|

काठमाडौँ : नेपाली भलिबल टोलीकी कप्तान अरुणा शाहीले फाइनलमा भारतसँग आफ्नो टोलीले अझ राम्रो खेल्ने विश्वास व्यक्त गरेकी छन्।

सेमिफाइनलमा इरानलाई सोझो सेटमा पराजित गरेपछि पत्रकार सम्मेलनमा कप्तान अरुणाले छिमेकी राष्ट्र भारतसँग जस्तोसुकै अवस्थामा पनि नेपालले राम्रो खेल्दै आएको स्मरण गर्दै सोही मानसिकता र प्रदर्शन दोहोरिने विश्वास व्यक्त गरेकी हुन्। 

कप्तान अरुणा शाहीले इरानजस्तै भारतलाई पनि फाइनलमा सोझो सेटमा हराउँदै उपाधि जित्ने लक्ष्य रहेको बताएकी छन्। 

इरानलाई शुरुदेखि नै दबाबमा राखेर खेल्नुपर्छ भन्ने रणनीतिसहित कोर्टमा उत्रनु नै जितको बलियो आधारमा रहेको उनले बताइन्। पछाडि परेको अवस्थामा पनि सोही मानसिकताका साथ खेल्दा पुनरागमनसँगै जित सम्भव भएको उनको भनाइ छ। 

‘दोस्रो सेटमा २४–२१ ले पछि थियौँ तर हाम्रो बलियो मानसिकताअनुरूप खेल्दा जितको अंक भेट्टायौँ,’ अरुणाले भनिन्, ‘इरानलाई सोझो सेटमै हराउने उद्देश्य थियो‚ त्यसमा पनि सफल भयौँ। आज ड्रप बल हुन नदिने भन्ने थियो र त्यो योजनाअनुरूप पनि भयो।’ 

अरुणाले इरानसँगको पहिलो खेलमा उनीहरूको महत्वपूर्ण पक्ष बुझ्न नसकेको र सेमिफाइनलमा उनीहरूको बलियो पक्षलाई रोक्न सफल भएको बताइन्।

फाइनलमा अझै केही सुधार गर्दै उपाधि सुरक्षित गर्न बलियो रणनीतिका साथ खेल्ने कप्तान शाहीको अपेक्षा छ।

नेपालका प्रशिक्षक जगदीश भट्टले इरानसँग सेमिफाइनल खेल्नुअघि आफ्ना खेलाडीको मानसिकता बलियो बनाएकाले सोझो सेटमा जित्ने लक्ष्य पूरा भएको बताएका छन्। 

सेमिफाइनलमा उषा भण्डारी र निरुता ठगुन्नाको पोजिशन परिर्वतन गरेर खेलाउने रणनीति सफल भएको खुलासा गरे। बीचमा इरानको बलियो ब्लक हुने भएकाले त्यो स्थान खाली राखेर उषालाई नयाँ जोनबाट खेलाउने रणनीति सफल भएको प्रशिक्षक भट्टको भनाइ छ। 

उनले इरानभन्दा भारतसँग खेल्न सजिलो हुने भएकाले फाइनलमा अझ राम्रो खेल हुने आशा गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.