|

सुर्खेत : नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले नागरिकले सास फेर्ने हावामा कर लगाउने कानूनमात्रै ल्याउन बाँकी रहेको ब्यंग्य गरेका छन्। ​मंगलवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो ब्यंग्य गरेका हुन्।

उनले आफूले विभिन्न विषयमा नजिकबाट नियालिरहेको भन्दै सरकारले खानेपानी र स्वच्छ हावा निःशुल्क रुपमा पाउने पहिलो अधिकार भए पनि पानीमासमेत करमाथि कर बढाएको आरोप लगाए। 

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उनले यस्तो धारणा राखे। व्यावसायिक प्रयोजनका लागि जमिनमुनिको पानी उपभोग गर्न दस्तुर तिर्नुपर्ने व्यवस्था गर्न प्रस्तावित व्यवस्थामा छलफल भइरहेको विषयमा सांसद शर्माले यस्तो धारणा राखेका हुन्। 

सांसद शर्माले हरेक क्षेत्रमा दोहोरो–तेहोरो कर लगाउँदा व्यावसायिक वातावरण बिग्रिरहेको बताए। उद्योगीले पनि नाफाको ३० प्रतिशतसम्म सरकारलाई कर बुझाउने कानून रहेको स्मरण गराए।

‘मान्य ध्रुवबहादुर प्रधानले राख्नुभएको कुरासँग मेरो शतप्रतिशत सहमति छ। कुनै पनि इण्डस्ट्री यो देशमा स्टाब्लिस भइरहँदा उसले उत्पादन गरेको वस्तु मार्केटमा बेचिसकेपछि नेट हुने प्रोफिटबाट ३० प्रतिशत राज्यले कर लिन्छ‚’ उनले भने, ‘काठमाडौँमा सतहको सय मिटरमुनि पानी आउँछ, कहाँ आउँछ देखाउनुस् त? हावामा मात्रै कर लगाउन बाँकी छ अब नेपाल सरकारले। खानेपानीजस्तो संवेदनशील विषयमा करमाथि कर थुपार्ने कुरा यो जयाज छैन।’

सांसद शर्माले जमिनमुनिको पानी औद्योगिक प्रयोजनका लागि निकाल्दा कर लगाउने कानून फिर्ता लिन माग गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.