एक महिनामा

|

सोलुखुम्बु : ​सोलुखुम्बु सोताङका ५३ वर्षीय एक पुरुष ५ दिनसम्म कडा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, शरीर दुख्नेलगायत समस्या देखिएपछि प्राथमिक अस्पताल सोताङ पुगे। नमुना जाँच गर्दा उनलाई डेंगु पुष्टि भएपछि चिकित्सकको सल्लाहमा घरमै बसेर औषधि सेवन गरिरहेका छन् उनी।

सोलुखुम्बुमा डेंगु फैलँदै गएको छ। पछिल्लो एक महिनामा जिल्लामा ३० जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालयका महामारी फोकल पर्सन अशोक शिवाकोटीका अनुसार हालसम्म जिल्लाभरि २० जना पुरुष र १० जना महिलामा डेंगु पुष्टि भएको छ।

उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ। जिल्लाको सोताङ गाउँपालिकामा मात्रै २७ जनामा डेंगु पुष्टि भएको छ। 

१५० जनाको नमुना किट परीक्षण गर्दा २७ जनाको रिपोर्ट सकरात्मक आएको महामारी फोकल पर्सन शिवकोटीले बताए। यसमा पुरुष १९ र महिला ८ जना छन्।

उनले भने, “सोताङमा विरामी भएका सबैजसोको ‘ट्राभल हिष्ट्रि’ देखिएन, उनीहरु गाउँमै बस्दै आएका थिए तर ती व्यक्तिहरुलाई समेत डेंगु पुष्टि भएपछि सोलुमा पनि डेंगु फैलिएको पुष्टि भयो।” 

सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा अहिलेसम्म लामखुट्टेबाट सर्ने रोगको जोखिममा परेका थिएनन्। उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्छ भन्ने जानकारी पनि थिएन तर पछिल्लो २ वर्षदेखि सल्लेरीमै लामखुट्टेबाट सर्ने रोगको जोखिम बढ्न थालेपछि उनी चिन्तित छन्। 

उनले भने, “म  गाउँ छोडेर अन्यत्र गएको छैन। पछिल्ला वर्ष सोलुमा लामखुट्टे देखिन थालेको छ।” 

विशेषगरी गर्मीमा भित्रि मधेश, पहाडी क्षेत्रमा देखिने लामखुट्टे अहिले उच्च हिमाली भेगमा पनि विस्तारै फैलिँदै गएको छ। सल्लेरीसहितका क्षेत्रमा अहिले लामखुट्टेको संख्या बढ्दै गएको स्थानीय बताउँछन्।

शुरु शुरुमा यातायातका साधनबाट भित्रिएका लामखुट्टे यहीँको वातावरणसँग घुलमिल हुँदा र हिमाली क्षेत्रमा तापक्रम निरन्तर उकालो लागेसँगै गर्मी ठाउँमामात्र बाँच्न सक्ने लामखुट्टे हिमाली भेगमा देखिन थालेको सल्लेरीका केबी घिमिरेले बताए। 

उनले भने, “यहाँको तापक्रम बढ्दै गएको छ, सल्लेरीमै पनि घाम लागेको वेला निकै गर्मी महसुस हुन्छ, हिउँदमा हिउँ पर्न नै छोडिसक्यो, अनि लामखुट्टे त फैलिहाल्छ नि!” 

सल्लेरीमा अहिले तापक्रम २५ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने गरेको हावापानी मापन केन्द्र सल्लेरीका मापनकेन्द्र सहयोगी नवराज पराजुलीले बताए। उनका अनुसार सल्लेरीको तापक्रम विहान र वेलुका नै २२-२३ डिग्रीसम्म पुग्ने गर्छ। 

वर्षेनि यहाँको अधिकतम तापक्रम निरन्तर बढ्दै गइरहेको उनको भनाइ छ। यसकारण लामखुट्टेको संख्यासमेत बढेको बताइएको छ। 

लामखुट्टेको संख्या बढेसँगै सल्लेरीसहित, सोताङ, नेचासल्यान, माप्यदुधकोशीलगायत क्षेत्रमा झुल तथा यसविरुद्ध धूपको प्रयोग शुरु भएको छ। लुक्लाभन्दा केही तलको गाउँ खरिखोलासम्म लामखुट्टे फैलिएको स्थानीयवासी रामबहादुर मगरले बताए। 

स्थानीयवासी पासाङ शेर्पा झुल तथा लामखुट्टे नष्ट गर्ने धूप प्रयोग गर्न बाध्य बनेको बताउँछन्। तापमान बढेर हिमाली क्षेत्रको जनजीवन र बालीनालीमा असर पारिरहेको जलवायुका जानकार राजन थापाले बताए। 

तापक्रम वृद्धिले हिमाललाई असर पारिरहेको छ। यसबाट डेंगुको जोखिम बढेको जनाइएको छ। पहाडी भेगमा ०.०६ प्रतिशत र हिमाली भेगमा ०.०४ प्रतिशतका दरले तापक्रममा वृद्धि भइरहेको छ। 

प्राकृतिक एवं मानवीय कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञहरु बताउँछन्।

विशेषगरी डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ। लामखुट्टे धेरै भएका ठाउँमा यसबाट बच्न पानी जम्ने भाँडाकुँडा तथा खाल्डाखुल्डी भएका ठाउँमा यसको लार्भा हुने भएकाले त्यस्ता ठाउँहरुलाई पूर्ण रुपमा विस्थापित गर्न सके केही कम हुने फोकल पर्सन शिवाकोटीले बताए। 

उक्त अभियानअन्तर्गत स्वास्थ्य कार्यालयले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरेको थियो। 

‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिहरुमा समेत डेंगु पुष्टि हुने क्रम बढेपछि कार्यालयले घर वरिपरिका खाल्डाखुल्डीमा जमेको पानी हटाउने र लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरेको हो। 

यसले सर्वसाधरणलाई जनचेतना फैलिन सघाउने भएकाले कार्यालयले शुरुआतमा अभियान चलाएको फोकल पर्सन शिवाकोटीले बताए।

डेंगुको फैलिएको धेरै लामो समय नभएकाले लामखुट्टेको टोकाइबाट बच्नेबारे जनचेतना फैलाउन र बुझाउनसमेत केही समस्या भएको स्वास्थ्यकर्मीहरु बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.