|

पर्वत : जिल्लाको जलजला गाउँपालिका-७ धाइरिङको कृष्ण धर्म माध्यमिक विद्यालयका केही विद्यार्थी टनेलमा फलेको तरकारीको व्यवस्थापनमा व्यस्त छन्।

खाली भएको ‘पिरियड’ र बिहान बेलुकाको समयमा उनीहरू शिक्षकको साथमा टनेलमा जान्छन्। यतिवेला टनेलमा सिमी लटरम्म फलेकाले तिनलाई टिप्ने र बजार पठाउन तयारी गर्ने त्यहाँका विद्यार्थीको अध्ययन बाहेकको काम हो। 

विद्यालयका प्रधानाध्यापक बालकृष्ण ज्ञवालीका अनुसार विद्यार्थीलाई मोटोसँग जोड्नका लागि दुई वर्षदेखि विद्यार्थीहरू उत्पादनमा जोडिएका छन्। विद्यार्थीहरूलाई अध्ययनसँगै व्यावहारिक र सीपमूलक शिक्षामा जोड्नका लागि यो कार्यक्रम उपलब्धिमूलक बनेको छ। 

‘हाम्रा विद्यार्थीहरूले विद्यालयमा त तरकारी उत्पादन गर्छन् भने घरमा त झन् किन नगरुन्? हामीलाई चाहिएको यस्तै व्यवहारिक शिक्षा हो। पढ्दै गर्दा कमाउन सिकेका उनीहरू भविष्यमा बेरोजगार भएर बस्नुपर्ने छैन’, उनले भने, ‘यो कार्यक्रमका लागि विद्यार्थी समावेश भएको विद्यार्थी उद्यम क्लबको गठन गरिएको छ। यही क्लबले यसमा काम गरिरहेको छ। क्लब बाहिर रहेका विद्यार्थीले पनि सघाउने र सिक्ने गरेका छन्।’

यो क्लबले दुई वर्ष अगाडि २५ हजार रुपैयाँको लागतमा ‘प्लास्टिक टनेल’ भाडामा लिएर मौसम र बजारको आवश्यकता अनुसारको तरकारी उत्पादन गर्दै आइरहेको छ। यस अगाडि आलुको राम्रो उत्पादन भएकोमा यस पटक सिमी राम्रो फलेको छ। यसलाई बजार पठाउने तयारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक आचार्यले गरिरहेका छन्। विद्यार्थीको कृषि उपजलाई बजार व्यवस्थापनका लागि खट्दै आएका आचार्यले नै सिमीको बजारीकरणको तयारी गरिरहेका छन्।

विद्यालयमा केही पहिले ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत आएको पाँच लाख रुपैयाँ उद्यम कोषको नाममा ब‌ंकमा खाता खोलेर राखिएको छ। अहिले विद्यार्थीले उत्पादन गरेका तरकारी बिक्री गरेर आएको आम्दानी पनि यही खातामा जम्मा गर्ने गरिएको छ। दुई वर्षदेखि उत्पादनको काम भइरहेको र यो ठुलो आम्दानी गर्ने पूर्ण व्यावसायिक उत्पादन नभएकोले विद्यार्थीहरूलाई मुनाफा वितरण भने गरिएको छैन। 

तत्कालका लागि माटोमा खेल्ने बानी विकास गर्ने, उत्पादनमा ध्यान दिने बानी बसाल्ने,  माटोमा विश्वास गर्न सक्ने र बेरोजगारीको समस्या छ भन्ने मानसिकता हटाउने गरी सिकाइ भइरहेकाले पनि बिक्री गरेको नगद रकम विद्यार्थीलाई नबाँडिएको प्रधानाध्यापक ज्ञवाली बताउँछन्। 

टनेल भाडामा लिँदा गरिएको लगानी, टनेलमा आवश्यक पर्ने सबै प्रकारका सामग्री, बीउ, मल, लगायतमा भएको लगानी पनि तिर्ने काम पनि आम्दानीबाटै गरिने भएकाले अहिले कोषमा रकम जम्मा भइरहोस् भन्ने विद्यार्थी र व्यवस्थापकको धारणा छ। 

उद्यम क्लबमा कक्षा नौदेखि १२ सम्म अध्ययनरत विद्यार्थी गरेर ११ जना समावेश भएका र उनीहरूलाई आफ्ना सहपाठीलाई पनि उत्प्रेरित गर्ने गरेको कक्षा १२ की छात्रा आरती आचार्य बताउँछिन्। विद्यालयमा गएर काम गर्ने बानी बसेपछि घरमा काम गर्न झनै सजिलो भएको र आफूसहित आफ्ना साथीहरूमा आफ्नो ठाउँको माटोले भोको राख्दैन भन्ने मानसिकताको विकास भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.