|

काठमाडौँ : नेपालकी म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ मा म्याराथनको रुट केही कठिन भएकाले सोचेअनुरुप प्रदर्शन गर्न कठिन बताएको बताएकी छन्।

पेरिस ओलम्पिकमा सहभागी ९२ जना धाविकामध्ये उनी प्रतिष्पर्धामा ७९औँ स्थानमा आइन्। सहभागीमध्ये ११ जना धाविकाले म्याराथन पूरा गर्न नै सकेनन्। 

म्याराथन पूरा गरेपछि पत्रकारसँगको कुराकानीमा सन्तोषीले नेपालबाट करियरकै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ आए पनि पेरिस पुगेपछि रुट कठिन भएको जानकारी पाएपछि पूरा गर्न नै चुनौती भएको बताइन्। 

उनले आफ्नो करियरकै चुनौतीपूर्ण कोर्सका रूपमा यो म्याराथनलाई लिएको उल्लेख गरिन्। सन्तोषीले आफू १५ किलोमिटरसम्म समय सुधार गर्नभन्दा पनि दूरी पार गर्न हिसाबले दौडिएको बताइन्।  

यो म्याराथनमा नेदरल्याण्डकी सिफान हसन २ घण्टा २२ मिनेट ५५ सेकेण्डका साथ स्वर्ण जित्न सफल भइन्। उनले ओलम्पिक कीर्तिमान बनाइन्। 

इथोपियाकी असिफाले रजत र केन्याकी हेलेन ओबिरीले कांस्य पदक जिते। असिफाले २ घण्टा २२ मिनेट ५८ सेकेण्ड समय लगाउँदा हेलेनले २ घण्टा २३ मिनेट १३ सेकेन्डमा दूरी पार गरिन्। 

सन्तोषीले भने २ घण्टा ५५ मिनेट ६ सेकेण्डमा दौड पूरा गरिन्। सन्तोषीको करियरको यो दोस्रो अन्तरराष्ट्रिय म्याराथन हो। 

बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२४ मा उनले स्वर्ण जितेकी थिइन्। निर्धारित दूरी २ घण्टा ४६ मिनेट २२ सेकेण्डमा पार गरेकी थिइन्। 

यो नै उनले दौडिएको पहिलो र एकमात्र म्याराथन हो। त्यो समय उनले पेरिसमा सुधार गर्न सकिनन्।

गत १९औँ एशियाली खेलकुदमा पनि उनले सहभागिता जनाएकी थिइन्। सन्तोषीको मुख्य प्रतिष्पर्धा १० हजार मिटर दौड हो। यसै विधामा उनले १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी छन्।

नेपाललाई एथलेटिक्सतर्फ सागमा स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन्। ३० वर्षीय सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत पेरिस ओलम्पिकको म्याराथनमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्। 

नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले सन्तोषीको सहभागिताका लागि नाम सिफारिश गरेको थियो।

पेरिस ओलम्पिकमा नेपालका ७ जना खेलाडीले प्रतिष्पर्धा गरे पनि अधिकांश खेलाडीको चुनौती प्रारम्भिक चरणमा नै सकिँदा प्रदर्शन खासै राम्रो बन्न सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.