काठमाडौँ : लिमीका बासिन्दाले सिमकोट-लिमी-लाप्चा सडक सधैँ चल्नसक्ने बनाइदिन सरकारसँग माग गरेका छन्।
सडक ६ महिना चल्ने र हिउँ पर्न थालेपछि बन्द हुने भएकाले लिमीवासीले यस्तो माग गरेका हुन्। झन्डै ६ महिना यातायात सेवाबाट वञ्चित हुँदै आएका लिमी उपत्यकावासी उक्त समयमा राज्यको पहुँच बाहिर हुन्छन्। लिमी-लाप्चा र सिमकोट–हिल्साको दुवै सडकखण्डका नारापास र न्यालुपास ५ हजार मिटर अग्लो उचाइमा रहेका कारण हिउँदको समयमा ६ महिना हिउँले ढाकिएर अवरुद्ध हुने गरेको छ।
त्यसको विकल्पमा नाम्खा गाउँपालिकाको तुम्कोट खोलादेखि ककुवा हुँदै हिल्सासम्म करिब २९ किलोमिटर दूरीको कर्णाली नदीको तिरैतिर तुम्कोट लिमी हिल्सा खण्डको बाटो विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गर्न माग गरेका छन्। भेटका क्रममा सिंहदरबारमा अर्थमन्त्री पौडेलले सुरक्षा संवेदनशील र पर्यटकीय महत्त्व बोकेको लिमी उपत्यका र त्यहाँका बासिन्दालाई निरास नबनाई काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
लिमी उपत्यकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सरकारले प्राथमिकताका साथ काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे। उनले हिल्सा नाकालाई सहज ढंगले आवतजावत गर्नसक्ने बनाउनुपर्ने बताए।
अर्थमन्त्रीलाई लिमी उपत्यकावासीले किसानलाई जीविकोपार्जनका लागि विशेष अनुदानको व्यवस्था गर्न ध्यानाकर्षण गराएका छन्। पर्यटकीय उपत्यका भएकाले कैलास मानसरोवर दर्शन गर्ने स्थानको लाप्चामा हाइलाइन पार्क (मन्दिर, गुम्बासहित दर्शन गर्न मिल्ने संरचना) बनाउन आवश्यक अध्ययन अनुसन्धानसहित बजेट व्यवस्थापन गर्न उनीहरूले अनुरोध गरे।
यसले पर्यटक प्रवर्धनमा मद्दत पुग्नुका साथै स्थानीयवासीको आय आर्जनमा वृद्धि हुने भएकाले जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा लिएको स्थानीयको भनाइ छ। स्थानीयवासीले जलवायु परिवर्तनका कारण आफूहरूको जीवन पद्धतिमा आएको परिवर्तनका कारण स्थानीयवासी तथा जैविक सम्पदा प्रभावित भएकाले ‘जलवायु न्याय विशेष कार्यक्रम’ सञ्चालन गर्न आग्रह गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।