असोजभित्र सञ्चालनमा ल्याउने तयारी

|

काठमाडौँ : भूकम्पले क्षति पुर्‍याएपछि पुनर्निर्माण भइरहेको धरहरा बनिनसक्दै विवादमा परेको छ। काठमाडौँ महानगरपालिकाले धरहरा बनिनसक्दै नि:शुल्क पार्किङ खोलेपछि प्रधानमन्त्री केपी शर्मा ओली महानगरपालिका प्रमुख बालेन साहसँग रुष्ट छन्। 

महानगरपालिकाले २०८० माघ १४ गतेदेखि धरहरा पार्किङ भवनको पहिलो तलामा नि:शुल्क पार्किङ खुलाएको थियो। त्यसरी निःशुल्क पार्किङ नखुलाउनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ। धरहरा नबन्दै नि:शुल्क पार्किङ खोलिदिएपछि प्रधानमन्त्री ओलीले धरहरा पालिका विशेषको नभएको बताएका छन्। 

साउन १४ गते मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उनले भनेका छन्, ‘धरहरा बनेको छ, मान्छे चढ्न चाहन्छन्,चढ्न पाएको छैन। त्यहाँ पार्किङ बनेको छ, तयार भइसकेको छैन, निःशुल्क पार्किङ भनेर ल्याएर पार्किङ गरायो, सरकारले त्यत्रो खर्च गरेको छ। यो पालिका विशेषको होइन, खुलाउनुपर्छ।’ 

उक्त दिन महानगरपालिकाले धरहरा कब्जा गर्न लागेको झैँ उनले आक्रोश नै व्यक्त गरेका थिए। धरहरालाई आम्दानी स्रोत बनाउनुपर्ने उनको जोड छ। ‘आफ्नो आँगनमा बाहेक पार्किङमा पैसा तिर्नुपर्छ, त्यति भए पैसा उठ्छ, गाडी चढ्ने मान्छेले चार्ज तिर्न सक्दैन भन्ने हुँदैन’, उनले भने। 

उनका अनुसार ‘मै बनाउँछु मेरो धरहरा’ अभियानबाट करिब ३६ करोड उठेको छ। उनले व्यवस्थित ढंगले धरहरा सञ्चालन गर्न र कुन निकायलाई दिने भन्नेमा कार्यविधि बनाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिए। ‘धरहरालाई व्यवस्थित ढंगले सञ्चालन गर्ने काम गर्नुपर्छ’, उनले भनेका छन्, ‘त्यसैले कुन मन्त्रालयले कहाँबाट सञ्चालन गर्ने भनेर कार्यविधि बनाउनु।’ 

उद्‍घाटनको ३ वर्षपछि असोजमा धरहरा सञ्चालनमा ल्याउने तयारी

२०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढल्यो तर सरकारको आलटालका कारण समयमा पुनर्निर्माण शुरु हुन सकेन। धरहरा ढलेको ३ वर्षपछि मात्रै पुनर्निर्माणको काम थालियो। उनै ओली प्रधानमन्त्री भएका वेला ‘मै बनाउँछु मेरो धरहरा’ भन्दै पुनर्निर्माणका लागि २०७५ पुस १२ मा शिलान्यास गरे।

पुनर्निर्माणको कामै नसकी ३ वर्षअघि नै उनले उद्घाटन गरिसकेका छन्। निर्माणाधीन धरहराको कामै नसकी जस पाउन उनै ओलीले हतारहतार २०७८ वैशाख ११ मा उद्घाटन गरेका थिए। त्यसपछि उनको चौतर्फी आलोचना भयो। ओलीले अनावरण गरेको धरहराको शिलालेख पनि पछि निकालियो।

धरहरा उद्घाटन भएको ३ वर्ष बितिसक्दा पनि अझै धरहरा पुनर्निर्माण सम्पन्न हुन सकेको छैन। शहरी विकास मन्त्रालयका सहसचिव तथा केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले हालसम्म ९६ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए। बाँकी काम सकेर आगामी असोजभित्र धरहरा सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए।

उनका अनुसार प्रधानमन्त्री ओलीको सय दिने उपलब्धि कार्यक्रममा आफैँले शिलान्यास गरेको धरहरा सञ्चालन ल्याउने गरी यतिखेर काम भइरहेको छ। ‘९६ प्रतिशत काम सकिएको छ, अब बिजुलीका तार जोड्ने लगायत केही काम बाँकी छ’, उनले भने।

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले पनि ओलीकै सयदिने उपलब्धि कार्यक्रममा धरहरा सञ्चालन ल्याउन बाँकी काम चाँडो सक्न कार्यान्वयन एकाइलाई निर्देशन दिइसकेका छन्। धरहरा निर्माणका लागि जिआइइटिसी–रमन जेभीसँग तीन अर्ब आठ करोड रुपैयाँको सम्झौता भएको छ।

जिम्मा दिए हामी चलाउन तयार छौँ : महानगर

काठमाडौँ महानगरपालिकाले आपत्‌कालीनका लागि नि:शुल्क पार्किङ मात्रै खुलाएको र जसले धरहरा बनाएको छ उसैले सञ्चालन गर्ने प्रतिक्रिया दिएको छ। सरकारले जिम्मा दिएमा महानगरपालिका आफैले पनि धरहरा सञ्चालन गर्नेछ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘हामीले आपत्‌कालीन पार्किङ मात्रै खुलाएका हौँ। यसको सञ्चालन त जसले बनाएको हो उसैले गर्छ। यदि केन्द्र सरकारले हामीलाई सञ्चालनको जिम्मा दिए व्यवस्थित ढंगले चलाउन तयार छौँ।’

धरहरा सञ्चालनको लागि कार्यविधि बनाइने

धरहरा पुनर्निर्माण भएको ६ वर्ष बितिसक्दा पनि अझै यसको क्षेत्र अधिकार तोकिएको छैन। धरहरा सञ्चालन जिम्मा, स्वामित्व केन्द्र सरकारले लिने कि महानगरपालिकालाई दिने भन्ने बल्ल कार्यविधि बन्ने चरणमा छ।

शहरी विकास मन्त्रालयकी उपसचिव एवं प्रवक्ता विनु बज्राचार्य कुँवरले यसका लागि कार्यविधिका लागि छलफल भइरहेको जानकारी दिइन्। उनले भनिन्, ‘धरहरा सञ्चालन, व्यवस्थापनको जिम्मा कसलाई दिने भन्नेमा छलफल भइरहेको छ। कार्यविधि बनेपछि क्षेत्राधिकार सबै तोकिन्छ,अहिले धरहरा विवादमा परेको होइन र विवादमा पार्नु पनि हुँदैन।’ 

धरहराको इतिहास

धरहरा वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरूप निर्माण गरेको इतिहासमा उल्लेख छ। त्यस समयमा यसको उचाइ ११ तलाको ६१.८८ मिटर अग्लो थियो। ९० सालको भूकम्पले भत्काइदिएपछि दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जंगबहादुर राणाले नौ तला कायम गरी पुनर्निर्माण गरेका थिए।

पुरानो धरहराअगाडिको ४२.२ रोपनी क्षेत्रफलमा यतिखेर धरहरा पुनर्निर्माण भइरहेको छ। धरहरामा भर्‍याङसँगै लिफ्टबाट उक्लिन सकिनेछ। धरहरामा अन्डरग्राउन्ड बेसमेन्ट हुनेछ। बेसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिएको छ। 

धरहरा परिसरमा दुई तलाको आकर्षक संग्रहालय हुनेछ। संग्रहालयमा पुराना सिक्का र सिक्का छाप्ने मेसिन प्रदर्शनीमा राखिनेछ। संग्रहालय जाने बाटोमा वाटर फाउन्टेन हुनेछ। वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ। प्रदर्शनी हल र चमेना गृह बनाउने पनि योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.