विद्यार्थीको ज्यान जोखिम भएपछि अभिभावक चिन्तित
विद्यार्थीको ज्यान जोखिम भएपछि अभिभावक चिन्तित
काठमाडौँ : हिजो (बिहीबार) बाँकेको कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५७० नम्बरको स्कुल बसले ढकेरी पुल नजिकै बाख्रागोठालालाई ठक्कर दिँदा एकजनाको मृत्यु भयो। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसले ठक्कर दिँदा राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भयो।
बसले ठक्कर दिँदा उनीसँगै १३ वटा खसीबाख्रा मरे भने अन्य केही खसीबाख्रा घाइते भए। ठक्कर दिने बस कोहलपुर नगरपालिका–१२ स्थित ज्ञानकुञ्ज बोर्डिङ स्कुलको हो। चालक कोहलपुर नगरपालिका-१३ का ३२ का प्रकाश विक अझै फरार छन्। के कारण बस दुर्घटना भएको भन्नेमा अनुसन्धान भइरहेको र चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
यसैगरी पछिल्लो समय विद्यार्थी बोक्ने स्कुल बस दुर्घटना बढ्दै गएको छ। साउन १४ गतेयता अर्थात् १२ दिनको अवधिमै ३ वटा स्कुल बस दुर्घटना भए। हिजो बाँकेमा स्कुल बसले ठक्कर दिएर बाख्रा गोठाला गरिरहेका वलीको मृत्यु भयो।
गत बुधबार वीरेन्द्रनगरको इत्राम खोलाले वीरेन्द्रनगरको देउती विद्यासदन (डिभी निकेतन)को स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइतेमध्ये पाँच बालिका र ६ बालक थिए। खोलाले बस बगाएर पल्टिएको थियो। धन्न सकुशल विद्यार्थीहरू निस्किन सफल भए।
साउन १४ गते पोखराको राम्दीबाट विद्यार्थी लिएर पोखरा–१७ बिरौटामा रहेको एलपी देवकोटा मेमोरियल इङलिस स्कुल जाँदै गर्दा ग १ क ६२१९ नम्बरको स्कुल बस पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा दुर्घटना भयो। दुर्घटनामा सोही विद्यालयकी कर्मचारी ३३ वर्षीया आरति विक र उनकै छोरा अन्दाजी पाँच वर्षीय प्रिन्स विकको मृत्यु भयो।
पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीका अनुसार बस सडकबाट झन्डै ६० मिटर तल खसेको थियो। बसमा चालक, सहचालक र २१ विद्यार्थीसहित २३ जना सवार थिए।
निर्देशिका छ, कार्यान्वयन हुँदैन
पोखरामा भएको उक्त दुर्घटनामा ‘ओभरस्पिड’का कारण दुर्घटना भएको बसमा सवार विद्यार्थीले जानकारी दिएका छन्। तर नियम अनुसार स्कुल बस प्रतिघण्टा अधिकतम ४० किलोमिटरभन्दा बढी गतिमा चलाउन पाइँदैन। विद्यार्थीको आवतजावत सुरक्षित, आरामदायी र भरपर्दो बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा ‘स्कुल बस निर्देशिका २०७४’ जारी गरिएको छ।
उक्त निर्देशिकाको बुँदा ७ मा भनिएको छ, ‘स्कुल बस कुनै पनि किसिमले अधिकतम ४० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा चलाउन पाइने छैन।’ तर स्कुल बस तीव्र गतिमा हुइँकिने गरेका छन्। विद्यार्थी बोकेर त्यसरी तीव्र गतिमा कुदाउने गाडीलाई सम्बन्धित निकायबाट कारबाही भने हुँदैन।
यसैगरी निर्देशिकामा स्कुल बस चलेको अवस्थामा सबै आपत्कालीन ढोका बन्द गरी विद्यार्थीको यात्रा सुरक्षित बनाउनुपर्ने व्यवस्था छ। स्कुल बसको झ्यालमा ३ वटा ’होरिजेन्टल राउण्ड मेटल राउण्ड आल्मुनियम ट्युब’को ग्रील दुवै साइडमा लगाउनुपर्ने र सहचालकको व्यवस्था हुनुपर्ने पनि निर्देशिकामा उल्लेख छ। उक्त निर्देशिकामा तोकिएको मापदण्ड निजी विद्यालयहरूले कार्यान्वयन गर्दैनन्। जसकारण यसअघि कैयौँ दुर्घटनासमेत भइसकेका छन्।
२०७९ कात्तिकमा लाजिम्पाटस्थित ’बेष्ट एलिमेन्ट्री मन्टेसरी स्कुल’मा अध्ययनरत सामाखुसीका १३ वर्षीय आयुष्मान दाहाल आफू चढेको बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटनजिकको रूखमा ठोकिन पुगेका थिए। उपचारका क्रममा उनको निधन भयो। प्रहरीवृत्त दरबारमार्गले अनुसन्धानबाट चालक र सहचालकले झ्यालको सिसा नलगाउनु ठूलो गल्ती देखिएको निष्कर्ष निकालेको थियो।
अभिभावक चिन्तित
पछिल्लो समय यसरी स्कुल बस दुर्घटना हुन थालेपछि अभिभावकहरू चिन्तित छन्। अभिभावकहरूले तीव्रगतिमा स्कुल बस हुइँक्याएकै कारण दुर्घटना हुने गरेको भन्दै संवेदनशील भएर चलाउन माग पनि गरेका छन्।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी व्यवस्थित ढंगले स्कुल बस चलाउन निर्देशिका, ऐन बने पनि त्यसलाई लत्याएर बस चलाउँदा यसैगरी बालबालिकाको ज्यान जोखिममा परेको बताए।
उनका अनुसार निर्देशिका लत्याएर सवारीसाधन चलाउँदा पनि ट्राफिक प्रहरी या अन्य सम्बन्धित निकायले कारबाही गर्नुको सट्टा नदेखेझैँ गर्छन्। ‘बिहान हेर्याैँ भने मन्टेसरीका गाडीमा उल्टो सिट बनाएर विद्यार्थी राखेर चलाउँछन्’, उनले भने, ‘नियमानुसार यसो गर्न पाइँदैन, विद्यार्थीहरूलाई बसमा कोचेर लगेको छ तर कसैलाई मतलब छैन।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।