|

काठमाडौँ : केही वर्षअघिसम्म डेंगु, मलेरिया, स्क्रबटाइफस जस्ता किटजन्य रोग फैलदा यस्ता संक्रमण नियन्त्रण गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)मा छुट्टै भेक्टर वर्न डिजिजका एक्सपर्ट भेक्टर कन्ट्रोलर सुपरभाइजरहरू थिए।

उनीहरूले डेंगु मलेरिया जस्ता संक्रमण देखिएको ठाउँमै पुगेर संक्रमणको स्रोत पत्ता लगाएर नियन्त्रणको उपाय स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालालाई सल्लाहसुझाव दिन्थे। साथै थप संक्रमण फैलन नदिन के के उपाय अपनाउन सकिन्छ र त्यस्ता काम को- कोसँग मिलेर गर्न सकिन्छ भन्ने सुझाव सम्बन्धित निकायलाई दिन्थे। तदनुरूप काम हुँदा डेंगु जस्ता किटजन्य संक्रमण नियन्त्रण गर्ने प्रभावकारी  कार्यक्रम बनाउन इडिसिडीलाई धेरै सहज हुन्थ्यो।

जसको लागि इडिसिडीमा भेक्टर वर्न डिजिज हेर्ने तीनजना भेक्टर वर्न डिजिजका एक्सपर्ट भेक्टर कन्ट्रोरल सुपरभाइजरहरू रामकुमार महतो, उत्तमराज प्याकुरेल, जनक अधिकारीहरू थिए।

वर्षौंदेखि एकै विधामा काम गरेका यी भेक्टर कन्ट्रोलर सुभपरभाइजरहरू यस्ता किटजन्य संक्रमण नियन्त्रण गर्न विज्ञ मानिन्थे तर संघीयतापछि कर्मचारी समायोजनमा यिनीहरू समायोजनपछि आफ्नो विज्ञताको सेवा समूहमा भन्दा पनि बाहिर गए। तर इडिसिडीका विज्ञहरूले नै उनीहरुको आवश्यकता महसुस गरेर काज फिर्ता गराइदिन स्वास्थ्य मन्त्रालयमा ताकेता गरेपछि उनीहरु पुनः इडिसिडीमै आएर काम गरे।

तर तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले काज फिर्ता लिने निर्णयसँगै इसिसिडीमा रहेका​ एक्सपर्ट भेक्टर कन्ट्रोलर सुपरभाइजरहरू महतो, प्याकुरेल, अधिकारी अन्यत्र जाँदा अहिले डेंगु नियन्त्रणमा इडिसिडीलाई काम गर्न अप्ठ्यारो भइरहेको छ। उनीहरूले डेंगु, कालाजार, मलेरिया, हात्तीपाइले जस्ता रोगका क्षेत्रमा काम गर्दै आएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कामकाजमा देशभर ५ हजारको सङ्ख्यामा कर्मचारी छन्। यसलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्दा करिब २ देखि ४ सयको सङ्ख्यामा मात्रै समस्या देखिने अधिकारीहरू बताउँछन् ।

काज फिर्ताको ठूलो असर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा देखिएको छ। महाशाखाका १३ जना कर्मचारीको एकैपटक काज फिर्ता भएको छ। काज फिर्ताले ठूलो असर डेंगु नियन्त्रणमा देखिएको छ।

अहिले भेक्टर नभएपछि इडिसिडीले त्यही रहेका अन्यकर्मचारीबाट काम चलाउनुपरेको इडिसिडीका निर्देशक डा. यदुचन्द्र घिमिरेले बताए। ‘पहिला हाम्रोमा एक्सपर्ट भेक्टर कन्ट्रोलर सुपरभाइजरहरु हुनुहुन्थ्यो‚ उहाँहरु त हुनुहुँदैन तर हामीले अन्य कर्मचारीलाई पनि किटजन्य संक्रमण नियन्त्रणको तालिम दिएर उहाँहरुबाटै काम चलाएका छौँ’‚ निर्देशक डा. घिमिरेले भने।

तर आवश्यक परेको वेलामा अहिले इडिसिडीमा नरहे पनि वेला वेलामा एक्सपर्ट भेक्टर कन्ट्रोलर सुपरभाइजरका रुपमा काम गरेका उक्त विज्ञहरुसँग छलफल गरिने महाशाखाले जनाएको छ।

यता लामो समयदेखि एक्सपर्ट भेक्टर कन्ट्रोलर सुपरभाइजरको रुपमा इडिसिडीमा रहेर काम गरेका उत्तम प्याकुरेलले पनि आफूहरूलाई अहिले विज्ञता रहेको क्षेत्रभन्दा बाहिर काम गर्नु परेको बताउँछन्। हाल बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत हेटौँडाका रहेका एक्सपर्ट भेक्टर कन्ट्रोलर सुपरभाइजर प्याकुरेलले भने‚ ‘हामी लामो समयदेखि किटजन्य रोगको निन्त्रणमा काम गरौँ तर समायोजनपछि हामी इडिसिडीमा भन्दा बाहिर पुगेका थियौँ तर पछि हामीलाई काजमै पुनः इडिसिडीमा नै लगिएको थियो तर काज फिर्ता भएपछि हामी त्यहाँबाट आयौँ, अहिले आफ्नो विज्ञताभन्दा बाहिर काम गरिरहेका छौँ।’

भेक्टर कन्ट्रोलर सुपरभाइजर प्याकुरेलका अनुसार देशभर जम्मा ३०/३२ जना मात्रै एक्सपर्ट भेक्टर कन्ट्रोलर सुपरभाइजर रहेको र अहिले उनीहरु प्रायः आफ्नो विज्ञताभन्दा बाहिरको सेवा समूहमा काम गरिरहेको समेत बताउँछन्। उनले भने‚ ‘हामी जस्तो एक्सपर्ट भेक्टर कन्ट्रोलर सुपरभाइजर देशभरमै एकदमै कम छौँ तर भएकै जनशक्तिलाई सरकारले सही ठाउँमा काम लगाउन सकेको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.