पर्वत : सुख्खा पहिरो खसेपछि मालढुङ्गा–बेनी सडकखण्ड अवरुद्ध भएको छ।
जिल्लाको जलजला गाउँपालिका–८ खनियाघाटमा सोमवार विहानदेखि निरन्तर झरिरहेको सुख्खा पहिरोले मालढुङ्गा–बेनी सडकखण्ड आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको नाग्लीवाङका वडाध्यक्ष हरि विकास जिसीले जानकारी दिए।
निरन्तरको वर्षासँगै सडकभन्दा माथिको फराकिलो क्षेत्रफलमा रहेको जमिनको भाग नै लच्किएको र वर्षा रोकिएपछि पनि गेगर, ढुङ्गा र माटो झर्ने क्रम नरोकिँदा सडक सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ।
दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे साना सवारीहरू सोही स्थानबाट आउजाउ गरिरहेको भए पनि मालवाहक ट्रक, बस तथा अन्य हेभी सवारी आउजाउ गर्न सक्ने अवस्था नरहेको वडाध्यक्ष जिसीले बताए।
एक्स्काभेटर लगाएर बाटो सफा गर्दा माथिबाट निरन्तर झरिरहेको गेगरले मानवीय तथा भौतिक क्षतिको जोखिम बढेपछि बाटो सफा गर्न जानसमेत नसकेको उनले बताए।
उक्त सडक आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको र दुर्घटनाको जोखिम रहेकाले उक्त सडक प्रयोग नगरी वैकल्पिक सडक प्रयोग गर्न उनले अनुरोध गरेका छन्।
यो सडकको विकल्पमा बागलुङ–रत्नेचौर–बेनी सडकको बाटो प्रयोग गर्न सकिन्छ। मालढुङ्गा–बेनी सडकको तुलनामा बागलुङ–रत्नेचौर–बेनी सडक लामो र साँघुरो भएकाले सवारीहरू सकेसम्म यो बाटो अपनाउँदैनन्।
तर जोखिम मोलेर मालढुङ्गा–बेनी सडक प्रयोग नगर्न र वैकल्पिक सडक प्रयोग गर्न वडाध्यक्ष जिसीको अनुरोध छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।