पहिलो चरणको चेस प्रशिक्षण पुस १६ सम्म
पहिलो चरणको चेस प्रशिक्षण पुस १६ सम्म
ललितपुर : नेपाल बुद्धिचाल महासंघ र कजाकस्तान चेस संघबीच प्रशिक्षण सम्झौता भएको छ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले कजाकस्तान चेस संघका कार्यकारी निर्देशक दौलेटोभा जिबिसँग दुईपक्षीय हस्ताक्षर गरि नेपाली खेलाडीहरुलाई उच्चस्तरीय प्रशिक्षण दिने सम्झौता गरेका छन्।
विश्व बुद्धिचाल महासंघ र एशियन चेस फेडेरेशनको तत्वावधानमा हुने उच्चस्तरीय चेस प्रशिक्षण कार्यक्रमले चेसको प्रचारप्रसार, चेसको विकास र आपसी सहयोग स्थापना हुने मूल उद्देश्य लिएको छ।
नेपाल बुद्धिचाल महासंघले चेसको उन्नति र प्रगतिका लागि दुईपक्षीय सम्झौता गरेअनुसार साउन १७ गते शुरु भएको पहिलो चरणको चेस प्रशिक्षण आउने पुस १६ गतेसम्म सञ्चालन हुने भएको छ।
आज भएको दुई पक्षीय सम्झौतामा कजाकस्तान चेस संघले अन्तरराष्ट्रिय ग्राण्डमास्टरलाई प्रशिक्षकको रुपका पठाउने, ब्राण्डेड टी–शर्ट प्रदान गर्ने, चेस इन स्कुल कार्यक्रममा सहयोग गर्ने, खेल सामग्री प्रदान गर्ने, साइमलटानियस खेल प्रदर्शन गर्ने, वेबसाइटमार्फत समाचार संप्रेषण गर्ने र भौतिक रुपमा उपस्थित भएर गर्न सक्ने सहयोग प्रदान गर्ने उल्लेख गरिएको छ।
यस्तै नेपाल बुद्धिचाल महासंघले प्रशिक्षण दिन राम्रो स्थानको व्यवस्था गर्ने, नेपाली शीर्ष खेलाडीहरुलाई प्रशिक्षणमा सहभागी गराउने, विदेशी प्रशिक्षकको लागि बस्ने र खाने व्यवस्था गर्ने, राष्ट्रिय दैनिक समाचार पत्रिकामा प्रचारप्रसार गर्ने र नेपालस्थित अभिभावकीय खेलकुद निकायसँग समन्वयात्मक भूमिका खेल्ने कुरा उल्लेख गरिएको छ।
नेपाल बुद्धिचाल महासंघले सेप्टेम्बर १० देखि हंगेरीमा हुने ४५औँ चेस ओलम्पियाडलाई लक्षित गरेर पहिलो पटक अन्तरराष्ट्रिय ग्राण्डमास्टरद्वारा उच्चस्तरीय चेस प्रशिक्षण शुरु गरेको हो।
बुडापेष्टमा हुने खेल प्रतिस्पर्धा दौरान कजाकस्तानी ग्राण्डमास्टर जिएम मुर्तजा टोलीसँगै रहने भएका छन्। नेपालले सहभागिता जनाउने पुरुष र महिला दुवै विधामा महासंघले पदक प्राप्त गर्ने गरि तयारी शुरु गरेको छ।
नेपाल बुद्धिचाल महासंघले चेस ओलम्पियाड तयारी सम्बन्धमा नेपाल च्याम्पियन राजन सुवेदीले सन्तुष्टि व्यक्त गरेका छन्।
‘महासंघले बाहिर जिल्लाका खेलाडीलाई होटलमा राखेर सुपर ग्राण्डमास्टरले प्रशिक्षण प्रदान गर्नु हाम्रो लागि गौरवको विषय हो। हामी खेलाडीलाई यसले ठूलो उत्प्रेरणा मिलेको छ। हामी पदकको लागि खेल्नेछौँ‚’ उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।