|

कास्की : जिल्लामा गत एक वर्षमा ६४९ नयाँ उद्योग दर्ता भएका छन्। पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा छन् । 

नयाँ उद्योगमा एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार पुँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिए।

उहाँका अनुसार पोखरामा बढी मात्रामा पर्यटन क्षेत्रलगायतको सेवामूलक व्यवसाय बढी भएकाले थपिएका उद्योगमा समेत सेवामूलक उद्योग सबैभन्दा बढी छन्।कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ सेवामूलक उद्योग २४१, कृषि तथा वन पैदावारमा आधारित उद्योग १६२, पर्यटन उद्योग १६०, उत्पादनमूलक उद्योग ८३ र सूचना प्रविधिमा आधारित तीन उद्योग दर्ता भएका छन् ।

गत वर्ष ऊर्जा तथा खनिजमूलक कुनै पनि उद्योग दर्ता भएनन्। एक वर्षमा दर्ता भएका उद्योगमा महिला ९३९ र पुरुष एक हजार ११८ गरी दुई हजार ५७ जनाले रोजगारी पाएका छन्।

यसैगरी ३६५ उद्योग खारेज भएका छन्। खारेज हुने उद्योगको सङ्ख्या बर्सेनी वृद्धि भएको कार्यालय प्रमुख ढकालले बताए। उनका अनुसार थपिएका उद्योगको ५० प्रतिशत सङ्ख्या खारेज भएका छन्।“नयाँ उद्योग दर्तासँगसँगै खारेज हुने उद्योगको सङ्ख्यासमेत धेरै छ।आर्थिक गतिविधिमा शिथिलता, विदेश जाने प्रवृत्ति र धेरै ठाउँमा कर तिर्नुपर्ने बाध्यतालगायत कारणले उद्योग खारेजीका लागि आउने गरेका छन्”, कार्यालय प्रमुख ढकालले भने।
 
कार्यालयका अनुसार जिल्लामा विदेशबाट फर्केर आएका युवा तथा स्वरोजगारका लागि कृषि तथा पशुपक्षी उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ।जिल्लामा हालसम्म २४ हजार दुई सय ७८ उद्योग दर्ता भएकामा गत आवसम्ममा पाँच हजार ८३२ वटा खारेज भई १८ हजार ४४६ सञ्चालनमा छन् ।
 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.