news
विराटनगर : यो नदीको आफ्नै विशेषता छ। कथा खोज्दै जानेहरूका लागि कथाका थुप्रै पात्र बग्रेल्ती भेटिन्छन्।
एकैछिन नदी किनारमा रमाउनेहरूका लागि फोटो खिच्ने ठाउँ भेटिन्छ तर त्यही नदीको भँगालोमा हेलिनेहरूका लागि जीवन र मृत्युको लडाइँ छ। आँखाले नभ्याउने गरी फिजिएर आफ्नै वेगमा बगिरहेको सप्तकोशीले कसैको घरगृहस्थ थेग्न सघाएको छ भने कसैको परिवारलाई उठिबास लगाएको छ।
नदी आसपासका केही परिवार आकाश धमिलिदै गर्दा मनमा डुबानको डर जमाएर बस्न बाध्य छन्। यता बराहक्षेत्र नगरपालिका–६ का ४२ वर्षीय शिवकुमार मण्डल भने पानी पर्न थालेपछि नदी किनारमा पुग्छन्।
त्यो वेला उनलाई नदीले बगाएर ल्याएको दाउरा तान्न हतारो पर्छ। किनकि उनलाई पाँच परिवारको भरथेग बन्नु छ।
हिँउदभर ज्याला मजदुरी गरेर परिवारको खर्च जोहो गर्ने मण्डल बर्खाभरी सप्तकोशी किनारमा छोडिएको दाउरा तान्दै भार लगाउन व्यस्त हुन्छन्। उनी जस्ता थुप्रै सुनसरी जिल्लाको बराहक्षेत्र आसपासका मानिस नदीमा दाउरा तान्न जान्छन्।
नदी घटेको जस्तो हुँदा धेरै टाढा–टाढासम्म दाउरा तान्न जाने गरेको बताउने उनी दाउरा भारको ५ देखि ८ हजार रुपैयाँसम्म बेच्ने गरेको सुनाउँछन्। त्यही दाउराबाट आएको पैसाले घर चल्ने गरेको उनी सुनाउँछन्। डुङ्गा लिएर समूहमा दाउरा खोज्न नदी पारी पनि पुग्ने रहेछन्।
पानीको बहाव बुझ्न सक्नेले मात्रै ज्यान जोगाउन सक्ने अनुभव बताउँदै उनी भन्छन्, ‘पानीको छाललाई बुझ्नुपर्छ अनि मात्रै मान्छे बाँचिन्छ, नत्र त डुब्छ।’
आजसम्म आफूसँग जानेहरूले नराम्रो दुर्घटना बेहोर्नुपर्ने अवस्था नआएको उनी सुनाउँछन्। किनकि अनुभव भएकाहरू मात्रै नदी तर्न तयार हुनेरहेछन्।
यता ३५ वर्षीय हरेराम मोची मुटु दह्रो बनाएर राखेर नदीमा हेलिनुपर्ने सुनाउँछन्। घर खर्चको जोहो गर्नकै लागि खतरा मोल्न बाध्य भएको बताउँछन्। उनी भन्छन्, ‘घरबाट निस्किदा भरे के होला जस्तो लाग्छ। तैपनि परिवारका लागि हो काम गर्नैपर्छ।’
अरू काम गर्दा पनि हुन्छ नि ? भन्ने प्रश्नमा उनले बर्खामा भने जस्तो काम नपाइने भएकाले घरखर्च जुटाउन दाउरा तान्ने काम गरेको सुनाए।
उनीहरू वर्षेनि बर्खाको समय नदीमा बगेर आएको दाउरा तान्ने रहेछन्। हिउँदमा भने ज्याला मजदुरी काम गर्न जाने गरेको उनीहरूले बताए। नदीबाट तानेर जम्मा गरेको दाउरा त्यहीका स्थानीयवासीले खरिद गरी लग्ने रहेछन्।
चिरेको दाउरा बटुल्दै गर्दा नदी किनारमा भेटिएकी दिलमाया राई बिहानैदेखि दाउरा बटुल्न आएको सुनाउँछिन्। उनले घरमा खाना बनाउन, सँगुरको चारो, रक्सी बनाउनका लागि दाउरा लग्ने गरेको बताइन्। बर्खाको बाढीले ल्याएको दाउरा हिउँदमा बाल्नका लागि जम्मा गरेर राख्ने गरेको समेत उनले सुनाइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।