|

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज जेलमा रहेका दुई सहकारी संचालकसँग बयान लिने भएको छ। 

विहान ११ बजेका लागि बोलाइएको बैठकमा पोखरा जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका संचालक भविश्वर अर्यालसँग बयान लिन लागिएको समिति सदस्य ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्। 

उनीहरुलाई जेलबाट ल्याएर समितिको बैठकमा उपस्थित गराइने छ। समितिले पछिल्लो समय सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको आरोपमा जेलमा रहेका संचालकहरुलाई झिकाएर छलफल गर्दै आएको छ। 

सूर्यदर्शन सहकारीको रकम हिनामिनामा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि मुछिएका छन्। तर, रवि लामिछानेलाई बोलाउने नबोलाउने बारेमा समितिले केही पनि बताएको छैन्। 

समितिका सभापति सूर्यबहादुर थापा क्षत्रीले बयान लिने काम जारी रहेकोले बोलाउने नबोलाउनेबारेमा केही पनि बताउन चाहेनन्। उनले भने, ‘रकम हिनामिनामा मुछिएका सञ्चालकसँग बयान लिने क्रम जारी छ। आवश्यकताका आधारमा बयानका लागि बोलाउँछौं।’ 

समितिले हिजो सुमेरु सहकारीका शेयर सदस्य राजबहादुर सिंह, कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल आइडल नमूना सहकारीका अध्यक्ष केबी उप्रेती र सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङसँग बयान लिएको थियो। 

समितिले जेलमा रहेका शिवशिखर बहुउद्देश्यीय संस्थाका पूर्वअध्यक्ष केदार शर्मा र उनकी श्रीमती गीता शर्मा, पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्वअध्यक्ष सीबी लामा र लालिगुराँस सहकारीका सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको बयान लिइसकेको छ। 

यस्तै, नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बाको पनि समितिले बयान लिइएको छ। समितिले छानबिन, अनुसन्धान र प्रतिवेदन लेखनको काम सँगसँगै गरिरहेको समिति सदस्य न्यौपानेले जानकारी दिए। उनका अनुसार भदौ २ गतेसम्म निरन्तर बयान लिने र छलफल गर्ने कार्यक्रम रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.