अनुगमन गरेर कारबाही गरिँदै

|

काठमाडौँ : काठमाडौँभित्र सञ्चालित छात्रावास (हाेस्टलहरू) मनोमानी ढंगले चलेको पाइएको छ। हाेस्टल चलाए पनि उनीहरूले काठमाडौँ महानगरपालिकामा दर्ता गरेका छैनन्।

यसरी मनोमानी रूपमा हाेस्टल सञ्चालन, त्यहाँ अवाञ्छित क्रियाकलाप हुने गरेको गुनासो काठमाडौं महानगरपालिकामा परेपछि अनुगमन समितिले हिजो (सोमबार) बैठक नै राखेर हाेस्टल सञ्चालकहरूलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालन गरेर हाेस्टल सञ्चालन गर्न निर्देशन दिएको छ।

हिजो समितिका संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले छात्रावासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिबद्ध हुन आग्रह गरिन्।

उनका अनुसार हाेस्टलको अवस्था, सेवा सम्बन्धी व्यवस्थासँगै हाेस्टलमा बस्ने छात्राछात्र तथा अन्यको हाेस्टलमा बसेको हो, व्यवस्थित सूचना अभिलेखनबाट व्यवस्थापनको काम थालनी हुनेछ। उनले हाेस्टल संघको तथ्याङ्क उद्धृत गर्दै भनिन्, ‘उहाँहरू ४० हजार विद्यार्थी हाेस्टलमा बसेको भनिरहनु भएको छ, यत्रो ठूलो संख्यामा मानिस बसोवास गर्ने ठाउँको अवस्था र वितरण हुने सुविधाको निगरानी अनिवार्य भएको छ।’

उनका अनुसार ४ जना बस्न मिल्ने कोठामा २० औँ जनालाई राखिएको पाइएको छ। आवासीय भवनलाई व्यावसायिक बनाइएको छ। यसले जोखिम सिर्जना गरेको छ। त्यसैले उक्त हाेस्टलहरूलाई अनुगमन गरी मापदण्डमा नरहेकालाई कारबाही गर्नुपर्ने महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले बताए।

उनका अनुसार काठमाडौँभित्र के कति हाेस्टल सञ्चालनमा छन् भन्ने यकिन तथ्यांक नै छैन। ‘उनीहरूले दर्ता नै नगरी चलाएको पाइयो, वडा ९ र १० भित्र चाहिँ २ सय रहेछन्, उनीहरूले दर्ता गरेको पाइयो, अन्यले कही दर्ता गरेको पाइएन, सञ्चालित होस्टलहरूमा ४० हजार विद्यार्थी हाेस्टलमा बसेको भनेर जानकारी चाहिँ दिएका छन्’, उनले थाहाखबरसँग भने। 

राति १० बजेपछि पनि आउजाउ 

मापदण्डमा असम्बन्धित व्यक्ति भित्र आउन दिन नहुने उल्लेख छ। तर,महानगरपालिका वडा-१० का सदस्य सतीश तण्डुकारका अनुसार होस्टलमा रातको १० बजेपछि पनि आवागमन भइरहन्छ। उक्त बैठकमा उनले भने, ‘रातको १० बजेपछि पनि होस्टलमा आवागमन भइरहन्छ, त्यसपछि को आउँछ, को जान्छ? किन आउँछ, किन जान्छ? थाहा हुँदैन।’ 

छलफलमा वडा-२९ का सदस्य अनिल श्रेष्ठले होस्टलमा पछिल्लो समय विकृति फैलिएको बताए। ‘हाेस्टल विकृतिको रोग थियो, यो महारोग भइसक्यो, घर लिने, निःशुल्क विद्यार्थी भर्ना गर्ने, त्यही संख्या देखाएर महँगोमा विक्री गर्ने भएपछि विकृति भयो’, उनले भने।

उक्त छलफलमा महानगरपालिका राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्ले, छलफलमा नेपाल होस्टल एशोसिएसन र होस्टल व्यवसायी संघ नेपालका पदाधिकारीले, बहाल कर आफैंले तिर्नुपर्ने, घरको मर्मत सम्भार आफैंले गर्नुपर्ने, पानी आफैँले जोहो गर्नुपर्ने भएकाले आफूहरू व्यावसायिक संकटमा रहेको धारणा राखेका थिए।

उनीहरूले मापदण्डको पूर्ण पालना गरेर चलेका हाेस्टल पनि रहेकाले राम्रालाई प्रोत्साहन र नराम्रालाई सुधार गराउने बाटोमा लैजानुपर्ने आग्रह गरेका थिए।  

यस्तो छ  हाेस्टल सञ्चालन सम्बन्धी मापदण्ड 

काठमाडौं महानगरपालिकाले छात्रावास (हाेस्टल) लाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन तथा छात्रावासमा बस्ने विद्यार्थीहरू र सञ्चालकको अधिकतम हित गराउन छात्रावास सञ्चालन सम्बन्धी मापदण्ड २०८० जारी गरेको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (ज) र दफा १०२ को (२) लाई आधार मानेर काठमाडौँ महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर मापदण्ड जारी गरिएको हो।

मापदण्डबमोजिम महानगरपालिकाभित्र छात्रावास (हाेस्टल) सञ्चालन गर्न कार्ययोजना, प्रतिबद्धतासहितको निवेदन, वडाको सिफारिस, छात्रावास राख्ने भवनको नक्सा र नक्सा पास प्रमाणपत्र, निर्माण सम्पन्न प्रमाण पत्रसहित कागजातसहित दर्ता प्रक्रियाका जानुपर्छ। आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपुर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनुपर्छ।

स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँचपछि महानगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ। छात्रावासभित्र न्यूनतम सबै पूर्वाधार हुनुपर्छ। यसमा शौचालय, भान्छाघर, पानीको आपूर्ति, विद्युत्, प्रत्येक छात्रछात्राका लागि पलङ, दराज र टेबल फोहरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्छ। कोठाहरू फराकिला, खुला हुनुपर्छ। कोठामा पर्याप्त प्रकाश हुनुपर्छ। हावा दोहोरो आउने जाने हुनुपर्छ।  

आगलागी जस्ता सम्भावित विपद् व्यवस्थापनका लागि फायर इस्टिङ्ग्वीसर लगायत सामग्री तथा उपकरण, प्राथमिक उपचारको लागि सामग्री हुनुपर्ने मापदण्डमा उल्लेख छ।

त्यसैगरी मापदण्डमा कोठा र शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सिसिटिभी क्यामरा जडान गर्नुपर्ने, हुलदंगा हुने, प्रदूषण हुने ठाउँमा छात्रावास राख्न नहुने, छात्र र छात्राका लागि सञ्चालन गरिने भवन आमनेसामने नहुनुपर्ने, एकबाट अर्कोको दूरी कम्तीमा २ सय मिटर हुनुपर्ने उल्लेख छ।

एकै सञ्चालकले दुवै छात्रावास चलाउने भए आन्तरिक व्यवस्थापनको काम समेत छुट्टै भवनबाट सञ्चालन गर्नुपर्ने, सेवा सुविधा, जिम्मेवारी तथा कर्तव्य, अनुशासन, गोपनीयता, आचारसंहिता सम्बन्धी आन्तरिक नियम बनाउन सक्ने, यस्ता नियम महानगरपालिकामा पेश गरेर सहमति लिनुपर्ने पनि मापदण्डमा उल्लेख छ।

यसैगरी महानगरपालिकाले तोकेको आकारमा स्पष्ट देखिने गरी परिचय पाटी राख्नुपर्ने, बस्ने छात्रछात्राको हालसालै खिचेको तस्विर, पहिचान देखिने सरकारी कागज राख्नुपर्ने, असम्बन्धित व्यक्ति भित्र आउन दिन नहुने, शैक्षिक वातावरण मिलाउनुपर्ने, कोठाभित्र मदिराजन्य, लागू पदार्थ, सुर्तीजन्य पदार्थ ओसारपसार, विक्री वितरण र प्रयोग गर्न नपाइने, सञ्चालकबाट अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भएकाले उमेर ३० वर्ष पूरा भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ।

मापदण्डमा छात्रावाससँग सम्बद्ध व्यक्तिको काम, कर्तव्य र अधिकार, वार्डेनको काम कर्तव्य अधिकार, छात्रछात्राको काम कर्तव्य र अधिकार, अनुगमनलगायत व्यवस्था छन्। तर यी मापदण्डहरू पालना हुँदैनन्।

अनुगमन गरेर कारबाही गरिँदै

काठमाडौँ महानगरपालिकाले मापदण्डविपरीत सञ्चालन भएका होस्टलहरूलाई अनुगमन गरेर कारबाही गर्ने तयारी गरेकाे छ। महानगरपालिकाकी उपप्रमुख डंगोलका अनुसार समूह विभाजन गरेर अनुगमन गर्न सकिनेछ।

शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी शर्माले अनुगमन गरेर भए पनि ती होस्टलहरूलाई नियमन गर्ने बताए। उनले भने, ‘विद्यार्थीहरूको हित जान्नका लागि भए पनि अनुगमन गर्नुपर्छ, अबको एक साताभित्र सूचना जारी गरेर अनलाइनबाट दर्ता गराउँछौँ, टिम बनाएर अनुगमन पनि गर्छौं। मापदण्डविपरीत चलाएको पाइए कारबाही गर्छौ।’

छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्डको बुँदा १३ मा दण्ड तथा सजायसम्बन्धी व्यवस्था गरिएको छ। उक्त मापदण्डमा उल्लिखित शर्त उल्लङ्घन हुने गरी छात्रावास सञ्चालन गरे–गराएमा कसुरको मात्रा हेरी अनुगमन समितिले कारबाही गर्न सक्नेछ। जसमध्ये सचेत गराउने, आवश्यक सुधार गरी कार्यान्वयनका लागि निर्देशन दिने र दर्ता खारेज गरी छात्रावास बन्द गर्न निर्देशन दिने प्रावधान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.