काठमाडौं : पहिले झरी, खेतबारीका बालीलगायत प्राकृतिक कुराले तीजको संकेत गर्थे। अहिले दुई महिनाअघिदेखि नै सार्वजनिक हुने गीतले यसको संकेत गर्छ। पछिल्लो दुई दशकमा तीज मनाउने तरिकामा जसरी परिवर्तन आयो, गीतमा पनि त्यो परिवर्तन देख्न सकिन्छ।
तीज चेलीबेटीको पर्व हो। चेलीबेटी व्यक्तिगत भोगाइ, उनीहरूलाई परेका पीरमर्काका कुरा, अरूलाई भन्न नसकेका कुरा गीतमार्फत सार्वजनिक हुने गर्थे। तर पछिल्लो समयका गीतमा यस किसिमका विषय उठान हुँदैन।
पहिले कुनै गाउँमा घटेका घटना, कसैको व्यक्तिगत भोगाइलाई एउटा लय दिएर कसैले रचना गरेको गीत एउटा गाउँ, अर्को गाउँ गर्दै फैलिने, अघिल्लो वर्ष सुनेकै भरमा अरू अरू वर्ष पनि त्यो गीत गाइने र त्यो समयको कथा बोल्ने एउटा रचना वर्षौँसम्म बाँच्ने गरेका थिए। अहिले संख्यात्मक रूपमा धेरै गीत आए पनि गीतको आयु भने कम हुने गरेका छन्।
पहिले थोरै गीत आउँथे, तिनमा चेलीकै सुखदुःखका कथा आउँथे। अहिले धेरै गीत आउँछन्, तर आउनुपर्ने चेलीका कथा आएका छैनन्। उच्छृंखल गीत आएका छन्। विकृति आएको छ। पछिल्लो समय तीज चेलीको नभएर पुरुषको पर्व जस्तो बन्दै गएको छ।
यतिसम्म कि अहिले तीज गीत भनेर आएका कतिपय गीत सुन्दा मुख छोप्नुपर्ने अवस्था छ। तीजकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले विज्ञप्तिमार्फत माफी नै मागिन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय सदस्यसमेत रहेकी उनले आगामी दिनमा शब्द र संगीत छनोट गरेर गाउने प्रतिबद्धता जनाइन्।
एकातिर सस्तो लोकप्रियता अर्कोतिर ‘भ्युज’को लोभमा पिल्सिएको छ,तीजका गीत। यसपटकका तीज गीतको चौतर्फी आलोचना भइरहेको छ। भद्दा शब्द प्रयोग गरिएको भन्दै आलोचना भइरहेका छन्।
सामाजिक सञ्जालमा बिस्ताराले पोल्यो, दिउँला बरिलै र मादलु घन्काइदेउजस्ता गीतहरूका कारण लोकसंगीतकर्मीमाथि आम दर्शकले सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन्।
पछिल्लो समय तीज गीतका कारण सर्जकदेखि मोडलसम्म विवादमा छन्। अपाच्य शब्द जोडेर त्यसैअनुसारको ‘गेटअप’ र हाउभाउले यी तीजका गीत भन्नै अप्ठ्यारो अवस्था सिर्जना भएको छ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका उपमहासचिव शिरिष देवकोटाले अहिले आएका तीजले स्वंय कलाकार पनि सन्तुष्ट हुने आधार नभएको बताए।थाहाखबरसँग कुरा गर्दै उनले भने, व्यक्तिगतरूपमा म आफैँ पनि सन्तुष्ट छैन। कतिपय सर्जकले तीजको मर्ममाथि नै प्रहार गरिररहनु भएको छ। यो गलत कार्य हो।'
कुनै समय तीज गीत महिलाहरूको लागि ‘थेरापी’ जस्तो हुन्थ्यो। वर्षभरिका व्यथा साथीसँगीसँग साट्थे। घरमा आफूले पाएको दुःख, नयाँ परिवारमा भिज्न कति गाह्रो भयो, भिज्न सकियो सकिएन, आफूहरू अहिलेको अवस्थाबाट उठ्न कसरी सकिन्छ भनेर सल्लाह गर्थे।
घरमा हुँदा माइतीको सम्झनाले कसरी सताउँथ्यो। तीजमै माइत आउन कति दुःख गर्नुपर्यो, पोहोर साल किन आउन पाइएन, अथवा आफूलाई बुझ्ने असल श्रीमान्, सासूससुरा छन् भने तिनका पनि कुरा हुन्थ्यो। सुखका मात्र होइन दुःखका गीतमा पनि नाच्थे। जसले उनीहरूको मानसिक स्वास्थ्यमा पनि सकारात्मक भूमिका खेल्थ्यो तर अहिलेका गीतले तीजको मर्म नै छायामा पारेको छ।
अचेल तीजको नाममा अनेकथरी गीत आए पनि प्रतिष्ठानले रोक्न सकेको छैन। आखिर किन त? देवकोटा भन्छन्, 'हामीसँग कानुनी अधिकार छैन। हामीले ध्यानाकर्षण गर्न सक्छौं। त्यस्ता खालका कलाकारहरूलाई सम्झाइ-बुझाइसम्म गर्न सक्छौँ।'
तीज गीतमा अहिले चेलीका कथा बाहिर आउन सकेका छैनन्। अहिलेका तीज गीतमा जसरी अहिलेको समय चित्रण गर्नुपर्ने हो, जसरी अहिलेका चेलीहरूको यथार्थ कथा आउनुपर्ने हो त्यो आएको छैन। जसको पर्व भनेर भनिन्छ उनीहरूकै व्यथा, मर्म छायामा परेको छ। यो गम्भीर कुरा हो।
अहिलेका सबै गीत सबै गलत वा खराब छन् भन्ने होइन। हरिदेवी कोइराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सिन्धु मल्ल, राधिका हमाल, देवी घर्ती र विष्णु माझीलगायतका गीत आज पनि जनमनमा छ। सर्जकले जे सिर्जना गरिदिन्छ, त्यो नै दर्शकले सुन्ने हो। केही जमातले केही समयका संस्कृति मास्ने गीतलाई वाहवाही गरे पनि एउटा जमात आज पनि जीवित छ, जो संस्कार र संस्कृति बचाउन चाहन्छ। ती जमातले यस्ता खालका सर्जकलाई सम्मान गर्नेवाला छैनन्। कुनै व्यक्तिलाई तोकेर गल्ती गरिरहेको भन्ने आक्षेप लगाउनु भन्दा पनि यो विकृतिविरुद्ध सबैले आफूलाई प्रश्नचाहिँ जरूर गर्नुपर्छ।
केही कलाकारले बजारमा उत्पादन र वितरण गरेका गीत सुन्नयोग्य नै छैनन्। सबैले राता सारीहरू लगाएर ना हेनछन् भने यो तीजको गीत हो कि भन्ने अनुमान लगाउने हो। गीत सुन्दै जाँदा तीजको मर्मविपरीत भइरहेको छ।
प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले नेपाली संस्कृति जोगाउन अहोरात्र खटिएका धेरै कलाकार रहेको र एकाध व्यक्तिले तीजको मौलिकता मास्ने काम गरेको बताइन्। 'कुनै पनि संस्कृति जोगाउन कलाकार स्वयं पनि जिम्मेवार हुनुपर्छ', उनले भनिन्, 'संस्कृतिमाथि भइरहेका प्रहारमाथि राज्य पनि निर्मम हुनुपर्छ।'
उनले वर्षौदेखि हाम्रा मूल्य र मान्यता जोगाउन कस्सिएका सर्जकको बारेमा मिडियाले स्थान दिनुपर्ने बताइन्। 'लाइक र भ्युजमा रूमलिरहेका गीतलाई पनि मिडियाले धेरै स्थान दिन बन्द गर्नुपर्छ', उनले भनिन्।
पछिल्लो समय तीज गीतको विषयवस्तु र शैली भड्किलो बनेको वरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले बताइन्। रासससँग कुरा गर्दै उनले मौलिक संस्कृतिसँग जोडिएको तीज गीतको जगेर्ना र संरक्षणमा गर्नुपर्नेमा नयाँ पुस्ता उल्टै बिगार्नेतर्फ लागेको तर्क गरिन्। 'तीज गीतको विधान खल्बलिँदै गएको छ, यसको मूल मर्म भत्किसकेको छ', कोइरालाले भनिन्, 'तीज पर्व मान्नै शैली पनि बदलियो। हाम्रो मौलिक संस्कृति आधुनिकताको मारमा परिरहेको छ।'
तीज गीत जहिले पनि घटनाप्रद हुने हुँदा तीजको गीतले घटना खोज्ने लोकगायिका कोइरालाको तर्क छ। तर हिजोआज घटनाभन्दा पनि क्षणिक र सस्तो रमाइलोका विषयवस्तु हाबी भइरहेकोप्रति उनको गुनासो छ। 'तीज गीतको पौराणिक मान्यता पनि घटना र विषयवस्तुसँग जोडिएको छ’, उनले भनिन्,‘युग सुहाउँदो, चेतना जागृत गर्ने खालका र समसामयिक विषयवस्तु तीज गीतमा उठान हुनुपर्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।