बहुआयामिक प्रतिभा सम्पन्न, सत्यतथ्यको खोज तथा प्रकाशनमा अनवरत अन्वेषण गर्ने, गणितज्ञ, ज्योतिर्विद्, बहुभाषाविद्, शैक्षिक पुनर्जागरणका अग्रणी, साहित्यकार हुनुहुन्छ, नयराज पन्त।
युगपुरुष नयराज गुरुको ११२ औँ जन्मजयन्तीका अवसरमा केही चर्चा गर्न खोजिएको छ। उहाँको जन्म १९७० साउन २६ गते काठमाडौँमा भएको थियो। करिब डेढ वर्षमै पिताजी गुमाएका पन्तको शिक्षादीक्षा पालनपोषण मावली बाजे पण्डित भुवननाथ पाँडेबाट भएको हो। बाजेकै प्रेरणा र आशीर्वादबाट उहाँ इतिहासको अध्ययन तथा अनुसन्धानतर्फ केन्द्रित हुनुभएको थियो।
उहाँले १९ वर्षमा १९८९ सालमा भारतको बनारसमा ज्यौतिष विषयमा अध्ययन शुरु गरी ज्योतिष विषयमा आचार्य तह अब्बल श्रेणीमा उत्तीर्ण गरेपछि १९९५ सालमा काठमाडौँ फर्कनुभयो। प्रारम्भमा रुद्रराज पाण्डेको सदासयबाट गुठी अड्डाका पुराना कागज अध्ययन, टिपोट र संरक्षण गर्ने काम पाउनुभयो। विसं १९९७ सालदेखि भाषानुवाद परिषद्मा काम थाली सोही सालदेखि रानीपोखरी संस्कृत पाठशालामा पढाउन थाल्नुभयो।
करिब ६ दशकसम्म निरन्तर राष्ट्रसेवामा समर्पित पन्तले २००८ सालसम्म रानीपोखरी संस्कृत पाठशालामा पढाउनुभयो। विसं २०१० सम्म नेपाली भाषा प्रकाशिनी समितिमा र विसं २००८ देखि २०२२ सम्म नेपाल राजकीय संस्कृत विद्यालयमा सेवा गर्नुभयो। विसं २०३३ देखि २०३५ सम्म त्रिभुवन विश्वविद्यालयमा सेवारत पन्तले २०३६ सालदेखि चारपटकसम्म नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ भई सेवा गर्नुभयो। पन्तले २००९ सालमा संशोधन मण्डल र गुरुकुलको परम्परानुसार पठनपाठन गर्ने पाठशाला पनि स्थापना गर्नुभयो।
संस्कृत, हिन्दी र नेपाली भाषामा विशेष दक्खल राख्नुभएका पन्त गुरु अंग्रेजी पढ्ने र बुझ्ने समेत सामर्थ्य राख्नुहुन्थ्यो। नेपाली भाषामा नेपालको प्रामाणिक इतिहासको पुस्तक सर्वथा अभाव भएको अवस्थामा २००४ सालमा नयराज पन्तले तोत्रराज पाँडेसँग मिलेर नेपालको संक्षिप्त इतिहास प्रकाशन गर्नुभयो।
पन्त गुरुकै शिष्यहरूले तयार पारेको ऐतिहासिक पत्रसङ्ग्रह (भाग १ र २), जयरत्नाकर नाटक, इतिहास संशोधनको प्रमाण–प्रमेय, अभिलेखसङ्ग्रह जस्ता ग्रन्थमा उल्लेख भएका उपोद्घातबाट उहाँको विलक्षण क्षमता बुझ्न सकिन्छ। विसं २०२५ मा उहाँकै निर्देशनमा देवीप्रसाद भण्डारी, धनवज्र बज्राचार्य, गौतमबज्र बज्राचार्य र दिनेशराज पन्तद्वारा तयार पारिएको दिव्योपदेश प्रकाशित भयो। विसं २०२९ मा उहाँका प्राचीन र नवीन गणितको तुलना र २०४३ सालमा लिच्छवि संवत्को निर्णय प्रकाशित भए।
संशोधन मण्डलबाट तयार पारिएका सावधानपत्र र मुखपत्र पूर्णिमा पन्त गुरुको अनुसन्धानकै उपज हुन्। पूर्णिमामा प्रकाशित अनुसन्धानात्मक लेखहरूबाट नेपालको इतिहासको क्षितिज नै फराकिलो हुन पुगेको छ। पन्त गुरुका पद्य साहित्यका कुरा, पण्डित गोपाल पाँडे र उनको घनमूल ल्याउने नीति, हिन्दु सिद्धान्त ज्यौतिष र ग्रीक ज्यौतिषको तुलना, रत्नदीप, विश्रान्ति, सुमतितन्त्रलगायत करिब ३० वटा ग्रन्थ प्रकाशित छन्।
उहाँ नेपालको इतिहासलेखन विधाका भीष्मपितामह हुनुहुन्छ। इतिहास तथ्य र प्रमाणको आधारमा लेखिनुपर्छ भन्ने उहाँको मान्यता थियो। लिच्छवीकालदेखिका अभिलेख शिलालेखको खोजी तथा सङ्कलन र व्याख्या तथा विश्लेषण गर्ने कार्यमा उहाँ अग्रणी हुनुहुन्थ्यो। उहाँकै निर्देशनमा धनबज्र वज्राचार्य, गौतमबज्र बज्राचार्य, शंकरमान राजवंशी, देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल, ज्ञानमणि नेपाल तथा महेशराज पन्तले अभिलेखको खोजी गरी प्रकाशन गरेका थिए।
उहाँबाटै दीक्षित धनबज्र बज्राचार्यले लिच्छवीकाल, मध्यकाल र शाहकालका अभिलेखहरू सङ्कलन गरी प्रकाशनमा ल्याएका छन्। भगवान्लाल इन्द्रजी तथा नोलीहरूले अभिलेखहरूको पठन र व्याख्यामा गरेका कमजोरी पनि उहाँले औल्याउनुभएको छ। नेपाली विद्वान्हरूले विदेशीहरूले लेखेका कृतिलाई परीक्षण नगरी लेख्ने गरेकामा कटु आलोचकका रूपमा उहाँ प्रस्तुत हुनुभयो। सूर्यविक्रम ज्ञवाली, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा, ढुण्डीराज शर्मा आदिले लेखेका किताबमा भएका त्रुटि तथा कमजोरी र इतिहास दर्शनको विपरीत भएका विवरणको सप्रमाण खण्डन संशोधन मण्डलबाट भयो।
यसबाट आफूलाई स्थापित इतिहासकार भन्न रुचाउने कतिपय व्यक्ति रिसाए। उहाँले विश्वविद्यालयमा इतिहास पढाउने शिक्षकहरूको क्षमता र योग्यता तथा उनीहरूका प्रकाशनमाथि पनि प्रश्न उठाउनुभयो। राणाकालको स्तुतिगान गर्ने लेखकहरूले नै २००७ सालपछि राणाहरूलाई गाली गर्न थालेको उहाँले उजागर गरिदिनुभयो। पूर्णिमामा प्रकाशित अनुसन्धानात्मक लेखहरू त इतिहासलेखन र शोध कार्य गर्नेका लागि असल खुराक बन्न पुगे।
आज पनि नेपालका लिपि विशेषज्ञहरू सबै पन्त गुरुका शिष्य छन्। उहाँले स्थापना गरेको गुरुकुलबाट दीक्षित चेलाहरूले स्वदेश र विदेशमा पनि प्रसिद्धि कमाएका छन्। धनबज्र बज्राचार्य, गौतमबज्र बज्राचार्य, ज्ञानमणि नेपाल, महेशराज पन्त, दिनेशराज पन्त जस्ता गुरुका शिष्यहरू स्थापित इतिहासकार बन्न पुगेका छन्। त्यसैगरी देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल आदिले पनि आ-आफ्ना क्षेत्रमा ख्याति आर्जन गर्न सफल भएका छन्। उहाँले आफूले पाएको सुप्रबल गोर्खा दक्षिणबाहु पदक योग्य शिष्यको कारणले पाएको उल्लेख गर्नुभएको छ।
उहाँले आफ्ना चेलालाई सम्बन्धित क्षेत्रमा विज्ञ र दक्ष बनाउनुभयो। संसारमा एउटै गुरुबाट यति सङ्ख्यामा विशेषज्ञ जनशक्ति उत्पादन गरेको घटना बिरलै पाइन्छ होला। उहाँले आफ्नो सिद्धान्त, आदर्श, मान्यता र कार्यलाई स्वीकार्य बनाउन ठूलो तपस्या गर्नुभएको थियो। नयराज गुरुले २०४२ सालमा लिच्छवि संवत्को निर्णय ग्रन्थमा मदन पुरस्कार पाउनुभएको थियो भने २०४५ सालमा त्रिभुवन प्रज्ञा पुरस्कार पाउनुभएको थियो। उहाँले २०५३ मा आदिकवि भानुभक्त पुरस्कार र २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्मानार्थ महाविद्यावारिधिको उपाधि प्राप्त गर्नुभएको थियो। मदन पुरस्कारका लागि स्वयंले निवेदनसमेत नदिएर प्रकाशकले दिएको प्रसङ्गको चर्चा कमलमणि दीक्षितले गर्नुभएको छ।
प्रज्ञा प्रतिष्ठानले गुरुबाट अपेक्षा गरेभन्दा बढी उपलब्धि हासिल गरेको कुरा त्यसबेला उहाँबाट प्रकाशित भएका ग्रन्थ लेखरचनाबाट स्पष्ट हुन्छ। दण्डवते नीतिबाट सदैव पृथक् रहने तथा राजनीतिमा नलाग्ने तर सरोकार राख्ने उहाँको विशेषता थियो। राणा, राजा र कांग्रेस नामक कृतिमा उहाँको दैनिकीमा उल्लेख भएको बुँदाबाट यो कुरा स्पष्ट हुन्छ।
उहाँले विसं २००७ कात्तिकदेखि २००८ सालसम्मका महत्त्वपूर्ण घटना टिपिएको डायरी २०८० सालमा उहाँका पुत्र डा. महेशराज पन्तले सम्पादन र अनुवाद गरी प्रकाशन गरेका छन्। यसैगरी २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् प्रज्ञा प्रतिष्ठानका उपकुलपतिलगायत सबैले राजीनामा दिँदा पनि उहाँले दिनुभएन, आफ्नै आदर्श मान्यतामा अडिग रहनुभयो। विसं २०४६ पछि गठित प्राज्ञमा उहाँलाई समावेश गरी प्रज्ञा प्रतिष्ठानको गरिमा बढाएको प्रसङ्ग स्मरणीय छ।
ज्योतिषका प्रकाण्ड विद्वान् हुनाले ऐतिहासिक काल गणनाको निम्ति उहाँले पहिल्याउनुभएको परम्परागत कालगणना वैज्ञानिक र विश्वसनीय हुन पुगेको छ। संस्कृत वाङ्मयमा पारङ्गत गुरु नयराज नेपालको ऐतिहासिक तथ्योत्खननमा प्रथम आचार्य र एक सिङ्गो संस्था हुनुहुन्थ्यो भने उहाँ स्वयं एक इतिहास हुन पुग्नुभएको छ। साधारण पहिरन रहनसहन खानपिनमा रमाउने विद्याव्यसनी हुनुहुन्थ्यो। आफ्नो कमाइ सबै संशोधन मण्डलको लालनपालनमा खर्च गर्नुभयो। कसैबाट कुनै अपेक्षा गर्नुभएन, कसैसँग हात पसार्नुभएन।
प्राच्य विद्यालाई महत्त्व दिने पन्त गुरु शैक्षिक संस्थाबाट प्राप्त हुने त्रिखण्डी शिक्षाबाट दक्ष जनशक्ति उत्पादन हुन नसक्ने अडानमा दृढ रहनुभयो। ज्योतिषशास्त्रमा उहाँले प्रतिपादन गर्नुभएका सिद्धान्त र विश्लेषणबाट विश्वमा उहाँ जस्ता व्यक्तित्व नभएको टिप्पणी पनि गर्ने गरिएको छ। कथ्य, मिथ्य र तथ्यको मिश्रण गरी इतिहास लेख्ने र वंशावलीलाई नै इतिहास हो भन्ने मानसिकता बोकेको जमानामा उहाँ इतिहास सत्य र तथ्यमा आधारित हुनुपर्छ, इतिहास विज्ञान र कला दुवै हो भन्ने सिद्धान्तका प्रणेता हुनुहुन्थ्यो। नेपालको इतिहासलेखन विधाका महारथी नै नयराज गुरु हुनुहुन्थ्यो।
यस्ता व्यक्तिका विषयमा सरकारबाटै अध्ययन अनुसन्धान गर्ने तथा नाममा प्रतिष्ठान स्थापना हुन सकेको छैन। उहाँले देखाउनुभएको मार्गको अनुसरण गरेमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ।
- प्रा.डा. तीर्थप्रसाद मिश्र (रासस)
तपाईंको ईमेल गोप्य राखिनेछ ।