|

काठमाडौँ : जनता समाजवादी पार्टीका सांसद एवं पूर्वमन्त्री वीरेन्द्रप्रसाद महतोले आफ्नो छोराको समकक्षताको प्रमाणपत्र लिँदा घुस दिनुपरेको विषयमा छानबिन गर्न बनेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।

छानबिन समितिका संयोजक वसन्तप्रसाद कोइरालाले सबै छानबिन समितिको काम सकेर शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाइसकेको जानकारी दिए।

उनले भने, ‘हामीले समयमै सबै छानबिनको काम सकेर दुई हप्ताअगाडि नै शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाएका छौँ। हाम्रो काम सकियो, अब प्रतिवेदन चाहिँ कहिले मन्त्रालयले सार्वजनिक गर्छ, थाहा छैन।’

साउन ६ गते प्रतिनिधिसभा बैठकमा सांसद महतोले आफ्नो छोराको समकक्षताको प्रमाणपत्र लिँदा घुस दिनुपरेको सुनाएका थिए।

उनले भनेका थिए, ‘सानोठिमीमा पाँच हजार घुस दिएर आएको छु, कसले पत्याउँछ, पत्याउनुहुन्छ? मेरो छोराको सर्टिफिकेटको इक्विभेलेन्ट गर्नुपर्ने थियो, मैले ११ बजे पठाएको ३ बजेसम्म गरिदिएन। यो मिलेन, त्यो मिलेन भन्यो। म आफैँ गएँ, मैले सबै मिलेको छ तर किन मिलेन भन्नुहुन्छ भनेँ तर अधिकृतले मिलेको छैन भन्छ, त्यहाँ रहेको बिचौलियालाई मैले पाँच हजार दिएँ, म बसिरहेँ‚ पाँच मिनेटमा काम गराइदिए अनि हामी सुशासनको कुरा गर्छौँ।’

खुल्लमखुला घुस दिएको उक्त कुराले सामाजिक सञ्जालदेखि संसद् भवनसम्मै हलचल मच्चिएको थियो। त्यसपछि शिक्षा मन्त्रालयले यो विषयमा छानबिन समिति गठन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्‍यो। उक्त समितिलाई छानबिन गरी ७ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको थियो।

यो घुस दिएको कुराको चौतर्फी आलोचना भएपछि शिक्षा मन्त्रालयले साउन ८ गते विज्ञप्ति जारी गरेर भनेको थियो, ‘प्रतिनिधिसभाको मिति २०८१।०४।०६ गतेको बैठकमा प्रतिनिधिसभाका माननीय सदस्यज्यूहरूबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएको काम कारबाहीका सम्बन्धमा उठाइएको विषयमा समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुरलगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानबिन गरी ७ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीनसदस्यीय छानबिन समिति गठन गरिएको ब्यहोरा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्रिस्तरको मिति २०८१।०४।०७ को निर्णयानुसार सम्बन्धित सबैमा सूचित गरिन्छ।’

यस्तो छ प्रतिवेदनमा

घुस दिएको भन्दै पूर्वमन्त्री समेत रहेका महतोले खुल्लमखुल्ला सुनाएका छन् तर कानुनमा घुस लिने र दिनेलाई कारबाही हुने व्यवस्था छ। घुस दिएको बताएपछि महतोविरुद्ध कारबाहीका लागि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।

नेकपा (माओवादी केन्द्र) का मधेश प्रदेश सांसद रहवर अन्सारीले भ्रष्टाचार निवारण ऐन २०७९ मा रिसवत लिने/दिनेलाई सजायको व्यवस्था रहेको तर रिसवत दिने कामलाई रोक्नुको सट्टा त्यसलाई प्रोत्साहन गरेको भन्दै कारबाही गर्न उजुरी दिएका हुन्। भ्रष्टाचार निवारण ऐन २०७९ को दफा (३) को उपदफा (३) मा रिसवत लिने र दिनेलाई सजायको व्यवस्था छ।

ऐनको दफा (३) मा रिसवत लिने दिनेलाई सजाय तोकिएको छ। ऐनको उपदफा (१) मा भनिएको छ, ‘राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा गरिदिएबापत वा नगर्न वा नगरिदिए बापत वा आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्दा कुनै व्यक्तिलाई मोलाहिजा वा अनिष्ट गर्न वा गराइदिए बापत वा नगर्न वा नगराइदिए बापत आफ्नो वा अरू कसैका निमित्त रिसवत लिएमा वा लिन मन्जुर गरेमा रिसवत लिनेलाई वा लिन मन्जुर गर्नेलाई कसूरको मात्रा अनुसार देहाय बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुनेछ, रिसवत लिइसकेको भए सो रिसवत समेत जफत हुनेछ।’

उक्त व्यवस्था अनुसार पच्चीस हजार रुपैयाँसम्मको तीन महिनासम्म कैद, पच्चीस हजार रुपैयाँभन्दा बढी पचास हजार रुपैयाँसम्म तीन महिनादेखि चार महिनासम्म कैद, पचास हजार रुपैयाँभन्दा चार महिनादेखि ६ महिनासम्म कैद हुने हुने व्यवस्था छ।

तर जसरी पूर्वमन्त्री महतोले छोराको लागि समकक्षता लिँदा घुस दिएको बताए त्यसमा सत्यता नदेखिएको प्रतिवेदनमा उल्लेख छ। छानबिन समितिमा संलग्न एक पदाधिकारीले भने, ‘जसरी उहाँले संसद्‌मा बोल्नुभयो, त्यो अनुसारको पाइएन, त्यहीअनुसार प्रतिवेदन बनेको छ, थप कुरापछि प्रतिवेदन सार्वजनिक भएपछि सबैलाई थाहा हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.