|
फाइल तस्वीर

तेह्रथुम : तेह्रथुमबाट आव ०८०/८१ मा ५३ करोड रुपैयाँ मूल्य बराबरको गोलिया काठ जिल्लाबाहिर बिक्री भएको छ।

गोलिया काठ बिक्रीबापत सङ्घीय सरकारलाई ७ करोड ३१ लाख ६९ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर सङ्कलन भएको छ भने ७८ लाख ८५ हजार ३ सय रुपैयाँ प्रदेश सेवा शुल्कबापत राजस्व सङ्कलन भएको छ। 

गत आवको १२ महिनामा तेह्रथुमका निजी वनबाट २६ लाख ४१ हजार १८६ क्युफिट गोलिया काठ जिल्लाबाहिर बिक्री भएको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल प्रमुख उधिमप्रसाद राईले बताए। 

उनका अनुसार बिक्री भएका सबै गोलियालाई सरकारी दरमा हिसाब गर्दा त्यति मूल्यको पर्ने देखिन्छ। “बाहिर बजारमा सरकारी दरभन्दा बढीमा पनि कारोबार हुने भएकाले हामीले हिसाब गरेकोभन्दा अझै बढी मूल्यको गोलिया हुन जान्छ।”

बिक्री हुने गोलियामा ९० प्रतिशत ‘बी’ ग्रेडका उत्तिसका रूख  हुने गर्छन्। गोलियाको गुणस्तर अनुसार ‘ए’ ग्रेड र ‘बी’ ग्रेडमा छुट्याइएको छ। 

त्यसमा काठ व्यवसायीले ‘ए’ ग्रेडको उत्तिसको ४५ रुपैयाँ ५० पैसा प्रति क्युफिट मूल्य अभिवृद्धि कर तिरेका छन् भने ‘बी’ ग्रेडको ३२ रुपैयाँ ५० पैसा तिरेका छन्। 

पछिल्लो समय वैदेशिक रोजगारी तथा अन्य कारणले तेह्रथुमका गाउँगाउँको जनसङ्ख्या घट्दो छ। बाँझिएका खेतबारीमा आफैँ उम्रिने रूखहरु ८–१० वर्षमा गोलिया बेच्न लायक हुने गरेको वन पैदावार व्यवसायी सङ्घका अध्यक्ष उत्तम लिम्बूले बताए। 

उनले सो व्यवसाय गरेर स्थानीय १२ जनालाई रोजगारी दिइरहेको बताए। यहाँबाट बिक्री हुने गोलिया काठमा सबैभन्दा बढी उत्तिस रहेको छ भने केही मात्रामा चिलाउने, मलातो र पात्ले रहेको छ। 

त्यसैगरी, राष्ट्रिय वनको गैरकाष्ठ वन पैदावार जडीबुटी गत आवमा २४ हजार ६ सय किलो यहाँबाट बिक्री भएको छ। त्यसबाट मूल्य अभिवृद्धि करबापत ३३ हजार ७ सय रुपैयाँ सङ्कलन भएको छ। तेह्रथुमबाट बिक्री हुने जडीबुटीहरुमा मजिठो, चिराइतो, लोक्तालगायत रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.