापिका हुन्। भाकरले बाल्यकालमा स्केटिङ, बक्सिङ, एथलेटिक्स र जुडो कराते पनि खेल्ने भारतीय संचारमाध्यमले जनाएका छन्।

मनु भाकरका बुवाले छोरीको सपनाका लागि जागिर त्यागेर छोरीको सपनाका लागि उडान भरे। उनले छोरीको तालिमका लागि आवश्यक सामाग्री र उनलाई तालिम केन्द्रमा ल्याउने जिम्मा पनि लिए।

बिबिसीका अनुसार मनु भाकरले २०१७ मा केरलामा भएको राष्ट्रिय प्रतियोगितामा ९ स्वर्ण पदक जितेर नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सोही वर्ष उनले एशियन जुनियर च्याम्पियनसिपमा रजत पदक जितिन्।

भाकरले सन् २०१८ अन्तरराष्ट्रिय खेलकुद सुटिङ विश्वकपमा स्वर्ण पदक जितिन् र स्वर्ण पदक जित्ने सबैभन्दा कान्छो भारतीय बनिन्।

सन् २०१८ मा उनले आइएसएसएफ जुनियर विश्वकपमा दुई पटक स्वर्ण जितेकी थिइन्। १६ वर्षको उमेरमा उनले राष्ट्रमण्डल खेलकुदमा १० मिटर एयर पिस्टलमा स्वर्ण पदक जितिन्। म्युनिख आइएसएसएफ मा चौथो स्थानमा रहेर उनी टोकियो ओलम्पिकमा पनि पुगेकी थिइन्।

अहिले भइरहेको पेरिस ओलम्पिक भाकरका लागि उत्कृष्ट रह्यो। उनले भारतका लागि अहिलेसम्म २ पदक जितिसकेकी छिन्। भाकरले ओलम्पिकमा १० मिटर एयर पिस्टल महिला विधामा काँस्य पदक जितेर भारतको खाता खोलेकी थिइन्।

योसँगै उनले डबल मिक्समा अर्को काँस्य पदक पनि जित हात पार्न सफल भइन्। अगस्ट १ मा भने उनी चौथो स्थानमा रहन पुग्दा पदक विमुख भएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.