|

काठमाडाैँ : शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै सेरोफेरोमा घुमेर बिताएको माओवादी अहिले संघदेखि सबै प्रदेशको प्रतिपक्षी दल हो। ‘सत्ताको गुलियो’मा भुल्दा क्रमशः खिइँदै गएको माओवादी प्रतिपक्षीमा पुगेसँगै जनतामा जाने तयारीमा छ।

पार्टी संगठन निर्माणमा ध्यान केन्द्रित गर्ने भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब अवसर पाए पनि (यो कार्यकाल) प्रधानमन्त्री नबन्ने घोषणासमेत गरिसकेका छन्। मंगलबार (साउन २२ गते) विराटनगरमा आयोजित प्रशिक्षण उनले अवसर आए पनि आफू प्रधानमन्त्री नबन्ने पहिलो घोषणा गरेका हुन्। 

कांग्रेस–एमाले गठबन्धन लामो नजाने विश्लेषण सुनाउँदै प्रचण्डले भनेका थिए, ‘सरकारमा जाने सम्भावना भए पनि म जादिनँ, पार्टीकै अर्कै साथीलाई सरकारको नेतृत्व गर्न पठाउँछु।’

काठमाडौं फर्केपछि बुधबार (साउन २३ गते) पनि प्रचण्डले यो कार्यकालभर प्रधानमन्त्री नबन्ने अभिव्यक्ति दोहोर्‍याए। पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित प्रशिक्षण कार्यक्रममा उनले भने, ‘कतिपयलाई लाग्ला मौका मिल्नेबित्तिकै प्रचण्ड फेरि प्रधानमन्त्री बन्न गइहाल्छ! तर अब म यो कार्यकालमा प्रधानमन्त्री हुन्न। पार्टी बनाउने संकल्प मैले लिएको छु। अहिलेलाई प्रधानमन्त्री पुग्यो अब। भोलि एक नम्बर पार्टी भयो भने के गर्ने? त्यसै वेला सोचौंला।’

प्रचण्डले प्रधानमन्त्री नबन्ने घोषणासँगै पार्टीलाई आगामी निर्वाचन एक्लै लडेर ठूलो दल बन्ने गरी तयार गर्ने संकल्प लिएको बताए। विभाजित माओवादी घटकहरू पनि एक ठाउँमा आउने वातावरण बन्दै गएको उनको जिकिर छ। 

‘अब तपाईं हामीले पनि आँट गर्नुपर्‍यो एक्लै लड्ने। चाहिएन बैसाखी। एक्लै लड्दा बढी सीट ल्याइन्छ। २०६४ मा पनि एक्लै लड्यौं, ल्यायौं, विभाजन भयो हार्‍यौं’, उनले भने, ‘अहिले एकता हुँदै छ, जित्छौं। आउँछन् सबै माओवादीमा, सबैसँग कुरा भइरहेको छ। सबैलाई चाहिएको छ एकता। सबैलाई प्रचण्डको विकल्प छैन भन्ने परेको छ।’ 

प्रचण्डले माओवादी घटकहरू एक ठाउँमा आउन लागेको दाबी गरिरहँदा उनी नेतृत्वकै पार्टी विभाजनको डिलमा रहेको चर्चा पनि राजनीतिक वृत्तमा छ। त्यसो त पार्टीमा प्रशस्तै असन्तुष्टि नदेखिएका हाेइनन्। अवसरको बाँडफाँड, कार्यविभाजन र नेतृत्वको भूमिकालाई लिएर माओवादीमा धेरै असन्तुष्टि सुनिने गरेका छन्। 

तर अध्यक्ष प्रचण्डले भने पार्टी एकजुट रहेको दाबी गरेका छन्। कुनै हालतमा पार्टी फुट्न नदिइने पनि उनको भनाइ छ।  

‘तपाईंहरूलाई चिन्ता छ, पार्टी के हुन्छ, गुटहरू छन्, गुटैगुट, पार्टी फेरि फुट्ने पो हो कि !’, उनले भने, ‘म के भन्न चाहन्छु भने पार्टी अब फुटतिर होइन, हिजो फुटेकाहरू पनि सबै जुट्नेतिर आएका छन्। त्यसको नेतृत्व फेरि एकपटक मैले गर्ने आँट गरेको छु। यो पार्टीलाई कुनै हालतमा फुट्न दिइँदैन। फुटेकालाई जुटाइन्छ।’ 

प्रचण्डले माओवादी घटकहरू एक ठाउँमा आउन लागेको दाबी गरिरहँदा उनी नेतृत्वकै पार्टी विभाजनको डिलमा रहेको चर्चा पनि राजनीतिक वृत्तमा छ। त्यसो त पार्टीमा प्रशस्तै असन्तुष्टि नदेखिएका हाेइनन्।

अध्यक्ष प्रचण्डले सबै माओवादी एक हुने भनिरहँदा अन्य घटकहरू भने जुट्नका लागि सुधार गर्नुपर्ने धेरै काम बाँकी रहेको बताउँछन्। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का प्रवक्ता कृष्ण शर्मा प्रचण्डले नै गम्भीर आत्मसमीक्षा गरेर नसुध्रिएसम्म एकता सम्भव नरहेको बताउँछन्। 

‘माओवादी राजनीतिको मूल नै बिग्रेको हो। मुहान सफा नभएसम्म अरू सफा हुँदैनन्’, उनी भन्छन्, ‘त्यसकारण नेतृत्व पहिला रूपान्तरण हुनुपर्‍यो। हिजो जतासँग के प्रतिबद्धता जाहेर गरिएको थियो ? के उद्देश्यले जनयुद्ध लडियो ? के उद्देश्य प्राप्ति भयो र के बाँकी रहे ? यी सबै विषयमा जनतासँग एउटा गम्भीर आत्मसमीक्षा नभएसम्म र त्यसमा सार्वजनिक रूपले आत्मालोचना गर्दै नसुध्रिएसम्म एकता सम्भव छैन।’ 

प्रवक्ता शर्माले सत्ताबाहिर हुँदा मात्र प्रचण्डले जनता र आफ्नो वर्ग सम्झने गरेको टिप्पणी गरे। पार्टीभित्रै पनि प्रश्न उठिरहेकाले विश्वास गर्ने थप आधार नभएको उनी बताउँछन्। ‘सत्ताबाहिर रहँदा मात्र जनताको एजेन्डा उठाउने, सत्ता जाँदा भुल्ने’, उनी भन्छन्, ‘उहाँमाथि बाहिर मात्रै प्रश्न उठेका छैनन्, पार्टी भित्रै पनि छन्। त्यसकारण विश्वास गर्ने आधार छैन।’    

स–साना टुक्रामा विभाजित माओवादीहरूले पनि ध्रुवीकरणको आवश्यकता महसुस नगरेका भने होइनन् तर अहिलेकै अवस्थामा भने एकता गर्नुको कुनै अर्थ नहुने नेकपा माओवादी–समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी बताउँछन्। 

‘आवश्यकताको हिसाबले माओवादी ध्रुवीकरण जरुरी छ’, उनी भन्छन्, ‘तर पुर्नसंरचना गरेर मात्रै नयाँ ढंगले अघि बढ्न सकिन्छ। अबको एकता देश, जनता र वर्गप्रति जवाफदेही भएको, परिवर्तनका प्रतिविम्ब देखिने हुनुपर्छ। नयाँ पुस्तालाई नयाँ ढंगले जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यका साथ मात्रै अबको एकता सम्भव छ। होइन भने पुरानै ढंगको पुरानै विधिबाट गरिने एकताको कुनै अर्थै छैन।’ 

माओवादी कन्युनिष्ट पार्टी, नेपालका महासचिव रामनारायणप्रसाद पाल पनि विकृतिविरुद्ध लड्ने आँट प्रचण्डमा नदेखिएकाले माओवादी बृहत् एकताको सम्भावना नरहेको बताउँछन्। 

‘अहिलेको विकृतिविरुद्ध लड्न थालेपछि बल्ल माओवादी एक हुन्छन्’, उनी भन्छन्, ‘तर यो सम्भव देखिन्न। किनभने माओवादी भन्नेहरू सुविधाभोगी भए। जसको विरुद्धमा हिजो लडियो, आज तिनैसँग साँठगाँठ गरियो। त्यसकारण माओवादी एक हुन्छ जस्तो मलाई लाग्दैन।’

अप्ठ्यारो परेका वेला मात्र प्रचण्डले एकताको कुरा गर्ने गरेको महासचिव पालको आरोप छ। 

समाजवादी मोर्चामा सँगै रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भने माओवादीहरूबीचको एकता सम्भव रहेको बताउने गरेको छ। विप्लव नेकपाका केन्द्रीय सदस्य एवं उपत्यका इन्चार्ज माइला लामा माओवादी एकताको आवश्यकता औंल्याउँदै भन्छन्, ‘सबै माओवादी एक ठाउँमा आउनुपर्छ। होइन भने क्रान्तिकारी आन्दोलन कमजोर हुन्छ र भोलि देशमा ठूलो दुर्घटना निम्तिन सक्छ।’

प्रचण्डले सबै माओवादीलाई एक ठाउँमा ल्याएर फेरि एकपटक शक्तिशाली पार्टीको नेतृत्व गर्ने इच्छा व्यक्त गरे पनि त्यो सम्भवन नरहेको राजनीतिक विश्लेषकहरू औंल्याउँछन्।

प्रचण्डले सबै माओवादीलाई एक ठाउँमा ल्याएर फेरि एकपटक शक्तिशाली पार्टीको नेतृत्व गर्ने इच्छा व्यक्त गरे पनि त्यो सम्भव नरहेको राजनीतिक विश्लेषकहरू औंल्याउँछन्। विश्लेषक मुमाराम खनाल नेतृत्वबाट प्रचण्ड पछि नहटेसम्म अरू माओवादी एकताका लागि तयार नहुने भएकाले प्रचण्डको चाहना पूरा हुने सम्भावना देख्दैनन्। त्यसमा पनि आफूलाई अप्ठ्यारो परेका वेला मात्रै प्रचण्डले माओवादी एकताको आह्वान गर्ने गरेको उनको बुझाइ छ। 

‘प्रचण्डले यस्तो अवस्थामा मात्रै एकता गर्न सक्छन्, जब कोही उनको नेतृत्वलाई अकाट्य रूपमा स्वीकार गरेर झुकेर आउँछ’, विश्लेषक खनाल भन्छन्, ‘प्रचण्डले फेरि कुन वेला मात्रै एकताको आह्वान गर्नुहुहुन्छ भने जब अप्ठ्यारो पर्छ, आत्मबल कमजोर हुन्छ।’   

माओवादीका अन्य घटक एकतामा सहमत भइहाले पनि पार्टीभन्दा झगडा शक्तिशाली हुने विश्लेषक खनाल बताउँछन्। ‘अहिले भएकालाई त अड्याउन नसक्ने स्थिति छ भने अरू ल्याइए झन् के होला’, उनी भन्छन्, ‘सबै एकै ठाउँ भए पनि माओवादीलाई पुनर्जीवित गर्न अब सम्भव छैन। त्यो भयो भने त पार्टी शक्तिशाली होइन, झगडा बढी शक्तिशाली हुन्छ।’

अर्का विश्लेषक चन्द्रकिशोर भने प्रतिपक्षमा पुगेसँगै सत्ता राजनीतिले संगठन उभो लाग्दैन भन्ने भान प्रचण्डमा देखिएको बताउँछन्। त्यसै कारण कम्तिमा यो संसदीय कार्यकालभरी भए पनि प्रधानमन्त्री नबन्ने घोषणा प्रचण्डले गरेका उनी ठान्छन्। 

‘प्रचण्डले बुझ्नुभएको देखिन्छ कि सत्ता राजनीतिले मेरो संगठन उभो लाग्दैन र मेरो नेतृत्वको विश्वसनीयता पनि झन् गुम्दै जान्छ’, उनी भन्छन्, ‘त्यसकारण उहाँले म फेरि प्रधानमन्त्री पाए पनि जाँदिनँ भनेर घोषणा गर्नुभयो, जुन उहाँको बाध्यता हो र त्यसबाहेक विकल्प छैन पनि। किनभने संगठन जोगाउन र छरिएकालाई ल्याउन त्यो आवश्यक भइसकेको थियो।’ 

प्रचण्डका अहिलेकै सहयात्रीले पनि साथ छाड्न लागेका वेला प्रचण्डको यो निर्णय केही सकारात्मक सावित भएको बुझाइ विश्लेषक चन्द्रकिशोरको छ। ‘हुनेवाला के थियो भने उहाँकै पछाडिका साथीहरू विस्तारै अन्य संगठनमा जाने स्थिति थियो। पार्टी टुक्रिने र झन् कमजोर हुने, खिइने स्थिति थियो। त्यसलाई रोक्ने प्रयास स्वरूप यो निर्णय लिनुभएको देखिन्छ’, उनी भन्छन्, ‘तर यतिले मात्रै केही हुँदैन। उहाँले के गर्नुपर्‍यो भने नेतृत्वमा आफू दशकौं रहनेभन्दा पनि अब अरूलाई मौका दिनुपर्‍यो। आसेपासे, नातागोता भन्दा माथि उठ्नुपर्‍यो।’ 

गणतन्त्रपछि देखिएका बेथिति र विसंगतिहरूको एउटा मतियार माओवादी अध्यक्ष प्रचण्ड पनि भएकाले अब सुध्रिएर आफैँले बाटो छाडेर नयाँ सुरुवात गर्न सके माओवादीको भविष्य उज्ज्वल नै रहेको विश्लेषक चन्द्रकिशोर बताउँछन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.