|

काठमाडौँ : नेपाली आकाशमा दुई साताको अवधिमा दुई विमान दुर्घटना भए। सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दुई हप्ता नपुग्दै बुधवार एयर डाइनेस्टीको ९ एन–एजेडी दर्ता नम्बर रहेको हेलिकप्टर दुर्घटना हुन पुग्यो।

विमान दुर्घटनामा १८ जनाको ज्यान गयो भने हेलिकप्टर दुर्घटनामा चालक र ४ चिनियाँ नागरिकको मृत्यु भयो। गत वर्षको माघमा पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा पर्‍यो। काठमाडौँबाट पोखरा उडेको उक्त विमानमा यात्रारत सबै ६८ यात्रुले ज्यान गुमाए।

यसअघि १४ अक्टोबर सन् २०२३ मा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो। सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको ‘एन–एनजे’कलसाइन हेलिकप्टर जिल्लाको खुम्बु–पासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो।

यी त केवल उदाहरण मात्र हुन्। प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट’ अनुसार नेपालको हवाई इतिहासमा कूल एक सय १० हवाई दुर्घटनामा नौ सय ६५ जनाको मृत्यु भएको छ। यो हेलिकप्टर र विमान दुवै दुर्घटनाको विवरण हो।

नेपालमै पहिलो पटक सन् १९७९ मा लाङ्टाङमा हेलिकप्टर दुर्घटना भएको थियो। लाङ्टाङमा भिभिआइपी हेलिकप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भयो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल नेपालमा एकपछि अर्को हवाई दुर्घटनाले प्राधिकरणलाई गम्भीर बनाएको बताए। 

प्राधिकरणको विवरणमा एक सय १० दुर्घटनामध्ये ५१ मल्टिइञ्जिन विमान दुर्घटनामा चार सय ६९, आठ सिङ्गल इञ्जिन विमान दुर्घटनामा २५ र ४१ हेलिकप्टर दुर्घटनामा ९८, विदेशमा दर्ता भएका १० वायुयान दुर्घटनामा तीन सय ७३ को मृत्यु भएको छ। हरेक वर्ष नेपाली आकाशमा विमान दुर्घटनाका समाचार आइरहन्छन् र अकालमा नागरिकले ज्यान गुमाइरहन्छन्।

एकपछि अर्को हवाई दुर्घटनाले मुलुकको समग्र हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जिएको छ। हवाई दुर्घटनाले पुनः यो क्षेत्रलाई पुनःतरङ्गीत बनाएको छ। एकपछि अर्को हवाई दुर्घटनाले समग्रमा नेपालको नागरिक उड्डयन क्षमतामा समस्या छ भन्ने पुष्टि भएको उल्लेख गर्दै यसलाई सुधार्न नीतिगत र संरचनागत परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरू बताउँछन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जिव गौतमले जति पनि हवाई दुर्घटना भएका छन् ती सबै दुर्घटनाले नेपालमा एभिएसन सेफ्टीमा समस्या छ भन्ने संकेत गरेको बताए।

‘हवाई उड्डयन सुरक्षा हिजो पनि समस्या थियो, अहिले झनै समस्या देखिएको छ, त्यसैले नेपालको समग्र ‘सेफ्टी ओभरसाइड क्यापाबिलिटी इनह्यान्स’ गर्नुपर्छ, त्यसका लागि सरकारले नीतिगत रुपमा के-के काम गर्नुपर्ने हो त्यसतर्फ ध्यान दिन जरुरी छ’, उनले भने।

हवाई विज्ञ अच्युत पहाडी पनि गौतमको तर्कमा सहमत छन्। उनले बारम्बारको हवाई दुर्घटनाले मुलुकको हवाई सुरक्षामा गम्भीर लापर्बाही देखिएको जिकिर गरे।

‘नेपालका सबै एयरलाइन्सको, टेक्निकल अडिट, फाइनान्सियल अडिट र अप्रेसनल अडिट सुक्ष्म रूपमा नगर्ने हो भने छिट्टै अरु दुर्घटना निम्तने खतरा छ, त्यसैले सबै एयरलाइन्सको प्रभावकारी नियमन गर्न प्राधिकरण पनि गम्भीर बन्नुपर्छ’, पहाडीले भने।

चार दशक विमान उडाएका क्याप्टेन प्रचण्डजङ शाहले विमान दुर्घटनामा पहिलो मानवीय त्रुटी, दोस्रो प्राविधिक त्रुटी र तेस्रो मौसमी कारण नै रहेको बताए। हरेक वर्ष दुर्घटना बढ्नु चिन्ताको विषय बनेको उनको टिप्पणी छ। विमान दुर्घटना रोक्न सरकार र नियामक निकायले सुरक्षाका सम्पूर्ण मापदण्डलाई निर्मम भएर पालना गराउनुपर्ने थाहाखबरसँगको कुराकानीमा उनले भने। 

नियामक निकायहरू जिम्मेवार भएमात्र दुर्घटना रोकिने उनको दावी छ। ‘नियामक निकाय उत्तरदायी, पूर्ण जिम्मेवार र पारदर्शी हुन सकेमात्र दुर्घटना रोक्न सकिन्छ’, उनले भने।

नेपाली आकाश सुरक्षित नभएको सरकारकै स्वीकार

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको संकेत गरे। पछि आफ्नो कुरा सच्याउन खोजे पनि उनले त्यो कुरा खुलस्तरूपमा बताएका छन्।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा बिहिवार सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्धरूपमा काम गर्ने बताए।

उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का स्विकार गरे। ‘यसरी पटकपटक हवाई दुर्घटना हुनु भनेको हाम्रो आकाश आकाश सुरक्षित छैन भन्ने संकेत गरेको छ। यसले अन्तरराष्ट्रियस्तरमा मुलुकको छविमा आँच आउने अवस्था सिर्जना भएको छ’, मन्त्री गुरूङले भने।

सडकको पनि हालत उस्तै

नेपाली आकाश मात्र होइन सडकमा पनि दुर्घटनाको सिलसिला रोकिएको छैन। गत असार २८ गते बिहान ३ बजे चितवनको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भयो।

तीन जना सकुशल निस्किए। बगेर गएको २४ जनाको शव भारतको सीमासम्मका यत्रतत्र ठाउँमा फेला परे पनि ३८ जना अझै बेपत्ता छन्। भारतीय गोताखोरले खोज्दा पनि बेपत्ता दुई बस र बाँकी यात्रुको अवस्था अझै अज्ञात छ। खोजी कार्य स्थगित भएको छ।

तथ्यांकअनुसार मुग्लिन-नारायणगढ सडकखण्डमा आव ०७४/७५ मा ५१ वटा सवारी दुर्घटना भए। २८ जनाको मृत्यु हुँदा १३१ जना घाइते भए। आव ०७५/७६ मा ५५ वटा सवारी दुर्घटना हुँदा २८ जनाको ज्यान गयो। १८७ जना घाइते भए। आव ०७६/७७ मा ५७ वटा सवारीसाधन दुर्घटना भए। २४ जनाको मृत्यु भयो भने ११४ जना घाइते भए।

आव ०७७/७८ मा ७० वटा सवारीसाधन दुर्घटनामा १५ जनाको मृत्यु र १५४ जना घाइते भएको तथ्यांकमा उल्लेख छ। त्यस्तै, आव ०७८/७९ मा ८५ वटा सवारीसाधन दुर्घटनामा १८ जनाको ज्यान गयो भने २१३ जना घाइते भए।

आव ०७९/८० मा ५७ वटा सवारीसाधन दुर्घटना हुँदा ११ जनाको ज्यान गयो। १५९ जना घाइते भए। आव ०८०/८१ मा ५१ सवारीसाधन दुर्घटना भए। २१ जनाको मृत्यु र १३६ जना घाइते भएको तथ्यांकमा उल्लेख छ।

नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार नेपालमा दैनिक ५४ वटा दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुने गरेको छ। १४ जना गम्भीर घाइते हुने गरेका छन्।

१४ हजार ७६८ जना नागरिकले ज्यान गुमाए

बितेको पाँच वर्षमा साना र ठूला गरेर करिब १ लाख १६ हजार ९९९ दुर्घटनाहरू भएका छन्। जसमा बस करिब १४ हजार ५३८ दुर्घटनामा परेका छन्। नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार ८०/८१ को वैशाख मसान्तसम्म १ हजार ९४२ बस दुर्घटना भएका छन्।

७९/८० मा  २ हजार ८५० बस दुर्घटना भए। त्यस्तै, ७८/७९ मा  २ हजार ७८६ बस दुर्घटना भएका छन्। ७७/ ७८ मा  १ हजार ७१९, ७६/७७ मा  २ हजार ६०७ र आव ७५/ ७६ मा २ हजार ६३३ वटा दुर्घटना भएका छन्।

साना ठूला दुर्घटनामा करिब १४ हजार ७६८ जना नागरिकले ज्यान गुमाएका छन्। त्यस्तै दुर्घटनाबाट गम्भीर घाइते हुनेको संख्या ४० हजार ३८० रहेको छ।

नेपालमा करिब १ लाख किमि सडक सञ्जाल जोडिएको सडकविज्ञ आशिष गजुरेल बताउँछन्। उनका अनुसार त्यसमध्ये सडक विभागले २२ हजार सडक निर्माण गरेको छ। त्यसमा केही हदसम्म इन्जिनियर मापदण्डमा बनाइएको छ। बाँकी सडकहरू सडक निर्माण गर्न मात्र बनाइएको छ। उनले सडक विभागले बनाएको सडक पनि पूर्ण रूपले सुरक्षित नभएको टिप्पणी गर्छन्।

‘यसमा पनि कम्प्रमाइज्ड गरेर बनाइएको सडक छन्। सीमित स्रोतबाट धेरै सडक निर्माण भए। हामीले गाउँ गाउँ जोड्न लाग्यौँ। सुरक्षित सडक बनाउन लागेनौँ’, उनले थाहाखबर भने, ‘सडक विभागले निर्माण गरेका बाहेक अन्य सडक ज्यानमारा सडक हुन् जसलाई तत्काल बन्द गरे हुन्छ।‘

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.