काठमाडौँ : भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गरेका छन्।
दुईदिने नेपाल भ्रमणको क्रममा आइतवार बिहान काठमाडौं आइपुगेका उनले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन एवं अवलोकन गरे। उक्त भवन भारत सरकारको सहयोगमा निर्माण गरिएको हो।
परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणमा काठमाडौं आएका मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका छ। त्यसैगरी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकसँग भेट गर्ने कार्यक्रम छ।
विदेशसचिव भएपछि मिश्रीको यो पहिलो नेपाल भ्रमण हो। आज साँझ परराष्ट्रसचिव लम्सालले समकक्षी मिश्रीलाई रात्रिभोज दिनेछिन्। सोमवार बिहान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरी सोमवार साँझ स्वदेश फर्किने कार्यक्रम छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।