अध्यक्षमा गृहमन्त्रीका भाइ, महासचिवमा उपराष्ट्रपतिका छोरा !

|

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन आउँदो भदौ ७ गतेदेखि ११ गतेसम्म काठमाडौंको कीर्तिपुरमा हुँदै छ।

७६ भौगोलिक जिल्ला र १० गैर भौगोलिक जिल्ला गरी ८६ जिल्लाका दुई हजार ६७ जना प्रतिनिधि सम्मेलनमा सहभागी हुने अखिल क्रान्तिकारीका अध्यक्ष  नरेन्द्र न्यौपानेले जानकारी दिए। देशैभर एकै दिन साउन २८ गते सम्मेलनमा सहभागी हुने प्रतिनिधि छनोट गर्ने क्रान्तिकारीको योजना छ।

जम्बो समितिलाई चुस्त बनाइने

अखिल क्रान्तिकारीमा अहिले ९ सय ९९ सदस्य रहेको जम्बो केन्द्रीय समिति छ। गत साल जेठ पहिलो साता १० माओवादी घटकबीच एकीकरणपछि गठित माओवादी केन्द्रले करिव ४ हजार जनाको केन्द्रीय समिति बनाएको थियो।

त्यसपछि उसका भातृ संगठनहरूले पनि घटीमा २५ देखि बढीमा ९ सय ९९ सदस्यी केन्द्रीय समिति बनाएका थिए। माओवादीका २५ भातृ संगठन मध्ये सबैभन्दा धेरै ९ सय ९९ केन्द्रीय सदस्य  अखिल क्रान्तिकारीले नै बनाएको थियो। 

ठूलो संगठन हुँदा बैठक बस्नदेखि सांगठनिक काम गर्नसमेत समस्या भएकोले अब बन्ने कमिटी सानो र चुस्त दुरुस्त बनाउने निर्णय क्रान्तिकारीले गरेको छ। साउन १२ गते बसेको केन्द्रीय समिति सचिवालय बैठकले २१ औं सम्मेलनबाट १९९ सदस्य रहेको केन्द्रीय समिति बनाउने निर्णय गरेको छ।

१९९ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष १, उपाध्यक्ष ६ (खुला ३, छात्रा १, मधेसी १ र मनोनित १)),खुल्ला महासचिव १, उपमहासचिव ३ (खुला २, छात्रा १),१३ सचिव (प्रदेश ७, छात्रा २, मधेसी/मुस्लिम १ र विश्वविद्यालय, विभाग र कार्यालय १) र कोषाध्यक्ष १ गरी २५ जना पदाधिकारी चुनिनेछन्।  

अध्यक्षमा क-कसको दाबी?

फोटोः बसन्ता भण्डारीको फेसबुकबाट। 

५ लाख भन्दा बढी साधारण सदस्य रहेको दाबी गर्ने अखिल क्रान्तिकारीमा नेतृत्वका लागि ठूलै हानथाप छ। नेताहरूले अध्यक्षदेखि अन्य पदहरूमा सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गर्न थालिसकेका छन्।

वर्तमान केन्द्रीय समितिका २९ उपाध्यक्ष सबैले अनौपचारिक रुपमा अध्यक्ष बन्ने चाहना देखाएको भए पनि मनोनयन दर्ता नभइ केही भन्न नसकिने अध्यक्ष न्यौपाने बताउँछन्। 'अहिलेको कमिटीमा रहेका उपाध्यक्षहरू स्वाभावैले जाने अध्यक्ष मै हो। सामान्य रुपमा चाहना त सबैको अध्यक्ष बन्न पाए हुने भन्ने छ तर अन्ततः अध्यक्ष बन्ने त एकजना मात्रै हो’, न्यौपानेले भने।

अध्यक्ष पदका लागिमात्र १० जनाभन्दा बढीले आकांक्षा देखाएको नेताहरू बताउँछन्। नेताहरू अनिल शर्मा, आरसी अधिकारी, मदन अर्याल, पञ्चा सिंह, रञ्जित तामाङ, खुसीराम चौधरी, उत्तम अधिकारी, वीरेन्द्र बस्नेतलगायतले अध्यक्षमा आकांक्षा देखाएका छन्।

लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय अनिल शर्मा रुकुम जिल्लाका हुन्। उनी गृहमन्त्री जनार्दन शर्माका भाइ हुन्। अध्यक्षका दावेदार बस्नेत वर्तमान महासचिव हुन् भने अरु सबै उपाध्यक्षहरू हुन्। 

चितवन घर भएका अधिकारी पार्टी अध्यक्ष प्रचण्ड निकट मानिन्छन्। मदन अर्याल नेता नारायणकाजी श्रेष्ठ निकटका हुन् भने उत्तम अधिकारी, वीरेन्द्र बस्नेत र खुसीराम तामाङ्ग नेता रामबहादुर थापासँगै एकीकरणबाट आएका हुन्। कालिकोट घर भएकी एकमात्र महिला नेत्री सिंह अध्यक्ष प्रचण्ड निकट मानिन्छिन्।

अन्य पदमा दाबी

उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनले महासचिवमा आकांक्षा देखाएका छन्। त्यसैगरी राजेश्वरी सुवेदी, विजय गौतम र सुनिता किरातीले पनि महासचिव पदमै दाबी गरेका छन्। 

अहिले ५९ जना सचिव रहेको अखिल क्रान्तिकारीमा नयाँ बन्ने कमिटीको लागि सचिव पदमा आकांक्षा देखाउनेहरू पनि १२ जनाभन्दा बढी छन्। महिलाबाट बसन्ता भण्डारी, विष्णु महत, स्मृति अधिकारी लगायतले सामाजिक सञ्जाल मार्फत सचिव पदमा इच्छा देखाएका छन्।

पहिलो पटक हुँदै छ निर्वाचन

५२ वर्षको ऐतिहासिक विरासत बोकेको क्रान्तिकारीले पहिलोपटक नेतृत्व चयनका लागि निर्वाचन गर्ने घोषणा गरेको छ। यसअघिका सम्मेलनहरूमा कि सहमतिबाट कि पार्टीको निर्देशन तथा दवाबबाट नेतृत्व चयन हुने गरेको थियो। यो पटक निर्वाचन गर्ने कुराले संगठनभित्र नयाँ तरंग आएको क्रान्तिकारीकी उपाध्यक्ष सिंह बताउँछिन्।

तर अध्यक्ष न्यौपाने भने यसअघिका सम्मेलनहरूमा पनि दावेदार धेरै हुँदा निर्वाचनको चर्चा चलेको भन्दै यसपटक निर्वाचन गर्ने विषय नयाँ र अचम्मको नभएको बताउँछन्। ‘चुनाव सामान्य प्रक्रिया हो। चुनावका कुरा अगाडि पनि उठेका हुन् तर चुनाव हुन्छ नै भन्ने छैन', उनी भन्छन्, 'सकेसम्म सहमतिबाटै नेतृत्व हस्तान्तरण हुन्छ।  सहमति नभए मात्र चुनावमा जाने भनिएको हो। चुनाव चुनाव भनेर तरंगित हुन जरुरी छैन।’

चुनाव हुने नहुने बहसका बीच क्रान्तिकारीले निर्वाचन समिति भने गठन गरिसकेको छ। पूर्व अध्यक्ष रमेश मल्लको नेतृत्वमा गठित ५ सदस्यीय निर्वाचन समितिमा रत्न ढकाल, सन्तोष बिष्ट, प्राध्यापक बिष्णु खनाल र अधिवक्ता गणेश पाण्डे सदस्य छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.